पहिचानविरोधी निर्णय खारेज नगरिए आदिवासी जनजातिहरुले सरकारका विरुद्ध देशव्यापी आन्दोलन गर्ने

पहिचानविरोधी निर्णय खारेज नगरिए आदिवासी जनजातिहरुले सरकारका विरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं । ओली नेतृत्वको संघीय सरकार र प्रदेश सरकारले भूगोल र नदीनालाको आधारमा गरेको प्रदेशहरुको नामाकरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आदिवासी जनजातिहरुले पहिचानविरोधी त्यस्ता निर्णयहरु खारेज नगरिए ओली सरकारका विरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावानी दिएका छन् । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले २१ असारमा एक प्रेस विज्ञप्ति जारी गरी यस्तो चेतावानी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “अहिले नेपाल सरकार र सत्तारुढ राजनीतिक दलहरुले आदिवासी जनजातिले उठाएका पहिचानका मुद्दालाई कुनै वास्ता नगरी संघीय प्रदेशहरुको नामाकरण भुगोल, नदीनाला र पहाड पर्वतको आधारमा गर्ने निर्णय गरिरहेका छन् भन्ने जानकारी विभिन्न श्रोतहरुबाट प्राप्त भएकोले सरकार र सरकार सम्बद्ध राजनीतिक दलहरुको त्यस्ता निर्णयप्रति आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता पहिचानविरोधी तथा जनजाति विरोधी निर्णयहरु तुरुन्त खारेज होस् भनी जोडदार माग गर्दछ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “नेपालको कुल जनसंख्याको अग्रभाग ओगटेका तर नेपालको राष्ट्रिय राजनीतिको मूलधारबाट बहिष्करणमा परेका आदिवासी जनजातिहरुको चाहना र भावना विपरीत उनीहरुको पहिचान मेटिने गरी अमूक र अमूर्त ढंगबाट भुगोल र नदीनाला तथा पहाड पर्वतको आधारमा संघीय प्रदेशहरुको नामाकरण गर्ने निर्णय गरी त्यसैलाई लागु गरिए त्यसका विरुद्धमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले सशक्त रुपमा देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दछ ।”

thumbnail of Press Release 2018 (1)