प्रदेश नं. २ मा २४ औं आदिवासी जनजाति दिवस मनाइयो

प्रकाशित मिति : २०७५ श्रावण २६

ढिलो गरी प्राप्त समाचारअनुसार अखिल नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं. २ को आयोजनामा ‘नेपालको संविधान र आदिवासी जनजातिको अधिकारको प्रश्न’ विषयक अन्तरक्रियात्मक कार्यक्रम २४ औं विश्व आदिवासी दिवसको सन्र्भमा यही श्रावण २४ गते कदमाहा चौक सप्तरीमा भव्य रुपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष कमल चौधरीले विश्वमै आदिवासी जनजातिहरु उत्पीडनमा रहेका भन्दै नेपालमा पनि आदिवासी जनजाति सोही अवस्थामा रहेको बताएका थिए । आदिवासी जनजातिको अधिकार हालको संविधानमा सुनिश्चित नगरिएको भन्दै चौधरीले यो संविधानको खारेजी र जनगणान्त्रिक संविधानको प्राप्तिका लागि सबै उत्पिडित वर्ग र समुदायहरु संघर्षमा उत्रनु पर्ने कुरामा जोड दिएका थिए ।
त्यसै गरी ने.क.पा. (क्रान्तिकारी माओवादी)का २ नं. प्रदेशका सेक्रेटरी क. रमेशले जातिय आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेमा मात्र सही क्रान्तिकारी दिशातर्फ बढ्न सकिने कुरामाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा क. हरिभक्त लामा, ट्रेड युनियनका क. नन्दु झा र तेजनारायण चौधरी, मानबहादुर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । अखिल नेपाल आदिवासी जनजाति महासंघका २ नं. प्रदेश संयोजक सूर्यनारायण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तुलबहादुर बलम्पाकीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य मोहनसिंह तामाङले गरेका थिए ।