जनता विकल्प खोजिरहेका छन्

प्रकाशित मिति : २०७५ श्रावण २१

- हरिकृष्ण गजुरेल

सम्पर्क मञ्चको पृष्ठभूमि बताइदिनोस् न । 

सम्पर्क मञ्च देशभरबाट काठमाडौँ उपत्यकामा बस्न आएका र जम्मा भएका साथीलाई सम्पर्कमा ल्याउनका लागि बनाइएको हो । यहाँ आएका देशभरका साथीहरु स्थायी वा अस्थायी रुपमा पेशा व्यवसाय, अध्ययन, अध्यापन आदिमा संलग्न भएर बसिरहनु भएको छ । आमूल परिवर्तन, सामाजिक परिवर्तन, उत्पीडित जति क्षेत्रको हक र अधिकार सुनिश्चित हेनै पर्छ । अग्रगामी सोच राख्ने साथीहरु यसमा आबद्ध गर्न गराउन यो मञ्च स्थापना गरिएको हो ।

यहाँहरु राष्ट्रियता, जनतन्त्र र जननीविकासका सवालहरुलाई लिएर उठ्ने उठाउने संघर्षमा सहभागी हुनुहुन्छ । विगतमा हाम्रो यो मञ्च निर्माण र सञ्चालन राम्रो गरी भएको ताजा इतिहास छ । लाखौँ साथीहरु यसमा आवद्ध हुनुभएको थियो । हामीले देशभरका ७५ जिल्लाका साथीहरुलाई यो मञ्चमा आवद्ध गरेका थियौं । त्यति बेला जनगणतान्त्रिक सम्पर्क मञ्च नामाकरण गरेका थियौं । त्यो क्षेत्रका हिसाबले काठमाडौँ उपत्यका नै हुन्थ्यो । तर रमाइलो कुरा त के भने सिंगो देश त्यहाँ हुन्थ्यो । त्यो सम्पर्क मञ्चभित्र पार्टी जिल्ला कमिटी पनि बनाइएको थियो ।

भिन्न स्वरुपसहित निर्माण गरिएको सम्पर्क मञ्चका आगामी काय्र्रक्रमहरु कस्ता खालका छन् ?

हामीले सम्पर्क मञ्च निर्माण गरेका छौँ । तर पहिलेका जस्तो पार्टीको जिल्ला संगठनको कल्पना गरिएको छैन । हामीले सम्बन्धित जिल्लाका शुभचिन्तकहरुलाई मञ्चमा आवद्ध गर्दछौँ । पहिले जस्तै राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका विषयहरुमा र जातीय क्षेत्रीय लिङ्गीय उत्पीडन र त्यसबाट मुक्तिका लागि चल्ने संघर्षहरुमा त्यो मञ्च सहभागी हुन्छ । संगठन, संघर्ष र क्रियाशीलतालाई ख्यालगर्दै देश र जनताका समस्याहरु समाधानमा प्रत्यक्ष सहभागी गराउँछौं ।

यी कामहरु गर्दा यो देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र त्रान्तिकारी माओवादीका कार्यक्रमहरुसँग जोडिएर अघि बढ््रने छ ।

त्यसो भए यसले देश र जनताका हितहुने कुरालाई लिएर आन्दोलनको वातावरण सिर्जना गर्छ ?

यसले देश र जनताका हितहुने कुराहरु पूरा गर्न उठ्ने आन्दोलनहरुको सहयोगीको भूमिका निर्वाह गर्छ । आवश्यक पर्दा केही आन्दोलनको नेतृत्व पनि गर्छ । अग्रगामी सोच र चिन्तन, नीति तथा कार्यक्रमहरुलाई यसले सहयोग गर्छ ।
यो अग्रगामी आन्दोलनको साझेदार पनि हो । यसले देजमोको कार्यक्रम आत्मसातीकरण गर्छ ।

यसको संगठित स्वरुपबारे बताइदिनोस् न ।

यसको सांगठनिक स्वरुप मोटामोटी रुपमा समन्वयकारी नै रहन्छ । यसको केन्द्र हुन्छ र जिल्लाहरु हुन्छन् । यसको मुख्य काम काठमाडौँ भ्यालीमा आइसकेका र आइबसेकाहरुलाई संगठित गर्नु हुनेछ । यो खुल्ला खालको हुन्छ । यसका नीति तथा नियमहरु पनि तदअनुरुपका हुन्छन् । यसमा मुख्यतः अग्रगमनका पक्षधर, क्रान्तिका समर्थक र शुभचिन्तकहरु हुन्छन् ।

यसको सांगठनिक दायरा कति हुन्छ ? ककसलाई समेट्छ यसले ?

यसले प्रगतिशील, वामपन्थी, राष्ट्रवादी र जनपक्षीय व्यक्ति तथा व्यक्तित्वहरुलाई पनि समेट्छ । परिर्वतनका पक्षपातीहरु, न्यायका पक्षधरहरु र जनताका हकअधिकार चाहनेहरु, गरिखानेहरुका र अधिकार स्थापित गरिनुपर्छ भन्ने मान्यता राख्नेहरु यसमा अट्छन् । राष्ट्रलाई स्वाधीन बनाउनु पर्छ भन्नेहरु पनि यसमा अट्छन् । यसमा गास, बास, कपास शिक्षा र स्वास्थ्यलगायतका अधिकारहरु सुनिश्चित गर्नु पर्छ भन्नेहरु सबै अट्छन् ।

यसका तत्कालका केही कार्यक्रमहरु छन् ?

हाम्रो अहिलेको मुख्य काम संगठन निर्माण नै हो । संगठन निर्माण र विस्तारमा हामीहरु लागिरहेका छौँ । कतै गठन पुनर्गठनको प्रतिक्षामा छौँ । बन्ने क्रम जारी छ । जनताले अहिले विकल्प खोजिरहेका छन् । जनताको वास्तविक रुपमा अधिकार स्थापनाका लागि आमूल परिवर्तनको विकल्प छैन भन्ने जनताले राम्ररी बोध गर्दै गएका छन् । हाल आमूल परिर्वतन ल्याउन नसकिएकाले जनता पीडामा छन् । यस्तो अवस्थामा हामी राष्ट्र, राष्ट्रियता र जनपक्षीय कार्यक्रम अघि बढाउने सोचमा छौं । त्यो सोंचलाई देजमो र क्रान्तिकारी माओवादीले नेतृत्व गर्ने छ । संगठन र संघर्षको तालमेल मिलाएर जान्छौँ ।

मञ्च एउटा संगठन पनि भयो । संगठन हुनुको नाताले वर्तमान सरकार प्रतिको धारणा के छ ?

अहिलेको सरकार स्वरुपमा वाम र सारमा दक्षिणपंथीहरुको सरकार हो । यो सरकार जनताको नाममा जनतालाई ठग्ने र भ्रममा पारी शोषक वर्गको राज्यसत्ताको आयु लम्ब्याउने सरकार हो । त्यो गोविन्द केसीको आन्दोलनले र्छलङ्ग पारेको छ । एउटा निहत्था नागरिक जो सत्याग्रहमा छ, उसलाई अधिनायकवादी भन्ने र जो दमनकारी सत्ताको हर्ताकर्ता छ, ऊ नै प्रजातन्त्रवादी बन्ने । यो त हँुदैन र हुन पनि सक्दैन । अर्कोतिर गोविन्द केसीले उठाएका माग जनपक्षीय हुने र वामपन्थीको सरकार जनविरोधी साबित हुने । यति भएपछि त यो सरकार नौटङ्की सरकार मात्र हो ।

यो वामको नाममा सबै वामहरुलाई सिध्याउने सरकार हो । यो सरकारले न त देशको सुधार गर्छ, न त आफू नै सुध्रन्छ, यति छोटो समयमा यसले जनतालाई विकल्प खोज्न लगाएको छ ।

अहिलेको सरकारसँग जनताका मागहरु राख्नुभएको छ ? यसले त नसुनेको र नदेखेको पनि हुनसक्छ ? भूपी शेरचनको घुम्ने मेचमाथिको अन्धो मान्छे झैं ?

यो सरकारबाट त केही पनि हँुदैन । कोही पनि सन्तुष्ट छैनन् र सबै छोटो समयमै वाक्क र दिक्क भइसकेका छन् पनि । हामीले संघर्षका कार्यक्रमहरुसँगै यो सरकारसँग जनता र देशका मागहरु राख्ने छौँ । केही मागपत्रका रुपमा त अरु केही सडक आन्दोलन, त्यसका नारा र आवाजसहित राख्ने छौँ ।

भर्खरै देजमोले देश, जनता र जनजीविकाका सबै मागहरुलाई सूत्रबद्ध गरेर संघीय सरकारका प्रधानमन्त्रीलाई बुझाइएको छ । त्यसैमा सम्पर्क मञ्चका मागहरु पनि समावेश भएका छन् ।
हामी सच्चा गणतन्त्रवादी, प्रगतिशील, देशभक्त र परिर्वतनकामी शक्ति र व्यक्तिहरु यसबारेमा प्रष्ट छौँ । अधिकार मागेर पाईदैन, खोसेर लिनुपर्छ । सत्ता कसैको कृपा वा अनुकम्पाबाट पाइने कुरा होइन ।

अन्त्यमा केही कुरा राखिदिनुस् न ।

सम्पर्क मञ्च परिर्वतनका पक्षधरहरुको संगठन भएकाले देशको आमूल परिर्वतनका लागि हुने जुनसुकै कार्यक्रमहरुमा हामी एकसाथ छौँ । विना क्रान्ति आमूल परिर्वतन हुँदैन र आमूल परिर्वतनविना जनताका हकअधिकारमा स्थापित हुँदैनन् । हामी यो लक्ष्य र बाटोमा समर्पित छौँ ।