
काठमाडौं जेठ १३ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्माओली देशलाई सिक्किमीकरण गर्दै लाने भूमिकामा उद्दत हुँदै गएको ठोकुवा गर्नु भएको छ । जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं जिल्ला समितिद्वारा शनिबार आयोजित एक विशेष प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने क्रममा उहाँले उक्त कुराको खुलासा गर्नुभएको हो ।

सम्बोधनको सुरुमा गजुरेलले भन्नुभयो– ‘योभन्दा अघिल्लो पटक सरकारमा रहेका बखत मोदी सरकारले गरेको नाकाबन्दीको बेला उनी झुक्न नचाहेको देखाए, बरु उनले चीनसँग व्यापार तथा पारबाहन सन्धी गरेर उत्तरी नाका खुला गरे । भारतसँग महाकाली नदी दिएर पनि नजिक हुँदै आएका ओली यसपछि देखावटी रुपमा राष्ट्रवादी बन्न पुगे । नेपाललाई समृद्ध पनि बनाइदिने नाराका साथ उनी चुनावमा गएर कथित वाम गठबन्धनको बहुमत पनि जुटाउन सफल भए ।’

हाल ओलीको यथाार्थ अनुहार बाहिर आएको अवस्थालाई इंगित गर्दै अध्यक्ष गजुरेलले विस्तार गर्नुभयो– ‘तर प्रधानमन्त्रीको ताज पहिरेपछि पनि ठूलै राष्ट्रवादी भनेर प्रचार भइरहेको बेला भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले उनको राष्ट्रवादी नकाव च्यातेर वेनकाब पारिदियो । त्यसो त उनले भारतको पहिलो भ्रमण गरे पनि । नेपाली जनतालाई ढाट्न खप्पिस ओलीले भारतसँग नयाँ सन्धिसम्झौता गरिदैन, बरु गरेका सन्धीसंझौताको कार्यान्वयन गर्न जोड दिइने छ भने । यहँनेर जनताले के बुझेनन् वा बुझ्न सकेनन् भने हालसम्म भए गरिएका सबै असमान र राष्ट्रघाती सन्धिसम्झौताहरु नेपाललाई सिक्किमीकरण गर्न पर्याप्त छन् । ओलीले ठीक त्यही गरे । त्यस्ता सन्धीसंझौताहरु विना पुनरावलोकन सबै अनुमोदन गरेर कार्यान्वयनको प्रक्रियामा हालिदिए ।’
नेपाल भ्रमणको क्रममा मोदीको कुटनीतिक मर्यादा विपरीत चलखेलको खुलासा गर्दै उहाँले भन्नुभयो– ‘मोदी सिधै काठमाडौं नआई कुटनीतिक मर्यादाविपरीत जनकपुरमा ओर्लिए, तर आफ्नै देशका प्रधानमन्त्री ओली मोदीकै भेषभूषामा उनलाई स्वागत गर्न त्यहाँ टुप्लुक्क गइपुगे । ८६ जना स्पेशल कमाण्डो फोर्ससँगै ओलीको स्वीकृतिमा जनकपुरमा ओर्लिएका मोदीले उनलाई ‘भाइसाप’ भनी रमाइलो संबोधन गर्न पनि भ्याए । नागरिक अभिनन्दन कार्यक्रमको अवधिभर त्यहाँ ‘हमारा देश मधेश मे आपका स्वागत है’ भन्ने बोर्ड टाँगिइरह्यो । यो व्यानरले नेपालमा दुई भिन्न देशहरु छन् भन्ने बताउँछन् । यो ओलीका लागि टाउको दुखाइको विषय सम्म पनि बनेन ।’
माओकालीन चीनमा अमेरिकी राष्ट्रपति भ्रमणकोे स्मरण गर्दै गजुरेलले थप्नुभयो– ‘माओको पालामा अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमण बखत पिउने पानी पनि अमेरिकाबाट लिएर आएका थिए । तर चीनले एकजना पनि अमेरिकी सेनालाई चीनमा खुट्टा टेक्न अनुमति दिएको थिएन ।’
प्रशिक्षण सम्बोधनको क्रममा उहाँले एमाले माओवादी बीचको एकता दुई पार्टीको एकता नभई प्रचण्डले आफ्नो सुरक्षाका लागि माओवादी पार्टी एमालेमा बुझाइदिएको खुलासा गर्दै– ‘यो आत्मसमर्पण नै हो । एकता होइन । त्यहाँभित्र रहेका पूर्व पीएल्ए कमाण्डरहरु भन्ने गरेका छन् कि प्रचण्डले त्यहाँ रहेका सबैको भविष्य नै समाप्त गरिदिए । माओवादी आन्दोलनमा अब प्रचण्डको भ्रमको खेती बाँकी रहेन । अब झगडा माओवादीमा छैन नेकपामा सरेको छ । प्रचण्डले माओवाद विधिवत् रुपमा त्यागिदिएका छन् ।’
सम्बोधनको अन्त्यतिर गजुरेलले भन्नुभयो– ‘ आत्मसमर्पणवादी प्रचण्डहरुसँगको हाम्रो सम्बन्ध विच्छेद बल्ल जनताले बुझ्न थालेका छन् र अब क्रमशः हाम्रो कुरा सबैलाई पच्न थालेको छ ।’ उहाँले पुनः थप्नु भयो– ‘हाम्रो पार्टी र क्रान्तिका लागि अनुकूल परिस्थिति बन्दै गएको छ ।’
कार्यक्रमका अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा प्रदेश नम्बर ३ का इञ्चार्ज रामसिंह श्रीसले मन्तव्य प्रशिक्षणको क्रममा पार्टी र मोर्चाबीचको सम्बन्ध रअन्तरबारे प्रष्ट्याउनु भएको थियो । पार्टी वर्गीयतामा आधारित र वर्गसंघर्षको बाहक हुन्छ भन्दै ‘वर्तमान राज्यसत्ता दलाल तथा नोकरशाही चरित्रको भएकाले यहाँ वैदेशिक हस्तक्षेप बढ्दो रहेको भन्दै बन्धकमा रहेको देशको स्वाभिमानका साथै राष्ट्रिय पुँजीपतिमाथि भएको निरन्तर हमला, जनतामाथि शोषण, अनयाय र अत्याचारको अन्त्य नयाँ जनवादी क्रान्तिमार्फत् जनगणतन्त्र स्थापना भएपछि मात्र हुने’ कुरामासथ प्रकाश पार्नु भएको थियो ।
मोर्चा र यसको चरित्रबारे प्रष्ट पार्दै श्रीसले ‘सच्चा देशभक्त तथाजनगणतन्त्रका पक्षधरहरुको मोर्चाले क्रान्तिकारी पार्टीको न्यूनतम र तात्कालिक कार्यक्रम मात्र आफ्नो लक्ष्य, उद्देश्य र कार्यक्रम बनाउने भएकाले’ मोर्चाले निकै लचकताका साथ नयाँ जनवादी कार्यक्रमसम्म जाने शक्तिहरुलाई समेट्दछ’ भन्नुभयो । ‘मोर्चामा कम्युनिष्ट पार्टीका सदस्यहरु पनि हुन्छन् र गैरकम्युनिष्ट पार्टीका सदस्यहरु पनि हुन्छन्’ भन्दै श्रीसले थप्नुभयो– ‘जो देशभक्त, राष्ट्रववादी र जनपक्षीय हुन्छ, ऊ मोर्चामा अट्न सक्छ ।’ पार्टीमा सदस्यता प्राप्त गर्न कुनै पनि जन वर्गीय संगठनमा एक वर्ष काम गरेको हुनुपर्ने र थप परीक्षणकालमा रहनु पर्ने प्रावधान हुने भन्दै मोर्चामा भने उक्त कुरा लागु नहुने बताउनु भयो ।
मोर्चाका काठमाडौं जिल्ला अध्यक्ष खगेन्द्र छन्तेलले पार्टी र मोर्चाबीचको सम्बन्ध र अन्तरबारे प्रशिक्षण आवश्यक भएको बताउनु भएको थियो । अध्यक्ष छन्तेलको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला सचिव निबास श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यहरु प्रवेश, बद्री बजगाईं, हुकुमबहादुर सिंह, कमल, ईश्वर तिमिल्सिना, हरिकृष्ण गजुरेल, जिल्ला सचिव सरु, देजमो सीसीएम गोर्की श्रेष्ठ, शालिक भण्डारी र इन्दिरा घिमिरेलगायत हुनुहुन्थ्यो ।





























