काठमाडौं । चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री सी जुन पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । उपमन्त्री जुनले सोमबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् ।
आइतबार बौद्धनाथ र स्वयंभुको अवलोकन भ्रमण गरेका उनले दोस्रो दिन गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन् । गृह मन्त्रालयमा भएको वार्तामा उनले नेपाल–चीनबीचको आपसी सम्बन्धलाई बलियो र जनस्तरमा लैजानु पर्नेमा जोड दिएको गृहमन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल भ्रमण गर्ने जुन सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन् । सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले मन्त्री थापालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।
भेटवार्ताका क्रममा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेको बुझिएको छ ।
सशस्त्र प्रहरीको तालिम केन्द्र निर्माण गरिदिएको चीनले गृह मन्त्रालय भवनको स्तर उन्नतिका लागि समेत आर्थिक सहयोग गरिरहेको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।