पहिचानविरोधी निर्णयहरु खारेज गर्न देजमो ४ नम्बर प्रदेशको जोडदार माग

पहिचानविरोधी निर्णयहरु खारेज गर्न देजमो ४ नम्बर प्रदेशको जोडदार माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नम्बर प्रदेशले पहिचानविरोधी निर्णयहरु खारेज गर्न जोडदार माग गरेको छ । ४ नम्बर प्रदेशको प्रदेश सरकारले नामाकरण गर्ने क्रममा उक्त प्रदेशलाई गण्डकी प्रदेश नामाकरण गरेपछि सो पहिचानविरोधी निर्णयको घोर विरोध गर्दै मोर्चाले त्यसको खारेजीको जोडदार माग गरेको हो । शनिबार देजमो ४ नम्बर प्रदेशका संयोजक केशबहादुर परियारले एक वक्तव्य जारी गरी यस्तो माग गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘देशका सम्पूर्ण जात, जातिको बसोबासको वर्तमान स्थिति र ऐतिहासिकता, भौगोलिक अवस्थिति, सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक अवस्था तथा प्राकृतिक स्रोतसाधनको उपलब्धता आदि पक्ष र विषयको वैज्ञानिक रुपमा सर्वेक्षण र अध्ययनन गरी प्रदेशको नामाकरणको निर्णय गर्दा त्यस क्षेत्रको जात, जाति, आदिवासी जनजाति, भाषाभाषी, समुदायका जनताको भावना, ऐतिहासिकता र वस्तुस्थितिको बारेमा छलफल र सहमतिको आधारमा निस्कर्षमा पुग्नुको अलवा यो पहिचानविरोधी ओली नेतृत्वको सङ्घीय सरकार र प्रदेश सरकारले भूगोल र नदीनाला तथा पहाड पर्वतको आधारमा सङ्घीय प्रदेशहरुको नामाकरण गर्ने निर्णयप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘आत्मनिणर्यको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचान सहितको सङ्घीयताको आधारमा राज्यको पुनर्संरचना हुनुपर्दछ भन्ने मागसहित सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अधिकारसम्बन्धी मुद्दाहरु लामो समयदेखि क्रान्तिकारी राजनीतिक पार्टीहरु, देशभक्त, गणतन्त्रवादी र नेपालका आदिवासी जनजातिहरुले उठाएर आन्दोलन गरिरहेका छन् । नेपाल सरकार र संसदवादी राजनीतिक दलहरुको त्यसप्रकारको पहिचानविरोधी निर्णयहरुप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पूर्णरुपमा असहमति प्रकट गर्दछ र त्यस्ता पहिचान एवम् जनविरोधी निर्णयहरु तुरुन्त खारेज गरियोस् भनी जोड्दार माग गर्दछ ।’

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘शोषित उत्पीडित नेपाली जनताहरु र आदिवासी जनजातिहरुको चाहना र भावनाविपरित पहिचान मेटिने गरी अमूक र अमूर्त ढङ्गबाट भुगोल र नदीनाला तथा पहाड पर्वतको आधारमा सङ्घीय प्रदेशहरुको नामाकरण गर्ने निर्णय गरी त्यसैलाई लागु गरिएमा त्यसका विरुद्ध सम्पूर्ण पहिचानका पक्षधरहरुलाई एकजुट भई आन्दोलनमा लाग्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल आह्वान गर्दछ ।’