नयाँ दिल्ली । नेपाली एकता समाज भारतको पश्चिम भारत राज्य समिति अन्तर्गत दमन नगर समिति र वापी नगर समितिको संयुक्त नगर सम्मेलन ५ अगस्त २०१८ का दिन भव्य रुपमा सम्पन्न भएको छ ।
उक्त संयुक्त सम्मेलनले वापी नगर समिति अध्यक्षमा चुडाबहादुर तरामु, उपाध्यक्षमा हुमबहादुर फाल, सचिवमा तिलबहादुर तरामु, सह–सचिवमा रवीन थापा र कोषाध्यक्षमा रीता श्रीस सहित १६ जना सदस्यलाई चयन गरेको छ । त्यसै गरी दमन नगर समितिको अध्यक्षमा केशबहादुर थापा, उपाध्यक्षमा दिनबहादुर सारु, सचिवमा भुपाल तरामु, सह–सचिवमा शुकबहादुर खाङ्गा, र कोषाध्यक्षमा ज्ञानबहादुर राहङ्गीसहित जम्मा २१ सदस्यीय समिति निर्वाचित गरेको छ । यस समितिमा २ जना वैकल्पिक सदस्य र ३ जना सल्लाहकार पनि चुनिएका छन् ।
उक्त संयुकत सम्मेलनलाई संबोधन गर्दै सम्मेलनका प्रमुख अतिथि तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परिथापाले सम्मेलनको भव्य सफलताको कामना गर्दै एक सशक्त नेतृत्वको चयन हुने कुरामा विश्वास व्यक्त गरे ।
प्रमुख अतिथि थापाले सुगौली सन्धिदेखि जनविरोधी शासकहरुले सुरुगरेको राष्ट्रघातको प्रक्रिया राणा, नेपाली कांग्रेस, पञ्च, एमाले र माकेहुंदै आज नेकपाको कार्यकालसम्म आइपुग्दा निरन्तर उत्कर्षतिर गैरहेको बताए । बीचबीचमा युद्ध र आन्दोलनहरु उठे पनि राष्ट्रघातको प्रक्रियाले गुणत्मकता हासिल गर्दै गयो । वाह्य शक्ति त्यसमा पनि मुख्यतः भारतीय विस्तारवादको निर्देशनमा चल्ने र घरेलु प्रतिक्रियावादको प्रतिनिधित्व गर्ने दलालहरुको नेतृत्वको वर्तमान सत्ता नै नेपाली जनताको प्रमुख दुश्मन रहेको उनको निस्कर्ष रहेको थियो ।
थापाले कम्युनिस्ट नामधारी वर्तमान ओली सरकार पनि पहिलेका सरकार जस्तै जनघाती र राष्ट्रघाती रहेको भन्दै जनतन्त्र, राष्ट्रिय स्वाधिनता र जनजीविका समस्या समाधान गर्न र आर्थिक समृद्धि हासिलगर्न नेपालमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको र उक्त क्रान्तिको सफलताको लागि भारतमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिए ।
उक्त संयुक्त सम्मेलनको सफलताको शुभकामना दिंदै नेता इन्द्रमोहन सिग्देलले भने– नेपाली जनता मेहनति नभएर र नेपालमा प्राकृतिक साधनस्रोतको अभाव भएर होइन, आजसम्मका सत्ताधारी वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रका कारण नेपाल असफल राष्ट्र बन्ने दिशामा गैरहेको बताए । नेपालमा थुप्रै पटक आंशिक राजनीतिक परिवर्तन भए पनि नेपालमा आजसम्म राजनीतिक क्रान्ति पूरा नभएको र मजदुर, किसान तथा आम उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको हातमा सत्ता नआएको कुरा बताए । वर्तमान ओली सरकारको आर्थिक समृद्धिको नारा केबल जनता ढाँट्न अगाडि सारिएको भ्रमपूर्ण वकवास रहेको कुरा औंल्याउँंदै नयाँ जनवादी क्रान्तिको सफलतापछि मात्र नेपालमा राष्ट्रिय पुँजीको विकास हुने र त्यसले देशलाई आर्थिक समृद्धितिर लैजाने कुरामा उनको विशेष जोड रहेको थियो ।
नेपाली एकता समाज, भारतका केन्द्रीय सचिवालय सदस्य हेमराज ढुङ्गानाले सम्मेलनको सफलताको सुभकामना व्यक्त गर्दै यस संगठनले भारतभरि छरिएर रहेका नेपालीको पक्षमा संघर्ष गर्दै आएको कुरा दाबी गरे । प्रवासमा रहेका नेपालीले देशको आमूल राजनीतिक परिवर्तनका लागि पनि क्रियाशील रहनु पर्नेमा उनले जोड दिए ।
यसका साथै, नेपाली एकता समाज, भारतका केन्द्रीय सदस्य लगायत अन्य नेताहरुहरुले पनि सम्मेलनलाई सम्बोधन गर्दै त्यसको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतीक लामा लगायतका सामना परिवारका केन्द्रीय कलाकारहरुले प्रदर्शन गरेका गीत तथा नृत्यहरुले सम्मेलनलाई निकै भव्य र रोचक बनाएका थिए ।
केशबहादुर थापाको अध्यक्षतामा सञ्चालित उक्त सम्मेलनको सञ्चालन मानबहादुर थापाले गरेका थिए ।