ओखलढुङ्गा । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरणले’ अबको नयाँ क्रान्तिको नेतृत्व आफूहरुले मात्र गर्न सक्ने बताउनुभएको छ । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शुक्रबार ओखलढुङ्गा पुग्नुभएका महासचिव बैद्यले यस्तो बताउनु भएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समिति ओखलढुङ्गाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव बैद्यले माओवादी केन्द्र र एमाले बीचको एकिकरणबाट नेकपा बनेको नभई माओवादीको एमालेमा विलय मात्र भएको उहाँले दावी गर्नुभयो । महासचिव किरणले भन्नुभयो, ‘हिजो जुन सत्ता, धार र व्यबस्थाका विरुद्धमा १० वर्षसम्म सशस्त्र द्वन्द्वमा होमीएको पार्टी आज फेरि त्यसैलाई संरक्षण र सुदृढ गर्न लागि परेको छ । त्यसले नेपाली आम जनतालाई सफलता हैन धोका दिएको छ । नेपालमा क्रान्तिको अझै आवश्यकता छ । त्यसको नेतृत्व अब क्रान्तिकारी माओवादीले गर्छ ।’
महासचिब किरणले भन्नुभयो, ‘बालकृष्ण ढुङ्गेल जस्ता जनयुद्धका योद्धाहरु जेल परिरहेका छन् । हिजो सँगै युद्ध लड्ने साथी जेलको कोठरीमा कोचिएर रहेका छन् । सँगैका साथी प्रधानमन्त्री पनि भए, सभामुख पनि भए । सत्तामा त पटक पटक पुगेकै छन् । यसले गर्दा पनि क्रान्ति सम्पन्नको नाममा अबसरवादीहरु हावी भएको र वास्तविक गणतन्त्र बास्तविक जनताको हातमा आई नसकेको प्रष्ट हुन्छ ।’
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिब बैद्यले नेपालमा संसोधानवादी र अवसरवादी धारको एकीकरण भएकाले अब क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुवीकरण आवश्यक रहको बताउनु भयो । नेपालमा फेरि नयाँ जनवादी क्रान्तिको आवश्यकता रहेको भन्दै नयाँ जनवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने पनि उहाँले बताउनुभयो ।
क्रान्तिकारी युवा लिग, नेपाल १ नं. प्रदेशको आयोजनामा शनिबार युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणको महासचिव किरणले उद्घाटन गर्दै हुनुुहुन्छ । प्रशिक्षण कार्यक्रमका लागि पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पिविएमहरु इन्द्रमोहन सिंग्देल, राम आचार्य, नगेन्द्र राई लगायतका नेताहरु ओखलढुंगा पुग्नुभएको छ ।