काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ, क्रान्तिकारी पत्रकार महासंघ र नेकपा (विप्लव) निकट क्रान्तिकारी पत्रकार संगठन, नेपालको संयुक्त आयोजनामा गरिएको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख रामसिंह श्रीस, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञावाली, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका महासचिव केशरमणि कटुवाल, क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष दिपेन्द्र रावल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जनसाँस्कृतिक महासंघका महासचिव हिरामणि दुःखीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रायः वक्ताहरुले इच्छुकले नेपालमा नयाँ जनवादी क्रान्तिको महान सपना र आदर्शका निम्ति अमूल्य जीवनको वलिदान गरेको भन्दै त्यो महान लक्ष्य, उद्देश्य र आदर्श अझै प्राप्त नभएको यस घडीमा ती महान लक्ष्य र आदर्श प्राप्तिका निम्ति सबै क्रान्तिकारी तथा जनपक्षीय साँस्कृतिककर्मी तथा पत्रकारहरु एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो ।
इच्छुकको स्मृतिमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले प्रतिष्ठानकै हलमा आजै विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
जनयुद्ध उत्कर्षमा पुगेको बेलामा महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, डिआइजी बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर जेठ १३ गते सेनको हत्या गरेका थिए ।
फोटो: प्रकास भण्डारी