चार दिनदेखि लुक्लाको विमानस्थल ठप्प, पर्यटक अलपत्र

चार दिनदेखि लुक्लाको विमानस्थल ठप्प, पर्यटक अलपत्र

सोलुखुम्बु, असार १९ । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि मौसम प्रतिकूतलाको कारणले एउटा विमान थन्किएर बसेको छ । नाइनएनएकेके कल साइन भएको तारा एयर विमान चार दिनदेखि लुक्कामै थन्किएको हो ।

शुक्रबार मौसम प्रतिकूल हुँदा अवतरण गरिएका दुईवटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्नन सफल भयो तर तारा एयरको विमान भने फर्कन सकेन । तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिए अनुसार उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको बताइएको छ ।

विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ ।

अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ ।

हेलिकप्टरले समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडौं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा राजेन्द्र बस्नेतले बताए ।

गत असार १५ गते जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा जिप दुर्घटनामा मृत्यु भएका दुईजना कर्मचारीको शव हेलिकप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन । दुई दिनसम्म हेलिकप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताए ।

लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले बताए । देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।