ट्रम्प–उन सिंगापुर वार्ता ः शक्ति ध्रुवहरुको नाडी छामाछाम

प्रकाशित मिति : २०७५ जेष्ठ २८

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै शीर्ष नेता हाल सिंगापुरमा छन् । दुवै नेता शिखर वार्ताका लागि भेटघाटको तयारीमा रहेका छन् ।

कहिले हुने त कहिले नहुने भनी उतारचढावका समाचारहरु सञ्चार माध्यममा बारम्बार आइरहँदा विश्वस्त हुन नसकिरहेको विश्व जगत अहिले अमेरिका तथा उत्तर कोरियाबीच पहिलो चरणकै भएपनि वार्ता हुनेमा आशावादी देखिएको छ ।

पूर्व निर्धारित तालिकाअनुसार ट्रम्प र किमको वार्ता जुन १५ मंगलबार हुने छ । शिखर वार्ताका लागि एजेण्डा केही पनि नबनाएका भनिएका ट्रम्प र एजेण्डासहित प्रस्तुत हुने गृहकार्यमा लागेका किम शिखर वार्ताका लागि निर्धारित स्थान सिङ्गापुरमा भने दुई दिन अगावै पुगिसकेका छन् ।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने भन्दै लामो समयदेखि नाकाबन्दी गर्दै आएका पश्चिमा राष्ट्र र त्यसको नेतृत्वकर्ता अमेरिका र नाकाबन्दी फुकाउन थप आणविक शक्ति सम्पन्न भएर आएको उत्तर कोरिया एक आपसमा कसले के चाहन्छन् सोबारे दुवै देश स्पष्ट हुन पनि चाहिरहेका देखिन्छन् ।

अमेरिकालाई उत्तरकोरिया र उत्तरकोरियालाई अमेरिकाले अरु देशमार्फत् चित्रित गर्ने गरिदिने गर्नाले वास्तविक कुरा यथार्थता भन्दा टाढाको भइदिने भएकाले पनि यी दुई देशबीच लामो शीतयुद्ध चलेको केही कूटनीतिक विद्हरुको आँकलन रहेको छ ।

अहिलेससम्म बाहिर आएका सूचना र जानकारीअनुसार उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अमेरिकी शर्त र दृष्किोणबारे आफू प्रष्ट हुन चाहेका देखिन्छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना पनि यही नै रहेको आभाष पाइन्छ, तर उनले कुनै पनि एजेण्डा नबनाएको भनी किमसँगको शिखर वार्तालाई कम महत्व दिएको झैं गरी अन्तर्राष्ट्रिय शक्तिहरुलाई केही फरक सन्देश दिन खोजिरहेका छन् ।

तर उनका जी–७ का व्यापार साझेदारहरु क्यानडामा आयोजित व्यापार शिखर सम्मेलनलाई टुङगोमा नपुर्याएर दुई दिन बाँकीहुँदै सिंगापुर हिंडेको विषयलाई लिएर टम्«पको कटु आलोचना गरेका छन् । टम्«पको उनसँगको यो भेटघाटलाई अमेरिकी प्रशासनको नयाँ कुटनीतिक ढोका खोलाइका रुपमा स्वयम् केही अमेरिकी कूटनीतिक विद्हरु चर्चामा ल्याउन थालिरहेका छन् । उनीहरुका अनुसार यदि टम्«पले यसरी नसोचेका भए सिंगापुरको शिखर वार्ता संभव थिएन ।

सिंगापुर शिखर सम्मेलन फ्रन्टमा टम्«प र उन देखिए पनि पर्दा पछाडि विश्वका सबै शक्ति राष्ट्रहरु यो वार्ताको दुई पोलमा उभिएका छन् ।