हुम्ला, साउन २९ । हुम्लाको हिल्सामा हेलिकप्टरको पछाडिको पंखाले काट्दा एक भारतीय नागरिकको मृत्यु भएको छ । कैलास मानसरोवर यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले काट्दा एक्प्लोर कैलास ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर गएका भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो । मेहता मुम्बइको एक्प्लोर कैलास ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर गएका हुन् ।
हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिने क्रममा मेहता अगाडि जानुपर्ने ठाउँमा पछाडितिर गएका थिए । गलत दिशातिर जाँदा हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको थियो ।
प्रहरीका अनुसार पंखाले लाग्दा उनको मृत्यु भएको हो । हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।