मनाइयो हाँस्यकलाकार किरण केसी ‘रातामकै’को ६१ औं जन्मोत्सव

प्रकाशित मिति : २०७५ असार १५

काठमाडौं, असार १५ । हाँस्य कलाकारिताको क्षेत्रमा निकैनै स्थापित एवं वरिष्ठ कलाकार ‘ए राता मकै’ यानिकी किरण केसी आजदेखि ६१ औं वर्षमा प्रवेश गरेका छन् । यसैबिच वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, दिपकराज गिरी लगायतको अन्य कलाकारहरुको उपस्थितिमा ललितपुरको इमाडोलमा केसीको जन्मदिन भव्यताको साथ मनाइयो ।

कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार पन्त र चलचित्र पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो । कलाकार र पत्रकारहरुलाई हौसला बढाउन सम्मान गर्दै आएकोमा वरिष्ठ हाँस्य कलाकार श्रेष्ठले कलाकार केसीप्रति आभार व्यक्त गरे । त्यसैगरी सम्मानित हुनुभएका अर्का वरिष्ठ हाँस्य कलाकार पन्तले कलाकार र पत्रकारहरुलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्ताका कलाकारहरुलाई हौसला प्रदान गर्ने स्पष्ट पारे ।

‘ए राता मकै’ का नामबाट चर्चित वरिष्ठ हाँस्य कलाकार केसीले विगत ७ वर्षयता आफ्नो जन्म दिनको अवसर पारेर आजकै दिन हाँस्य कलाकारिता र चलचित्र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान दिएकाहरुलाई सम्मान गर्दै आएका छन् ।

उनले कलाको माध्यामबाट मुलुकमा रहेका विकृति र विसंगति अन्त्य गर्न योगदान गर्दै आएको हाँस्य कला क्षेत्रको श्रीवृद्धिका लागि आफू लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनको अभिनयलाई दर्शकहरुले औधि रुचाउने गरेका छन् ।