काठमाण्डौ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले जनतालाई आक्रान्त बनाउँदै एक्कासी आकाशिएको ‘मूल्य घटाएर पुरानै स्थितिमा लगिएन भने अब ओली सरकार नरहने’ चेतावनी दिएका छन् । तीन वाम पार्टीहरुद्वारा काठमाडौंको शान्ति बाटिकामा बिहीवार संयुक्त रुपमा आयोजित विरोध प्रदर्शनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । वर्तमान ओली सरकार स्वेच्छाचारी, अटेरी र जनविरोधी बन्दै गएकाले अब संयुक्त वाम आन्दोलन अबको एकमात्र विकल्प रहेको पनि बताएका छन् ।
देशमा समृद्धि र जनतालाई सुखको नारा दिएर सत्तासीन भएको ओली सरकारले आफ्ना चार महिना पनि बिताउन नपाउँदै पेट्रोलियम पदार्थमा पाँचपाँच पटक मूल्य वृद्धि गरिसकेको भन्दै गजुरेलले सरकारलाई चेतावनी दिँदै भने– ‘दैनिक उपभोग्य सामानमा मूल्य बृद्धि भई जनसाधरणको जीवनयापन अत्यन्तै कठिनाइपूर्ण बनेको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बहुमतको सरकार निर्माण गर्न पुगेको ओली सरकारले उल्टै महङ्गीको उपहार दिएर जनतालाई स्तब्ध र आक्रोशित बनाएको छ । यो निम्तो भनेको छोटो समयमै जनतालाई सडकमा उत्रन र सरकारलाई फाल्नका लागि दिइएको निम्तो हो ।’
देश र जनताका विरुद्धमा भइरहेका सबै राष्ट्रघाती एवम् जनघाती सन्धिसम्झौताको एकमुष्ठ अनुमोदन गरेर ओली सरकारले थप राष्ट्रघात र जनघातका लागि अरु दलालहरुलाई कुनै ठाउँ नराखिदिएको स्पष्ट पार्दै गजुरेलले थपे ‘शायद उनी दलाल तथा नोकरशाही शासन व्यवस्थाका अन्तिम शासक पनि हुन सक्छन्, किनकि जनता उनी र उनको सरकारसँग निकै नै आक्रोशित छन् ।’