सम्झनाको ऐनामा राकाथुम जनप्रतिरोध सङ्घर्ष

सम्झनाको ऐनामा राकाथुम जनप्रतिरोध सङ्घर्ष

२०४६ सालको जनआन्दोलन ताकाकोे समय थियो । विद्यार्थी आन्दोलन चर्को थियो । राजतन्त्रविरुद्धमा आन्दोलन उठ्दै थियो । आन्दोलनले पञ्चायती व्यवस्था धरापमा पार्यो । केही वर्षहरु संसदीय व्यवस्था पुनस्र्थापनाको लहलहैमा बिते । त्यसपछि संसदीय निर्वाचनका कुरा चले । २०४९ मा हामी गाउँगाउँमा गयौं । त्यतिबेलामा म राष्ट्रिय जनमोर्चामा थिए । हामीलाई त्यतिबेला चौथो महाधिवेशन पक्षधर भनी चिनिन्थ्यो । निर्मल लामा यसको नेतृत्वमा हुनुहुन्थ्यो ।

पञ्चायत कालमा रामेछापमा नवराज सुवेदीको चर्तिकाल नै थियो । पञ्चायत नीति तथा जाचबुझ समितिका अध्यक्ष पनि थिए उनी । पञ्चायत धरााशायी भएपछि उनको प्रधानमन्त्री हुने रोलक्रम पनि सकियो । त्यसपछि नवराज सुवेदीसहितका सामन्तहरु नेपाली काङग्रेसमा प्रवेश गरे । अब लडाइँ काङ्ग्रेस र कम्युनिष्टहरु बीच चल्न गयो । सामन्त तथा पञ्चहरु नेपाली काङग्रेसमा प्रवेश गरेपछि कम्युनिष्टहरु एकातिर भए । लडाइँ अब बुथ कब्जामा सर्न गयो । चुनाब जित्न बुथ त कब्जा गर्नु पर्यो ।

त्यति बेला निर्वाचन दुईचरणमा हुन गएको थियो । रामेछापको एउटा चर्चित गा.वि.स. मजुवा गा.वि.स. थियो । त्यहाँ रोजबहादुर र तेजबहादुर तामाङहरुलगायत अन्य मानिस कांग्रेसमा प्रवेश गरेका थिए । ती सबै नवराज सुवेदीका मानिसहरु थिए । राकाथुुमका ज्ञानबहादुर श्रेष्ठ पनि त्यतै थिए । पहिलो चरणमा बुथ कब्जा गरे निर्वाचनमा खटिएका डोरहरुलाई थुनेर । राकाथुममा २०४९ जेठ १९ गते दोस्रो चरणको निर्वाचन भयो । उनीहरु फेरि राकाथुम बुथकब्जा गर्न जम्मा हुन थाले । मनोनयन दर्ता गर्न र भोट हाल्नै नदिएर र्निवाचित घोषणा गराउन नवराजका मानिसहरु लागि पर्न थाले । मजुवा गा.वि.स. कब्जा गर्ने उनीहरुको रणनीति थाहा पाएपछि हामी (जनमोर्चा जसमा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा दुवैको तर्फबाट) ले तयारी गर्यौ । काङग्रेस र कम्युनिष्टहरु बीचमा लडाँइको तयारी भयो । काङग्रेस बुथ कब्जा गर्ने र जनमोर्चाले बुथ कब्जा गर्न नदिने । बेथानबाट दावा लामाहरु आए, पेमा र भुुवन घिमिरेहरु (तात्कालिन चौमका) र हामी खानियाँ पानीका साथीहरु खड्गबहादुर र वाङदेल तामाङहरु ३०, ४० जना र मानबाहादुरहरु अर्जुन थापामगरहरु, जो जनयुद्धकालमा शाही सेनाद्वारा मारिएका थिए, हामी सबै एककट्ठा भयौ । ६०, ७० जना थियौं हामी । १९ गते राती नै बुथ राखिने स्कूल कब्जा गर्यौं । स्कूल माथिको डाँडो पनि कब्जा गर्यौं । त्यो समुद« सतहदेखि २५००, २६०० मिटर अग्लो ठाउँमा छ ।

त्यो टुप्पोको फेदीमा बस्ती रहेको छ । ११३ जना माथि हाइटमा बस्यौँ । माथिको दिमी पोखरीबाट तत्कालिन चौथो माहाधिवेशनका मानिसहरु झरे । त्यहाँ दिउँसो आएका १५० जनालाई काङग्रेसहरुले खेदेका रहेछन् । काभ्रेका काङग्रेस र स्थानीय काङग्रेस मिलेर खेदेका रहेछन् । र, रामेछाप मैवाङका पनि मिसिएका रहेछन् । काङग्रेसहरु ७००, ८०० जना जम्मा भएका रहेछन् । तिनीहरुको एक मुरी अन्नको त जाँड नै खाएका रहेछन् । भरुवा बन्दुक, तरवार, खुँडा जस्ता हतियासहित आएका रहेछन् ।
उनीहरुले सरकारी निर्वाचन अधिकृतहरु, जसलाई डोर भनिन्छ, उनीहरुलाई स्कूलमा नराखेर गाउँमा कब्जा गरेर राखेका रहेछन् । हामीले रातमा निर्वाचन स्थल कब्जा गर्यौ, तर डोरहरु त छैनन् त्यहाँ । एकले अर्कालाई खेद्ने गरेको त धेरै दिन पहिले देखिनै थियो । हामीले रातमा कब्जा गर्दा ११३ जना थियौ, हाइटपमा । हामीहरुलाई खेद्न गाउँबाट हाम्रो माथि रहेको लेकतिर आउन थाले । हामीले ढुंगा पल्टाएर हायलकायल पार्यौं ।
बिहान ११.० बजेसम्म पनि डोरहरु आएनन् । काभ्रेको मेचेबाट साथीहरु बोलायौ । चलाखमान तामाङको नेतृत्वमा त्यहाँ चौमका साथीहरु आएर बसेका थिए । हामी शक्ति केन्द्रिकृत गर्नतिर लाग्यौ । मजुवा, कुरन्थली, राकाथुम सबै ठाउँका सामन्तहरु एक ठाउँमा जम्मा भएका थिए । जुलुसहित उनीहरु अघि बढ्न थाले । ‘मर या मार’ भन्ने स्थिति उत्पन्न भयो । दिउँसो १२.० बजेतिर हामी भोकप्यासले हैरान नै भयौ । बुथमा लडाकुहरु मात्र थिए, १० जना जति । माथि लेकमा छाडिएका केटाकेटी र बूढाबूढी मात्रै थिए ।

सामन्त र काङग्रेसको भिडदेखेपछि मानिसहरु आत्तिए पनि । तर हामीहरु भने विद्यार्थी कालदेखि लड्दै आएका थियौ । हामीहरुलाई चारैतिरबाट काङग्रेसहरुले घेरामा पारे । हामी मारिने अवस्थामा थियौं । मजुवातिरबाट जनता उठाएर लखेट्ने गरे काङग्रेसहरुले । उत्तरतिरको घेरा तोड्यो भने मात्र हामीहरु बच्ने स्थिति देखियो । त्यहाँ बाक्लो जङ्गल थियो । पूर्व, पश्चिम र दक्षिणमा उनीहरुको बाक्लो उपस्थिति रहेको थियो । उत्तरमा पनि थियो उनीहरुको घेरा । हाम्रा लागि घेरा तोड्न उपयुक्त उत्तरतिर थियो ।

हामी त्यो नाका क्लियर गर्न तिर लाग्यौं । लडाकु टिम केबल १० जना जतिको मात्र भयो । मैले नेतृत्व गरे त्यो टिमको । ३ वटा भरुवा बन्दुक, ४ वटा खुँडा र तरवार अनि लाठी र ढुंगा लिएर हामी अघि बढ्यौ । म अघि लागेर नेत्तृत्व गरे । युवाहरु कस्सिएर पछि लागे । गहिरो काटेर जाँदा मकैबारी थियो । माथि चौरमा उक्लिनु पर्दथ्यो । मकैबारी काटेर हामी माथितिर लाग्यौ । उनीहरुले ढुंगा पल्टाएको भए हामी मर्ने नै थियौ । तर उनीहरुले खाजा खान लागेको बेला परेछ । हामी चौरमा पुगेर बन्दुक पड्काएपछि र तरबार जुधाएपछि त जाँडको घ्याम्पो बोकेर भागे त्यहाँबाट । हामी १० जना थियौ, उनीहरु १५० जना जति रहेछन् । नेतृत्व गर्नेहरु पहिले भागेपछि उनीहरु गुडुुडु भागे । एउटा नाकाबाट उनीहरुलाई भगाएपछि हामीलाई सजिलो भयो । हाम्रो साहस र आट बढ्यो । हाम्रा जनता उत्साहित भए ।

हामीले तल चौरमा रहेकालाई त लखेट्यौ । तर माथि जंगलमा तिनका लडाकु युवाहरु लुकेर बसेका रहेछन् । उनीहरुले दिमी पोखरीबाट आएका हाम्रा साथीहरुलाई लखेटेका रहेछन् । उनीहरुले सुंगुर काटेर मासुभात खान लागेका बेलामा लखेटेका रहेछन् । हामी तलबाट बढेको देखेपछि हाम्रा साथीहरुले जंगलमा लुकेर बसेका युवाहरुमाथि आक्रमण गरे । तलबाट देख्यौ । माथि घमासान लडाइँ भयो । काङग्रेसी युवाहरु त्यहाँबाट भागे । हाम्रा साथीहरुले लखेटे । हाम्रो शक्ति थपियो ।

दिउँसो १.३० बजेको समय थियो । दुम्जाबाट चलाखासिंह तामाङहरुले ल्याएको शक्ति ६० जना जतिको गाउँतिर बढ्यो । उनीहरु आउने बाटो तल पर्यो । काङग्रेसहरु माथि परे । बीचको गाउँमा आउने भीरको बाटो साह्रै अप्ठ्यारो थियो । काङग्रेसले ढुंगा पल्टाएको पल्टायै गरे । तर त्यो शक्ति निकै लडाकु थियो । एक एक गरी ढुंगा छल्दै हामी भएतिर अघि बढिरहे । सबै सकुशल आइपुगे । २.० बजे दिउँसो त हामी पनि ३०० जनाजति जम्मा भइसक्यौं । भुटेको मकै आयो । पानी ल्याइयो । काङग्रेसलाई लखेट्दा छोडेको खाना र सुङ्गुरको मासु पनि आयो । हामी जमेर बस्यौ । तर तल स्कुलको बुथमा त डोरहरु आउँदै आउँदैनन् । काङग्रेसले डोरहरु कब्जा गरेर राखेको राख्यै । हाम्रो ६०० जना जतिको कांग्रेसी टिम हामी भएतिर लखेट्न आउन तम्सन्छन् अझ । ३.० बजिसक्यो । डोर स्कुलमा आउँदैनन् । ५.० बजे त चुनावको समय पनि सकिने हो ।
कमल चौलागाई नेता थिए । उनी हाम्रो साथमा थिए । तत्कालिन चौथो महाधिवेशनले जितेको ठाउँ पनि हो त्यो । उनले विद्यार्थीहरु लिएर आएका थिए । ५.० बजे पछि त काङग्रेसको टिमलाई निर्वाचित घोषणा गरेर जान्छन् होला ती डोरहरु । के गर्ने भन्ने भयो । जनताले डोर कब्जा गरेर राखेको मजुवा बस्तीमाथि आक्रमण गर्ने भनेर कडाइका साथ कुरा राख्न थाले । ‘मर या मार’ को अवस्था छ । बस्ती आक्रमण गरेपछि त भयङ्कर दुर्घटना नै हुने भयो । निर्णय गर्न सकिएन ।

कमल चौलागाईसित के गर्ने भनी जनताले सोध्न थाले । उनले निर्णय दिन सकेनन् । जनता आक्रो्त छन् । हाम्रो शक्ति ९ सय जतिको भइसक्यो । खान, पिउन र आरा मगर्न नपाएर जनता अक्रोशित छन् । हामी तल तल झर्दै पानी ट्याङ्कीसम्म पुग्यौ । एकअर्कामा हाकाहाकी भइरहेको छ । नेताले निर्णय लिन सकेका छैनन् । केही क्षणपछि नेता चौलागाईले गाउँमा दुईवटा घर कब्जा गर्ने र त्यहाँ महिलाहरुलाई चिट्ठी दिएर काङग्रेसहरुकहाँ खबर पठाउने सल्लाह भयो । उनले ४.० बजेसम्म भएपनि डोर ल्याउने र काङग्रेस तथा जनमोर्चा दुवैले ‘नोमिनेसन’ गरेर भोटिङमा जाने भन्ने खबर पठाइयो । तर काङग्रेसहरुले न त जवाफ पठाए, न त केही प्रतिक्रिया नै जनाए । गाउँ उनीहरु डोर उनीहरुकै कब्जामा र जम्मा भएपनि धेरै छन् । त्यसैले उनीहरुले हाम्रो चिट्ठीको खबर फर्काएनन् । हामी ८०० जना मानिसहरु जम्मा भएपनि बाहिरबाट आएका भनेर तिनीहरुले टेर्दै टेरेनन् ।

दिउँसोको ४.० बजिसक्यो । ५.० बजे त निर्वाचनको समय पनि सकिने भो । जम्मा भएका साथी सबैले कमल चौलागाईंलाई नै उल्टै कुट्ने जस्तो गर्न थाले । कि त निर्णय देऊ नत्र के गर्नेभन्दै कमल चौलागाईंलाई घेर्न थाले । त्यति बेलासम्म हाम्रो तर्फ १२०० जना जम्म्मा भइसकेका थियौं । सङ्ख्या ठूलो भयो । त्यत्रो ठूलो सङख्याले गाउँ आक्रमण गरिहाल्यो । त्यहाँ ऐतिहासिक र कलात्मक घरहरुमा नेवार बस्ती बसेको थियो । त्यसपछि सुरु भयो घरका ढोकाहरु फोड्न, झ्याल फोड्न गोठहरु भत्काउन र लालाबाला तथा पशुधन चौपायाहरु फुकाएर बारीमा लागाइदिन । त्यहाँ जम्मा भएका काङग्रेसहरु भागाभाग भए ।

करिब १५० घरहरु त्यहाँ थिए । त्यो गाउँलाई राकाथुम गोठपानी भनेर चिनिन्थ्यो । तल तल मगर वस्ती र माथि माथि तामाङ बस्ती छ, तर बीच गोठपानीमा भने नेवार बस्ती छ । मजुवा र गोठपानी काङग्रेसहरुको गढ नै मानिन्थ्यो । आक्रमणका बेला भुवन, धावा, मानबहादुर र म आफैँ अघि अघि लागेका छौ, बेथिति नगरे है भन्दै । कसैले आगो लगाइदिने भनेका छन् कसैले के गर्ने भनेका छन् । कन्ट्रोल गर्न निकै गाह्रो भयो । सबै आक्रोशित थिए । एउटा घर जलेपछि १५० वटा घर जलेर नष्ट हुन्छन्, त्यसैले रोक्न गाह्रो छ । सम्झाउँदा बुझाउँदा पनि धौधौ परेको छ ।

घरघरमा खोज्दै जाँदा एउटा घरको मटानमा डोरहरु लुकाएर राखेको भेटियो । उनीहरुलाई बाहिर ल्याइयो । डोर प्रमुखहरु होचाहोचा रहेछन् । तर उनका सहयोगीहरु अग्ला अग्ला रहेछन् । साथीहरुले लाठीले ठोक्न थाले । हामीहरुले ५ जना डोरहरुलाई बचाँउदै स्कूलतिर हिँडायौँ । अरुm सबैलाई बोलायौँ । मतदान गर्ने ठाउँमा आइपुग्दा नपुग्दै डोर प्रमुख त बेहोश नै भए ।

हामीले पानी छम्कियौं र हावा हम्किदियौं । एकछिन पछि ब्यूझिए । सबै प्रबन्ध मिलायौ र भोट हाल्ने वातावरण बनायौ । विपक्षी काङग्रेसहरु कोही पनि नभएपछि हाम्रा उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण गरे उनीहरुले । यी सबै काम ५.० बजे भित्र नै गरियो । मजुवा गाउँमा पनि काङग्रेसले यसै गरेको थियो । तर सदरमुकाम मन्थली पुगेपछि डोर आफैँले मलाई कुटपिट गरी निर्वाचन कब्जामा लिएर गर्न लगाए भनी रिपोर्ट गरेछन् । बुथ कब्जा गरेका हुन्, यो अनाधिकृत हो भनेछन् ।

पर्सिको दिनबाट सशस्त्र प्रहरी, पुलिस र सेना सबै परिचालन गर्यो । राकाथुम र खनियाँपानीमा भएका पुरुषहरु देख्नै नहुने । भेटेजति सबैलाई पिट्दै, चुट्दै लगेर थुन्न थाल्यो । घरघर आउजाउ गरेको छ । खानतलासी गरेको छ । मेरी आमा बिरामी हुनुहुन्थ्यो । उपचार नै गर्न पाइएन । म घरै जान सकेन । अघोषित संकटकाल लागू भयो । गाउँमा कफ्र्यू कायमै थियो । आमा बित्नुभयो । डेढ दुई शय जनालाई सार्वजनिक मुद्दा लगायो । सबै तितरवितर भएर जाने भयो । यो घटनाले कमल चौलागाईमा विचलन ल्यायो । तर गाउँलेहरु भने अडिग रहे । अहिले पनि गाउँलेहरु अडिग नै छन् ।

चौलागाई परिवार तराइ झरे । त्यहाँको कम्युनिष्ट आन्दोलन र सङघर्ष त्यहाँका आधारभूत वर्गमा सर्यो । जनता अहिले पनि कम्युनिष्ट नै छन् ।