प्रम ओलीको जोखाना र विरोधाभाषपूर्ण धरातलीय यथार्थता

प्रकाशित मिति : २०७५ असार २९

काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएपछि ओलीले आफ्ना पहिला वाचाहरुमा देशबाट तुइनहरु हटाउने भनेका थिए, तर देशभर तुइन जस्ताका तस्तै छन् । जनताले तुइन तर्दै सास्ती खेपिरहेका छन् ।

त्यसै गरी उनले नेपालमा कम्युनिस्टको शासन आयो, अब कसैले पनि डुवानको पीडा खेप्नुपर्ने छैन भनी चर्को भाषण गरेका थिए । गाउँवस्तीहरु अहिले जलमग्न छन्, उद्दार पनि छैन । कुनै पूर्व तयारी पनि थिएन र छैन । अहिले जम्मा डेढ शय मिलिलिटर वर्षा भएको बताइएको छ । नेपालमा राम्रो वर्षाहुँदा ५०० मिलिलिटरसम्म पानी पर्छ । त्यसको तयारी पनि छैन ।

नेपालको उपल्लो तटीय क्षेत्र अर्थात् पहाडी र हिमाली क्षेत्र सडक खनेर छियाछिया पारिएको छ । त्यहाँको माटो नदीले बगाएर तराइमा पुर्याउँदा यस पाला डुवान अकल्पनीय हुने छ । त्यसको सरकारी तयारी केही पनि छैन ।

नेपालमा प्रम ओलीले घरघरमा ग्याँस पाइप लाइन पुर्याउने कुरा गर्छन् । तर देशमा डिजल, पेट्रोल र ग्यास सिलिण्डरमा हरेक महिना मूल्य वृद्धि भइरहेको छ ।

ओलीले स्टिमर र पानी जहाजका कुरा गर्छन्, तर नारायणगढ–मुग्लिङ सडक खण्डले नै सरकारको बाह्र बजाएको छ । त्यहाँ सडकमाथि पहिरो गएको छ र सडक आफै भासिएको छ । उनले उड्ने कार ल्याउने कुरा गर्छन्, गुड्ने ट्रिप्परले मान्छे मारेको मार्यै छ ।

भारत र चीनबाट ओलीले रेल ल्याउने कुरा गर्छन्, काठमाडौंमा ट्रफिक जाम छ । बाटो भत्किएकाले देशभर आवत जावत ठप्प छ । देशका ग्रामीण इलाकाहरुमा विजुली पुगेको छैन । सहरमा पनि भारतबाट प्रति युनिट ८ रुपैयाँसम्म खरिद गरेर विजुली वितरण गरिएको छ । तिनै ओलीले घरगोठका त के कुरा गरौं, महाकाली भारतलाई दिएपछि नेपालका वनजंगलमा भएका जति पनि रुखविरुवाहरु छन्, तिनका पातपातमा विजुली बाल्न सकिन्छ भनेर सपनाका कुरा गरेका थिए । ओलीको अचम्मको कुरा के पनि सुनिएको थियो भने नेपालको विजुली सेटेलाइटबाट विदेश निर्यात गरिने छ ।

तर प्रम केपी ओलीले व्यवहारमा भने सन् १९५० देखिका सबै असमान सन्धिसम्झौताहरु कार्यान्वयन गर्ने वाचा दिल्लीसँग गरेर आएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा दिएर घाटा बजेट प्रस्तुत गर्न लगाएका छन् । महंगी निम्त्याउने मौद्रिक नीति ल्याएका छन् ।
देशभर वाक स्वतन्त्रता, शान्तिपूर्ण विरोध प्रदर्शनको स्वतन्त्रता आदिमाथि रोक लगाउँदै अघोषित संकटकाल हाबी गराउन निषेधित क्षेत्रहरु घोषणा गरेका छन् ।

डा. गोविन्द केसीसँग पौठेजोरी खेल्न सिंगो राज्यसत्ता नै दुरुपयोग गरेका छन् । दिन दाहाडै देशको संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई प्रमकै ठाडो आदेशमा अध्यागमन विभागबाट प्रहरी भ्यानमा हालेर बालुवाटार पुर्याइन्छ । सरकार आन्तरिक पारवाहनमा बस व्यवसायी समितिका एकलौटी सिन्डिकेटका अगाडि लम्पसार परेको छ ।

जनताले केही आशा र भरोसा राखेको छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा गई प्रोटोकलमा  हस्ताक्षर नै नगरी खाली हात स्वदेश फर्किएका छन् । यसमा उनलाई न त पश्चात्ताप छ, न त गल्ती र हीनताबोध नै ।

त्यसैले प्रम ओली जोखाना र हात हेराइको अनुमानमा देश हाँक्न गाह्रो छ ।