मोदीको आलोचना गरेपछि टेलिभिजनबाट यसरी हटाइए पत्रकार बाजपेयी

मोदीको आलोचना गरेपछि टेलिभिजनबाट यसरी हटाइए पत्रकार बाजपेयी

एजेन्सी । भारतका लोकप्रिय टेलिभिजन पत्रकार पुण्यप्रसुन बाजपेयीले प्रधानमन्त्री मोदीको आलोचना गरेकै कारण जागिर छोड्न बाध्य पारिएकोे खुलासा गरेका छन् । भारतको आनन्द बजार पत्रिका समुहको टेलिभिजन च्यानल एबिपी न्युजमा उनी लोकप्रिय कार्यक्रम ‘मास्टरस्ट्रोक’ सञ्चालन गर्दै आएका थिए ।
कार्यक्रममा ‘ग्राउण्ड रिपोर्टीङ’मार्फत कसरी मोदी सरकारको योजनाहरू असफल हुँदै गएका छन् भन्ने देखाइरहेको थियो । तर, समुहका सञ्चालक तथा प्रधानसम्पादकले आलोचनात्मक समाचारमा प्रधानमन्त्री मोदीको नाम उल्लेख नगर्न निर्देशन दिएको र यो निर्देशन नमान्दा आफू हट्नु परेको खुलासा गरेका छन् ।
अनलाइन पत्रिका ‘द वायर’मा प्रकाशित एक लेखमार्फत् बाजपेयीले टेलिभिजन सञ्चालकले प्रधानमन्त्री मोदीसामु घुँडा टेकेको आरोप लगाए । प्रधानसम्पादकले आफूलाई दिएको निर्देशन उद्धृत गर्दै उनले लेखेका छन्, ‘कुराकानीपछि उनले निर्देशन दिए, अब उप्रान्त प्रधानमन्त्री मोदीको नाम टेलिभिजन स्क्रिनमा उल्लेख नै नगर्ने’ । साथै, प्रधानमन्त्री मोदीको तस्बिर पनि कार्यक्रममा नदेखाउन निर्देशन दिइएको उनले खुलासा गरेका छन् ।
‘सबै सरकारी योजना प्रधानमन्त्री मोदी आफैंले घोषणा गरेका छन,’ बाजेपेयी लेख्छन्, ‘चार वर्षको कार्यकालमा सरकारले एक सय ६ कार्यक्रम घोषणा गरेको छ र संयोगले यी सबै योजना प्रधानमन्त्री मोदीले घोषणा गरेका छन् । अब हामी कसरी प्रधानमन्त्री मोदीको तस्बिर नदेखाई रिपोर्ट बनाउन सक्छौं ।’
बजपेयीले अगाडि लेखेका छन्, ‘योजनाको प्रचारप्रसारको जिम्मेवारी अलगअलग मन्त्रालयमा छ, अलगअलग मन्त्रीको छ, तर सबै योजनाको प्रचारप्रसारमा प्रधानमन्त्री मोदी नै अघि देखिन्छन् । जब हामी कुनै योजनाको सफलता–असफलताबारे रिपोर्ट बनाउँदा उनको नाम रिपोर्टर र उद्घोषकले त नलिएला, तर प्रभावित जनताको मुखमा त मोदीकै नाम हुन्छ ।’
उनले प्रधानमन्त्री मोदीका घोषणाहरू कसरी असफल भइरहेका छन् भन्ने उदाहरण रोजगारसम्बन्धी एक कार्यक्रममार्फत् दिएका छन् । ‘कौशल विकास योजनामार्फत सन् २०२२ सम्ममा ४० करोड युवालाई सिप विकासको तालिम दिने घोषणा मोदीले आफैं गरेका थिए । तर, २०१८ मा आइपुग्दा दुई करोड युवा पनि यो कार्यक्रममा नजोडिएको र यो योजनाका लागि खोलिएका दशमध्ये आठ कार्यालयले कुनै पनि काम नगरेको उनले उल्लेख गरेका छन् । भारतीय जनता पार्टीले प्रधानमन्त्री मोदीलाई केन्द्रमा राखेको हुनाले आगामी लोक सभा चुनावअघि उनको छवी नबिग्रियोस् भनेर यस्तो दबाव दिइएको उनको तर्क छ ।
सञ्चारमाध्यमका सामग्री अनुगमन गर्न सरकारले दुई सय मानिस खटाएको र यसमा मोदीको पक्षमा सामग्री आएको नआएको विश्लेषण हुने गरेको पनि उनले दाबी गरेका छन् ।

यदि नकारात्मक समाचार भएमा सम्बन्धित सञ्चारमाध्यममा विभिन्न किसिमले दबाव सिर्जना गर्ने उनले लेखेका छन् । आफ्नो कार्यक्रम ‘मास्टर स्ट्रोक’लाई लिएर पनि सरकारले च्यानलमाथि यसैगरी दबाव सिर्जना गरेको उनले लेखेका छन् । सरकारी अधिकारीबाट आफूलाई धम्की आएको र त्यसको केही समयपछि पटक पटक कार्यक्रम प्रसारण हुने समय च्यानलको सेटलाइटमा समस्या सिर्जना गरिएको उनले उल्लेख गरेका छन् ।
‘यसपछि सत्तासँग लड्ने कि चुपचाप सहने भन्ने प्रश्न सिर्जना भयो । सञ्चालकको मौनताले सबै प्रश्नको जवाफ दिइरहेको थियो,’ बाजपेयी लेख्छन्, ‘यो लामो प्रक्रियाको अन्त्य पनि त्यस्तै ‘दिलचस्प’ भयो । जब, प्रधानसम्पादक एवम् सञ्चालक तपाईको सामुन्ने हात जोडेर उभिन्छन् र सोध्छन्, ‘भन्नुस् के गरौं ?’ यो अवस्थामा तपाई के गर्न सक्नहुन्छ ? छुट्टीमा जान सक्नुहुन्छ ? अथवा राजिनामा दिन सक्नुहुन्छ । रोचक त यो छ राजिनामा दिएकै दिनदेखि कार्यक्रममा पताञ्जलीको विज्ञापन थपिन्छ ।’

इनयाँपत्रिका डटकमबाट