काठमाडौं । आफूलाई ‘वाम’ र ‘कम्युनिष्ट’ बताउने केपी शर्मा ओली नेतृत्वको सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेसँगै दैनिक उपभोग्य वस्तुमा अस्वभाविक रुपमा भएको मूल्यवृद्धिको विरोधमा तीन कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आज विरोध प्रदर्शन गर्दैछन् । मोहन वैद्य‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आज सरकारविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका छन् ।
आज (विहीबार) दिउँसो १ बजेबाट शान्तिवाटिकामा विरोध प्रदर्शनको तयारी गरिएको क्रान्तिकारी माओवादीका केन्द्रीय कार्यालय सचिव कगेन्द्रले जानकारी दिनुभयो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन महिना नवित्तै जनता महंगी र मूल्य वृद्धिको मारमा परेको भन्दै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।
विरोध प्रदर्शनमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला अरुण–३ जलविद्युत आयोजना भारतलाई सुम्पेर गरिएका राष्ट्रहित विपरीतका सन्धिसम्झौता विरुद्ध पनि विरोध गरिने नेताहरुले बताएका छन् । यी तीन पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त मोर्चा बनाएर संघर्षका कार्यक्रम गर्दै आएका छन् । विरोध प्रदर्शनलाई तीनओटै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।