
एजेन्सी । अमेरिकाको म्यारिल्यान्ड राज्यबाट प्रकाशित हुने एक दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । गोली प्रहारमा अन्य केही घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
विविसीका अनुसार हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । क्यापिटल गजेट अखबारका संवाददाताका अनुसार बन्धुकधारीले अखबारको कार्यालयको ढोकाबाटै गोली चलाएको उल्लेख छ ।
सेलेन सान फेलिसले सीएनएनलाई गोली प्रहारपछि आफू डेस्कको तल लुकेर ज्यान जोगाएको बताइन् । अपराध संवाददाता फिल डेभिसले आक्रमणपछि अखबारको कार्यालय कुनै युद्धग्रस्त क्षेत्रजस्तो भएको जनाए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार अधिकारी सराह हकाबी सेन्डर्सले पत्रकारविरुद्धको आक्रमण अमेरिकामाथिकै भएको भन्दै हत्याको निन्दा गरेकी छन् । एनापोलिसस्थित क्यापिटल गजेट भवनभित्र आक्रमण भएको हो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार हालै सामाजिक सञ्जालमार्फत अखबारलाई हिंसात्मक आक्रमण गर्ने धम्की दिइएको थियो । यद्यपि, आक्रमणको कारणबारे भने केही पत्ता नलागेको प्रहरीको भनाइ छ । प्रहरीले आक्रमण योजनाबद्ध रूपमा गरिएको भन्दै अनुसन्धान गरिरहेको जनाएका छ ।
आक्रमणमा संलग्न मेरिल्यान्ड राज्यका ३० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरी अधिकारीले पक्राउ परेका व्यक्तिले अनुसन्धानमा असहयोग गरिरहेको जनाएका छन् । आक्रमणमा ठूलो घातक हतियारको प्रयोग गरिएको जनाइएको छ । उनको झोलाबाट नक्कली ग्रिनेड फेला परेको प्रहरी अधिकारीको भनाइ छ ।
आक्रमणपछि अन्य विभिन्न कार्यालय रहेको व्यापारिक भवनबाट करिब २ सय जनाको सकुशल उद्धार गरिएको थियो ।































