
काठमाडौं, जेठ ११ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परि थापालाई पितृशोक परेको छ । नेता थापाका बुबा जयबहादुर थापाको बिहीबार १० गते पोखरामा औषधोपचारको क्रममा निधन हुन पुगेको छ । वाग्लुङ्ग जैमिनी नगरपालिका वार्ड नं ३ निवासी उहाँको ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँका नेता थापासहित चार छोरा, बुहारी, तीन छोरी ज्वाइँ, नाती नातिनी, पनाती पनातिनीहरु छन् ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक शोक वक्तव्य जारी गरी दिवंगत जयबहादुर थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । र, नेता थापासहित शोकसंतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट पनि गर्नुभएको छ ।
वक्तव्यमा दिवङगत जयबहादुर थापा पार्टीका समर्थक तथा शुभचिन्तक रहेका र उहाँले नेपाली कम्युनिस्ट आन्दोलन तथा विभिन्न संघर्षहरुमा सहयोग पु¥याउनु भएको बताइएको छ ।
वक्तव्यमा जनाइए अनुसार दिवङ्गत थापाकी जीवन सङ्गिनी मनकुमारी थापाको पहिले नै निधन भइसकेको थियो । दिवङ्गत थापाका बारेमा वक्तव्यमा थप भनिएको छ, ‘पार्टी शुभचिन्तक थापाको निधन भएकोमा यस दुःखदघडीमा वहाँप्रति हामी भावपूर्ण श्रद्घान्जली अर्पण गर्दछौ । साथै, हामी वहाँको निधनमा शोकमग्न हुनु भएका क. परी थापा सहित सम्पूर्ण परिवारजनप्रति पनि गहिरो हार्दिक समवेदना प्रकट गर्दछौ ।’





























