‘संशोधनवादीहरुले (नेकपा)को दोसल्ला ओढेर माक्र्सवादी विचारमाथि साङ्घातिक हमला गरिरहेका छन्’ : मोहन वैद्य ‘किरण’

प्रकाशित मिति : २०७५ असार २

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले एकातिर संशोधनवादीहरुद्वारा लोकतान्त्रिक गणतन्त्रका नाममा र अर्कोतिर प्रविधिको विकासको नाममा माक्र्सवादी विचारमाथि हमला भइरहेको बताएका छन् । राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवी मञ्च नेपाल र नेपाल राष्ट्रिय प्राध्यापक संगठन को संयुक्त आयोजनामा नेपाल ल क्याम्पसमा शनिवार दिउँसो भएको कार्लमाक्र्सको २०० औं वर्षविशेष कार्लमाक्र्स पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

प्रमुख अतिथिको आसनबाट बोल्दै किरणले लोकतान्त्रिक गणतन्त्रको नाममा संशोधनवादीहरुले संसदवादको औजारहरुद्वारा माक्र्सवादमाथि गुलिया गोलीहरु वर्षाउँदै आक्रमण गरिहेको कुरा खुलस्त गरेका छन् । उनले भने– ‘माक्र्सको २०० औं वर्ष संशोधनवादी कम्युनिस्टहरुले निकै भड्किलो कार्यक्रमका रुपमा मनाएर जनतालाई देखाउन खोजे पनि उनीहरुले नेकपाको दोसल्ला ओढेर माक्र्सवादमाथि निरन्तर गम्भीर हमलाहरु गरिरहेका छन् ।’

ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्त माक्सवादको मर्म र चुरो कुरा भएको भन्दै किरणले जोड दिए ‘तर यी संशोधनवादीहरु न त इतिहासको भौतिकवादी विवेचना गर्न तयार छन्, न त सामन्ती दलाल तथा नोकरशाही अर्थतन्त्रको चिरफार गरी जनवादी तथा समाजवादी अर्थतन्त्र निर्माणका लागि यो शोषणमूलक अर्थतन्त्रको अन्त्य गर्न नै तयार छन् । बरु उल्टै दलाल तथा नोकरशाही अर्थतन्त्रलाई समाजवादी अर्थतन्त्रको पगरी गुथाउँदै हिंड्न अभ्यस्त हुन थालेका छन् ।’

उनले संशोधनवादीहरुले निरन्तर सङ्घर्ष, सङ्घर्षमा श्रमको भूमिका र वर्गसङ्घर्षद्वारा उद्दात्त आदर्श साम्यवादको स्थापनाको बाटो त्यागिसकेको बताएका छन् । विगतको पृष्ठभूमिले जनतामा भ्रम पार्न निकै मद्दत पुर्याएको प्रसंग कोट्याउँदै महासचिव किरणले भने– ‘हाल एउटै पार्टी नेकपा बनाएका २०२८ सालको झापा आन्दोलनबाट आएको एउटा समूह एमाले र जनयुद्ध र जनआन्दोलनबाट आएको माओवादी केन्द्रले आफूहरुलाई विगतको पृष्ठभूमि देखाउँदै कम्युनिस्ट पार्टी भनी जनतालाई ढाँटी नै रहेका छन् ।’

‘यिनीहरुले भन्ने गरेको लोकतन्त्र त सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिको बेला भनिएको लोकतन्त्र हो, जो आजभन्दा २२९ वर्ष पुरानो छ भन्दै प्रमुख अतिथि किरणले थपे ‘यो नेपालको सन्दर्भमा २१ औं शताब्दीमा आएर कसरी नयाँ भयो ? फ्रान्सको ‘लोकतन्त्र’ पछि विश्व पुँजीवादी साम्राज्यवादको लपेटामा पर्यो । त्यसका विरुद्ध सन् १९१९ मा अर्थात् १३० वर्षपछि आएर रुसमा लेनिनले समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो र समाजवाद स्थापना गर्नुभयो । त्यतिले पनि पुगेन र चीनमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक समाजलाई रुपान्तरण गर्दै माओले सन् १९४९ अर्थात् फ्रान्सेली लोकतन्त्र आएको १६० वर्षपछि नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नुभयो । आज सन् २०१८ चलिरहेको छ के आज २२९ वर्ष पुरानो लोकतन्त्र नेपालमा समाजवादको दिशामा अघि बढ्ला ? यो संशोधनवादीहरुको अधोगामी र पश्चगामी भ्रम मात्र हो ।’

कार्यक्रमका टिप्पणीकार प्राध्यापक डाक्टर कृष्ण बेलबासेले कार्लमाक्र्सको २००औं वर्षविशेष कार्लमाक्र्स पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रममा विमोचन गरिएको पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक पठनीय र सङ्ग्रहनीय दुबै भएको भन्दै ‘यो पुस्तकमा समावेश गरिएका लेखहरुले समसामयिकतामा अलि धेरै प्रकाश पार्न नसकेको बताए । माक्र्सवाद र वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनसँग जोडिएका लेखहरु भए पनि वस्तुनिस्ठतामा केही कमी रहन गएको र माक्र्सवादका सबै पक्ष र पाटाहरुलाई समेट्न नसकिएको कुरामा जोड दिए । उनले जनयुद्धको विसर्जन हुनुमा प्रचण्ड एक्लै दोषी नभएका र अरुले पनि समयमै यो कुरा बुझ्न नसकेको पनि बताए ।


अर्का टिप्पणीकार प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयले कार्लमाक्र्सका ऐतिहासिक योगदानहरुलाई पुस्तकको रुप दिएकोमा आयोजकलाई धन्यवाद दिंदै माक्र्सवाद परिश्रम र निरन्तर संघर्षको प्रतिफल भएको कुरा बताए । नेपालमा चलेको जनयुद्धमा त्यति लामो र गहिरो बहस चल्न नसकेको र विषयवस्तुको गहिराइमा नपुगेर एउटा व्यक्ति विशेषलाई प्राधिकार बनाएको कुरामा नै त्रुटी रहेको बताउँदै प्रा.डा. पाण्डेयले आदर्शीकरणमा बढी जोड दिइएको कुरा औल्याए ।

राष्ट्रिय क्रान्तिकारी वुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले सहभागी सबैलाई स्वागत गर्दै कार्लमाक्र्स २०० वर्ष नामको पुस्तक लेखकहरुको संग्रह भएकाले उक्त पुस्तक सहकार्यको प्रतिफल भएको बताएका थिए ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका उपाध्यक्ष तथा सहप्राध्यापक लोकराज रेग्मीले कार्यक्रम सञ्चालनसँगै कार्लमाक्र्सको २०० औं वर्षविशेष कार्लमाक्र्स पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रमका बारेमा सहभागी सबैलाई जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारीले नेकपाका नाममा भ्रम छर्दै हिंडेका ‘संसदीय डाम्ना’हरुको खेती लामो समयसम्म नचल्ने ठोकुवा गरेका थिए ।