मादुरोले निस्कासन गरे अमेरिकी कूटनीतिज्ञहरु

प्रकाशित मिति : २०७५ जेष्ठ ९

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले दुई जना अमेरिकी कूटनीतिज्ञहरुलाई भेनेजुएलास्थित अमेरिकी दूतावासबाट निस्कासन गरिदिएका छन् । उनीहरुले भेनेजुएला र त्यहाँका जनताका विरुद्ध जासुसी गरेको आरोपमा उनीहरुलाई निस्कासन गरिएको राष्ट्रपति मादुरोले बताएका छन् । निस्कासित दुई अमेरिकी कूटनीतिज्ञहरु टोड रविन्सन र ब्रियन नरान्जो उच्च तहका कूटनीतिज्ञ रहेको बताइएको छ ।

विश्लेषकहरुका अनुसार देशमा भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा थप ६ वर्षे कार्यकालका लागि मादुरो पुनः निर्वाचित भएपछि अमेरिकाले गरेको विरोधको जवाफ भनेका छन् । मादुरो भेनेजुयलाका लोकप्रिय मजदूर नेता तथा पूर्वराष्ट्रपति ह्युगो चाबेजको उत्तराधिकारीको भएकाले पनि अमेरिका उनी विरुद्ध खनिने गरेको छ ।

राष्ट्रपतिमा माधुरो विजय भएपछि उनका प्रतिद्वन्द्वी हेनरी फाल्कनले यो निर्वाचनलाई मान्यता नदिन अन्तरर्राष्ट्रिय शक्ति र समुदायसँग आह्वान गरे लगत्तै अमेरिका लगाएत् पश्चिमा राष्ट्रहरुले भेनेजुयलाबाट आफ्ना दूताबासहरु हटाउने निर्णय सार्वजनिक गरेका थिए । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त कराकासस्थित आफ्ना लगानी रहेका सबै उद्योगहरु बन्द गरिने र कडा नाकाबन्दी लगाउनेसम्मको कुरा सार्वजनिक गरेका थिए । 

तर मादुरोले आफूले नै पहिलो एक्सन गरी ट्रम्पको जवाफ पर्खिरहेका छन् ।