काठमाडौं । सुन तस्करीका नाइके भनी गिरफ्तार गरिएका चूडामणि उप्रेती ‘गोरे’ ले आफू तस्करी गरिएको सुन व्यवस्थापक, त्यो पनि तल्लोतहको, भएको बताएपछि तस्करीका नाइके तथा वर्तमान राज्यसत्ताका चक्रवर्तीहरु निकै अत्तालिन पुगेका छन् । सरकार र सिंगो प्रहरी संयन्त्रलाई गोरेको जीवित उपस्थिति ‘नखाउँ भने दिनभरिको सिकार, खाउँभने कान्छा बाबुको अनुहार’ भएको छ । वर्तमान ओली सरकारभित्र मन्त्रीको जिम्मेवारी हेरफेर गरिने हल्ला चल्न थालेको एक उच्च स्रोतले बताएको छ ।
३३ किलो सुन र सनम हत्याकाण्डको खोजी गर्न छानबिन आयोग बनाइनु स्वयम् उनीहरुका लागि गलपासो साबित भएको छ । ‘मियाँ की जुती मियाँ की शर पर’ भने झैं गोरेलाई पछ्याउँदै जाँदा राज्यका हर्ताकर्ताहरु नै फन्दामा पर्दै जान थालेका छन् । प्रमुख तस्कर र मालिकहरुको नाम ‘लहरो तान्दा पहरो गर्जने’ प्रक्रियासँगै खुलस्त हुँदै आउन थालेको छ भने सहयोग गरेबापत् केवल सहयोग रासी हात थापी खानेहरु देशको शान्तिसुरक्षाको जिम्मा लिएको संस्था नेपाल प्रहरीको मुख्यालयहरुबाट फुत्तफुत्त बाहिर आउन थालेका छन् ।
सुडानको डार्फरमा शान्ति मिसनका लागि गएको बखत भएको भ्रष्टाचारले नेपाल पुलिस जति गन्हाएको थियो, त्यो भन्दा पनि बढि अहिले गन्हाउन पुगेको छ । जनतालाई सिंगो प्रहरी संयन्त्र नै तस्करीको अखडा जस्तो महसुस गराएको छ ।
तस्करीको खोजी गर्नु, तस्करलाई गिरफ्तार गर्नु र देशलाई तस्करीको गिरोहबाट मुक्त पार्नु एक कुशल गृहमन्त्रीको आफ्नो जिम्मेवारी र दायित्व पनि हो । तर गुह्य कुरा भने अर्कै छ । सत्तासीन पार्टीको मुख्यालयमा गृहमन्त्रीको विरुद्ध निकै नै ‘गुप्तगु’ चलिरहेको बताइएको छ । यो काण्डमा पार्टीका हस्तीहरु ‘तानिनु अघि तान्ने’ खुसामद पनि भइरहेको बताइएको छ । स्रोतका अनुसार ‘गोरे’को केस निकै महङ्गो साबित हुँदै गइरहेकाले गृहमन्त्री बादल मन्त्रालयबाट तानिने प्रवल संभावना छ । गृहमन्त्री बादलले ‘मन्त्रीहरु हेरफेर हुन सक्छन्’ भनी सञ्चार माध्यमहरुमा सङ्केत पनि गरिसकेका छन् ।
त्यसैले हेर्न बाँकी छ, यी सबै कामहरु गर्नका लागि गरिएका हुन् या देखाउनका लागि ? पर्दा खुल्दै जाने छ ।