पार्टी स्कुलिङ सञ्चालन किन आवश्यक छ ?

पार्टी स्कुलिङ सञ्चालन किन आवश्यक छ ?

एउटा महान् क्रान्तिको लक्ष्य पूरा गर्नका लागि एउटा क्रान्तिकारी पार्टी र अब्बल दर्जाका धेरै कार्यकर्ताहरुको खाँचो पर्छ । करीब ३ करोड जनसंख्या भएको नेपालमा क्रान्तिको नेतृत्व गर्न एउटा विशाल संख्यामा पार्टीका नेता, कार्यकर्ताहरु हुनु आवश्यक छ । योग्य, जुझारु तथा लडाकू तथा अनुशासित कार्यकर्ताहरुको आवश्यक पर्छ । पार्टी स्कुल असल र योग्य तथा क्रान्तिकारी नेता कार्यकर्ताहरु उत्पादन गर्ने कारखाना हो । अतः यो लेखमा पार्टी स्कुलिङ सञ्चाल र त्यसको महत्वको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) एउटा क्रान्तिकारी पार्टी हो । यस पार्टीले नयाँ जनवादलाई न्यूनतम कार्यक्रम र वैज्ञानिक समाजवाद तथा साम्यवादलाई अधिकतम कार्यक्रम बनाउँदै आएको छ । यो माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शन र मार्गदर्शनमा निर्देशित र सञ्चालित पार्टी हो ।

नेपाल अझैसम्म पनि एक अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा रहदै आएको छ । यस प्रकारको देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । त्यस पछि मात्र नेपाल वैज्ञानिक समाजवादहुँदै साम्यवादमा पुग्ने बाटो तय गर्ने छ । त्यसो भएर हामी अहिले नेपाली नयाँ जनवादी क्रान्तिकै चरणमा छौं । महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक कार्यभार हाम्रो पार्टीको काँधमा आएको छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हाम्रो पार्टीको मुख्य दायित्व र कर्तव्य बन्न पुगेको छ ।

दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तवर्ग नेपाली नयाँ जनवादी क्रान्तिको प्रधान (घरेलु) दुश्मन हो भने अमेरिकी साम्राज्यवाद, भारतेली विस्तारवाद तथा सबैखाले प्रभुत्ववाद बाह्य (आधारभूत) दुश्मन हुन् । अजंगका रुपमा खडा यी दुईवटा पहाडहरुलाई नपल्टाइकन महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न संभव छैन ।

यस महान् लक्ष्य प्राप्तिका निम्ति पहिलो नम्बरमा हामीलाई क्रान्तिकारी सिद्धान्तको आवश्यकता पर्दछ भने दोस्रो नम्बरमा नयाँ ढंगको मालेमावादले लैस भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता पर्दछ ।

हामीसित क्रान्तिकारी सिद्धान्त मालेमावाद साथमा छ । हामीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) गठन गरेर देश तथा भारत प्रवास र विदेशमा समेत सञ्चालन गरिरहेका छौ । जनवर्गीय संगठनहरु निर्माण गरेका छौं । वर्गीय मोर्चाहरु पनि निर्माण गरेर सञ्चालन गरिरहेका छौं । जुझारु क्रान्तिकारी शक्तिको निर्माण र परिचालन भइरहेको छ । क्रान्तिका लागि आवश्यक पर्ने संयुक्त राजनीतिक मोर्चा निर्माणको पहलकदमी पनि हामीले गरिरहेका छौं ।

क्रान्तिको निम्ति यतिले मात्रै पुग्दैन । त्यसका लागि हामीभन्दा बाहिर रहेका अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु, समुहहरुलाई नीति, विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशामा सहमत भएमा अर्थात् विचारमा सहमत हुनेहरुसित पार्टी एकता गर्दै जाने र क्रान्तिकारी धु्रवीकरणको प्रक्रियालाई पनि तीव्रगतिमा अगाडि बढाउँदै अगाडि बढ्ने नीति ठोस गरेका छौं । यो दायित्व क्रान्तिकारी कम्युनिष्ट पार्टीको कर्तव्यभित्र पनि पर्दछ । हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधिनता तथा साझा सवालहरुमा विप्लब नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र नेकपा (मसाल) का बीचमा कार्यगत एकता कायम गरेर जनसंघर्ष पनि सञ्चालन गर्दै आइरहेका छौं । यो आजको आवश्यकता पनि हो ।

हाम्रो पार्टी कार्यकर्ता आधारित जनतावेश पार्टी हो । माथि पनि उल्लेख गरिएको छ । नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्नु भनेको वैज्ञानिक समाजको विजयको लागि पूर्व सर्त हो । हामी वैज्ञानिक समाजवादको लागि लड्दै आएका छौं र यस दृष्टिबाट हामी त्यस्ता मानिसहरुबाट भिन्न छौं, जो आफूलाई क्रान्तिकारी भन्ने र कम्युनिष्ट पार्टीको दोसल्ला ओढेर प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेका छन् ।

भविष्यको त्यस महान् लक्ष्यतर्फ हाम्रो वर्तमान प्रयत्न निर्देशित रहेको छ, र यदि हामी यो लक्ष्यलाई आफ्नो दृष्टिबाट ओझेल हुन दिन्छौ भने हामी कम्युनिष्ट रहने छैनौं । हामी समाजवादको प्राप्तिको निम्ति पुलको रुपमा रहेको नयाँ जनवादी क्रान्तिको तयारी गर्ने पक्षमा छौं । हामीलाई थाह छ र लक्ष्य–उद्देश्यसमेत किटान गरिसकेका छौं । हामीले वर्तमान नेपाली समाजको वर्ग–विश्लेषण पनि वैज्ञानिक ढंगले गरिसकेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुरुप हामीले सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा पनि ठोस गरिसकेका छौं ।

हामीले महान् दश वर्षे जनयुद्धको प्रक्रिया अन्तरगत गाउँ देखि शहर घेर्ने र अन्तिममा केन्द्रीय सत्ता कब्जा गर्ने अभ्यास पनि गरेर आएका छौं । अहिले हामीले शहरबाट सत्ता कब्जा गरेर त्यसपछि गाउँतिर क्रान्तिलाई लैजाने सशस्त्र जनविद्रोहको कार्यदिशा पनि राष्ट्रिय सम्मेलनबाट पारित गरेका छौं । यो नै हाम्रो महान् नेपाली नयाँ ज नवादी क्रान्तिको सामरिक योजना हो ।

नेपाली नयाँ जनवादी क्रान्ति जनवादी गणराज्यको नारा अन्तर्गत अनेक चरणबाट विकसित हुनेछ । पुँजीपतिवर्गको अधिनायकत्वलाई पल्टाएर सर्वहारा वर्गको अधिनायकत्व खडा गर्न संघर्षको एउटा लामो सिलसिला रहने छ । नेतृत्वको लागि संघर्षको एउटा सिलसिला भएकाले यस संघर्षमा सफलता कुन कुरामा निर्भर रहन्छ भने कम्युनिष्ट पार्टीले सर्वहारा वर्ग र साथै किसान वर्ग तथा शहरी निम्न पुँजीपतिवर्गको राजनीतिक चेतना तथा संगठनको स्तरलाई माथि उठाउनु अनिवार्य हुन जान्छ ।

हाम्रो पार्टी मुख्यतः कार्यकर्ता आधारित पार्टी भएकाले हजारौं कार्यकर्ताहरुलाई पार्टीमा भर्ति गरेर राजनीतिक रुपले, सैद्धान्तिक रुपले, दार्शनिक रुपले, वैचारिक रुपले, सांगठनिक रुपले सुसज्जित हजारौ कार्यकर्ताहरु पार्टीमा भर्ति गरेर तिनलाई पार्टी स्कुलिङ मार्फत् थप सशक्त, जुझारु र क्रान्तिकारी बनिरहन, देश, जनता र क्रान्तिप्रति समर्पित भइरहन, चेतनाले युक्त बनाई राख्न जरुरी हुन्छ । किनभने, कार्यकर्ता भनेका पार्टीका सम्पत्ति हुन् । त्यसैले यस विषयमा कमरेड माओत्सेतुङले भन्नु भएको छ, – “एकचोटी राजनैतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नया कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।”– माओत्सेतुङ, “राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका” (अक्टुबर १९३८)

कमरेड माओका कार्यकर्ता नीति सम्बन्धि यी भनाइहरु हाम्रो निम्ति पनि उत्तिकै मार्मिक र सान्दर्भिक छन् । किनकि, नेपाली नयाँ जनवादी क्रान्तिका निम्ति हामीले सही क्रान्तिकारी नीति अंगीकार गरिसकेका छौं । यसलाई सफलतामा पु¥याउनका लागि हामीलाई ठूलो संख्यामा क्रान्तिकारी कार्यकर्ताहरुको आवश्यकता छ । र कार्यकर्ताहरुलाई क्रान्तिको निम्ति हामीले कसरी प्रयोग गर्ने भन्ने प्रश्न एउटा मूलभूत प्रश्न हो । यस विषयमा कमरेड माओले पुनः अगाडि भन्नु हुन्छ, – “हामीलाई कार्यकर्ताहरुको कसरी राम्ररी प्रयोग गर्ने भन्ने कुरा थाह हुनै पर्छ । अन्तिम विश्लेषणमा, नेतृत्वका दुई मुख्य जिम्मेवारी हुन्छन् ः विचारहरुलाई कार्यरुप दिनु र कार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु । “विचारहरुलाई कार्यरुप दिनु” मा योजना बनाउनु, निर्णय लिनु र आदेश तथा निर्देशनहरु दिनु जस्ता जम्मै कुरा पर्दछन् । विचारलाई व्यवहारमा परिणत गर्न हामीले कार्यकर्ताहरुलाई एकगठ तुल्याउनुपर्छ र कार्यक्षेत्रमा जान उनीहरुलाई हौसला दिनुपर्छ । यो कुरा “कार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु” भन्ने विभागमा पर्दछ ।” – माओत्सेतुङ, “राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका” अक्टुबर १९३८) ।

जुन कुरा कमरेड माओले माथि प्रस्तुत गर्नु भएको छ, यी कुराहरु हाम्रो निम्ति पनि उत्तिकै लाभदायक छन् । हामीले हाम्रा कार्यकर्ताहरुलाई कसरी प्रयोग गर्ने भन्ने कुरालाई गंभीरतापूर्वक लिनै पर्छ ।

कमरेड माओ फेरि अगाडि थप्नु हुन्छ, – “सारा देशभरि हाम्रा पार्टी–संगठनहरुलाई विस्तारित गरिनुपर्छ र हामीले सचेत रुपमा दशौं हजार कार्यकर्ताहरु र अब्बल दर्जाका सयौं नेताहरुलाई प्रशिक्षित पार्नुपर्छ । यी कार्यकर्ता र नेताहरु माक्र्सवाद–लेनिनवादमा पोख्त, राजनैतिक दृष्टिले दूरदर्शी, काममा दक्ष, आत्म–बलिदानको भावनाले परिपूर्ण, स्वतन्त्र रुपले समस्याहरु हल गर्न समर्थ, कठिनाइ आइपर्दा अडिग, र राष्ट्र, वर्ग तथा पार्टीको सेवामा समर्पित तथा इमान्दार हुनुपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमाथि भरोसा राखेर नै पार्टीले आफ्ना सदस्यहरु र आम जनतासित सम्बन्ध स्थापना गर्छ, र आम जनतामा उनीहरुको दरो नेतृत्वमाथि भरोसा राखेर नै पार्टीले शत्रुलाई पराजित गर्न सक्छ । यस्ता कार्यकर्ता र नेताहरु स्वार्थीपना, व्यक्तिवादी वीरता, आडम्बर, अल्छिपना, निस्क्रियता र संकीर्ण हठीपनाबाट मुक्त रहनुपर्छ, र उनीहरु निःस्वार्थ राष्ट्रिय वीर र वर्गवीर बन्नुपर्छ; हाम्रो पार्टीका सदस्य, कार्यकर्ता र नेताहरुबाट यस्ता गुणहरु र यस्तो कार्यशैलीको माग गरिन्छ । यो नै त्यस्तो मानसिक उत्तरदान हो, जसलाई लक्ष्यमा राखेर आफ्नो जीवन अर्पण गरेका दशौं हजार सदस्य, हजारौं कार्यकर्ता र अब्बल दर्जाका बीसौं नेताहरुले हामीलाई छाडेर गएका छन् ।

निसन्देह रुपमा, हामीले उपर्युक्त गुणहरुलाई प्राप्त गर्नुपर्छ, आफूलाई नयाँ ढाँचामा अझ राम्ररी फेर्नुपर्छ र आफूलाई अझ उच्च क्रान्तिकारी स्तरमा उठाउनुपर्छ । तर यति मात्र पर्याप्त छैन । हामीले पार्टी र मुलुकमा धेरै नयाँ कार्यकर्ता र नेताहरु पत्तालाउने कुरालाई पनि आफ्नो कर्तव्य ठान्नु पर्छ । हाम्रो क्रान्ति कार्यकर्ताहरुमाथि निर्भर रहन्छ ।”– माओत्सेतुङ, माओत्सेतुङका चुनिएका रचनाहरु भाग १ अनुवादक कृष्णदास श्रेष्ठ, प्रकाशक विविध पुस्तक भण्डार, अद्वैतमार्ग, काठमाडौं, पृष्ठ २३१ ।

अतः कमरेड माओले उल्लेख गर्नु भएका माथिका भनाइहरु हाम्रो पार्टी, पङक्तिभित्र र क्रान्तिका निम्ति अत्यन्त नै अनुकरणीय र शिक्षाप्रद छ । हामीले व्यवहारमा लागु गर्न प्रतिबद्धता व्यक्त गर्नै पर्दछ । यस विषयमा कमरेड स्टालिनले अगाडि थप्नु हुन्छ– “कार्यकर्ताहरुले सब कुराको फैसला गर्छन् ।” स्टालिन, “लालसेना प्रज्ञा प्रतिष्ठानका स्नातकहरुको क्रेमलिन दरबारमा गरिएको संबोधन” मई १९३५

क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताहरुलाई वैज्ञानिक ढंगले राम्ररी प्रयोग गर्ने एउटा महत्वपूर्ण शर्तमा भनेको पार्टी स्कुलिङ मार्फत् दार्शनिक, सैद्धान्तिक वैचारिक प्रशिक्षणद्वारा क्रान्तिकारी चेतनाको स्तरमाथि उकास्ने हो । यही तथ्यलाई मध्यनजर गरेर नै हाम्रो पार्टीले केन्द्रीय स्तरमा, प्रदेशस्तरमा र जिल्ला स्तरमा गरी तीन तहको पार्टी स्कुलको व्यवस्था गरेको छ । जस्तै जिल्ला तहका लागि आधारभूत तह प्रदेश तहका लागि विस्तृत तह र केन्द्रीय स्तरका लागि विशिष्ट तहको व्यवस्था गरिएको छ भने केन्द्रीय स्तरमै अनुसन्धानात्मक तहको पनि व्यवस्था गरिएको छ । र, सबै तहका लागि पाठ्यक्रम पनि निर्धारण गरिएको छ । यी ४ वटै तहमा व्यवस्थित रुपले स्कुलिङ चलाउने पार्टीको योजना रहेको छ ।

हामीले पूर्व राज्यस्तरमा र अहिले प्रदेश स्तरमा केन्द्रीय स्कुल विभागको तर्फबाट स्कुलिङ (प्रशिक्षण) कार्यक्रम संचालन गर्दै आएका छौं । यतिबेला पाँच महिना पहिलेदेखि पार्टीले राष्ट्रिय अभियान संचालन गर्दै आएको छ र यो जारी नै । यस अन्तरगत क्रान्तिकारी युवा लिग, नेपालले प्रदेश नं. १, २, ३ र ५ मा प्रदेशस्तरीय युवा जागरण तथा शारीरिक व्यायामसम्बन्धि ५, ५ दिने प्रशिक्षणको आयोजना गरेका थिए । हामीले केन्द्रीय पार्टी स्कुलको तर्फबाट प्रशिक्षकहरु खटाएर प्रशिक्षण दिलाउने काम सम्पन्न गरेका छौं । ती युवा प्रशिक्षण कार्यक्रमहरुले पार्टी पंक्ति र आम नेपाली जनताको बीचमा सकारात्मक प्रभाव छोडेको छ । पार्टी केन्द्रीय समितिले पनि यसको सही समिक्षा तथा मूल्याङ्कन समेत गरि सकेको छ ।

हाम्रो पार्टी २०६२।०६३ यताबाट जनयुद्धको कार्यक्रम स्थगित गरेर शान्ति प्रक्रिया प्रवेश गरे पश्चात् यसको मुख्य नेतृत्वले वर्गीय रुपमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिक्रियावादी तथा साम्राज्यवादी एवम् विस्तारवादीहरुका सामु लम्पसार परी आत्मसमर्पण गर्न पुग्यो । सैद्धान्तिक रुपमा विचलित हुन पुग्यो । त्यसले आफ्नो वर्गप्रति गद्दारी ग¥यो । क्रान्तिप्रति गद्दारी ग¥यो र आज आएर त्यसले पहिले नै दक्षिणपन्थी संशोधनवादी लाइनहँुदै प्रतिक्रियावादमा परिणत भइसकेको नेकपा (एमाले) मा विलय मात्र हुन पुगेन कि प्रतिक्रियावादी सत्तामा समेत सामेल हुन पुग्यो ।

यस परिघटनाले नेपाली नयाँ जनवादी क्रान्तिको यो महान् अभियानमा नकारात्मक प्रभाव पारेको छ । जनता र कार्यकर्ताको बीचमा ठूलो भ्रम पैदा गरिएको छ । नेतृत्व प्रति र क्रान्तिको भविष्यप्रति विश्वासको संकट पैदा गरिएको छ । यसले गर्दा क्रान्तिकारी शक्ति रक्षात्मक स्थितिमा पुगेको छ । क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व हुँदाहुँदै पनि आत्मगत शक्ति कमजोर हुन पुगेको छ । यस परिघटनाले पार्टीका कार्यकर्ता र जनताका बीचमा सैद्धान्तिक भ्रमहरुको पैदा गरेको छ ।

महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक कार्यभार बहन गरिरहेको हाम्रो पार्टी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफ्ना कार्यकर्ताहरुमा भर पर्नै पर्छ । हामीले क्रान्तिकारी ढंगले पार्टी पुनर्गठन गरेको लामै अवधिमा कार्यकर्ताहरुलाई सही ढंगले माक्र्सवादका आधारभूत सिद्धान्त र मान्यताहरुका बारेमा योजनाबद्ध ढंगले प्रशिक्षित तुल्याउन सकिरहेका छैनौं । बीच बीचमा पार्टीभित्र फूट पैदा हुनु, दुई पार्टीका बीचमा पार्टी एकता पनि हुनु जस्ता नकारात्मक तथा सकारात्मक अनुभव पनि प्राप्त भएका छन् । तर ती परिघटनाले परेका असर र बाध्यताका कारण हामीले आम पार्टी पंक्तिलाई प्रशिक्षित तुल्याउन सकिरहेका छैनौं ।

हामीले पार्टी स्कुलको तर्फबाट माक्र्सवादको तीन संघटक अंगहरु, दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयहरुलाई समावेश गराएर स्कुलिङका लागि पाठ्यक्रम तर्जुमा गरिसकेका छौं । यस अतिरिक्त नेपाली समाजको इतिहासका बारेमा, नेपाली समाजको वर्ग विश्लेषणका बारेमा, नेपाली क्रान्तिको रणनीति र कार्यनीति तथा कार्यदिशाका बारेमा समेत स्कुलिङको कोर्षमा समावेश गरेका छौं ।
स्कुलिङ भनेको कार्यकर्ताहरुलाई वैज्ञानिक ढंगले अध्ययन गराउनु पनि हो । अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तिको साधन हो ।

माक्र्सवाद अर्थात्, माक्र्सवादीहरुको अध्ययनको आफ्नै वैज्ञानिक पद्धति हुन्छ । संसारमा अहिले अध्ययनका दुई विपरित अध्ययन पद्धति रहेका छन् ः १) अधिभूतवादी अध्ययन पद्धति र २) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति ।

हामीले वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धतिलाई अध्ययनको जीवन पद्धतिको रुपमा ग्रहण गर्दछौं । अध्ययनका दुईवटा तरिका रहेका छन् ः १) स्वअध्ययनको तरिका, २) पार्टी स्कुलिङको तरिका ।

हामीले दुवै तरिकालाई अपनाउँदै आएका छौं । अध्ययनको मुख्य तरिका स्वअध्ययन नै हो भने सहायकका रुपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई पार्टी स्कुलहरु खडा गरेर पार्टी स्कुलिङको व्यवस्था गरेर आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षित तुल्याउँदै ल्याएका छन् । हामीले पनि त्यही पद्धति तरिकाबाट शिक्षा लिन जरुरी छ ।

आम पार्टी पंक्तिभित्र, देशभित्र र भारत प्रवास तथा विदेशमा समेत मालेमावादका आधारभूत सिद्धान्तहरुका बीचमा बुझाइमा एकरुपता ल्याउन ल्याउनका निम्ति हाम्रो पार्टीले आम पार्टी पक्तिभित्र, सबै स्तरमा व्यवस्थित एवम् योजनाबद्ध रुपमा स्कुलिङ सञ्चालन गर्न अति जरुरी छ । यस महत्वपूर्ण भाग र कार्यभारलाई हामीले पूरा गर्नै पर्दछ । महान् नेपाली नयाँ जनवादी क्रान्तिका निम्ति यो हाम्रो कर्तव्य पनि हो ।

(लेखक ः नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी (कुल विभागका सचिव हुन्))