डा. केसीको मागको सम्बोधन र जीवन रक्षाको निम्ति गम्भीर बन्न क्रान्तिकारी माओवादीको जोडदार माग

प्रकाशित मिति : २०७५ असार २५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गरी विगत नौं दिनदेखि जुम्लामा अनशनरत डा. केसीका जायज माग र उहाँको जीवन रक्षाको निम्ति गम्भीर बन्न सरकारसित जोडदार माग गर्नुभएको छ ।

महासचिव किरणले सोमबार जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “नौ दिनदेखि जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल एवम् गम्भीर बन्दै गएको छ । स्वास्थ्य क्षेत्रमा विद्यमान विभिन्न विकृति र विसंगतिका विरुद्ध डा. केसी बारम्बार अनशन बस्दै र सरकारद्वारा पनि अनशन तोडाउन बारम्बार सम्झौता गर्दै आएको यथार्थ जगजाहेर छ ।

तसर्थ, डा. केसीद्वारा स्वास्थ्य सुधार र सेवाको क्षेत्रमा उठाइएका जायज मागहरुको समुचित रुपमा अविलम्ब सम्बोधन गर्न र उहाँको जीवन रक्षाको निम्ति गम्भीर बन्न हामी सरकारसित जोडदार माग गर्दछौं ।”