काठमाडौं । सरकारले सरकार सञ्चालनका आफ्ना पाँच महिनाहरुमा भएका उपलब्धिहरुमध्ये सुन तस्करीको जालो हटाउन सफल भएको भनेर यसलाई एउटा उपलब्धिको रुपमा सार्वजनिक गरेको छ । यस अतिरिक्त यातायातको सिण्डिकेट तोडेको र रेल ल्याउने कुरा गरेको लाई थप अरु दुई मुख्य उपलब्धिहरुका रुपमा औंल्याएको छ ।
यसै अवसरमा गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गर्न भ्याएका पनि छन् । सुन व्यापारका लागि मरिमेटेर लागि परेका लगानीकर्ताहरु पनि पत्ता लगिसकेका बताएका छन् पनि ।
उनले सञ्चार माध्यममा आए जसरी केही वर्षहरुमा नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर ३८ क्वीन्टल सुन तस्करी भएको पाइएको पनि बताएका छन् । यसका साथै उनका भनाइमा अब सुन तस्करीको सञ्जाल च्यातिइसकेको छ ।
तर केही विज्ञ र खोजीपत्रकारहरु सुन तस्करीको सेटिङ गृहप्रशासन र मूलतः प्रहरीभित्र नै रहेको ढुक्कताका साथ बताउने गरेका छन् । उनीहरुका अनुसार ठूला माछा तानिएका भनेर जनसाधरणको ध्यान अन्यत्रै मोडेर सुन तस्करीको संजाल र सेटिङ गृह मन्त्रालय अन्तरगत जस्ताको तस्तै रहिरहने हो भन्ने प्रश्न ज्युँदै रहेको छ ।
नेपाली उखान त्यसै बनेको होइन, भन्छन् – बत्तिमुनि अँध्यारो हुन्छ । यो अँध्यारोमा गृहमन्त्री र गृहमन्त्रालयको आँखा पुगेको छैन कि ? अँध्यारोमा रहेको त्यो सेटिङ उज्यालोमा नल्याईकन जनता विश्वस्त हुने र तपाईँका कुराहरु पत्याउने आधार खडा होला र ?