क्युबामा भएको विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

क्युबामा भएको विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

एजेन्सी । क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु हुन पुगेको छ । विमान दुर्घटनाबाट विमानमा सवार तीन जना मात्रै बाँच्न सफल भएका छन् । उनीहरूको गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ । बोइङ ७३७ विमान ल्याटिन अमेरिकी मुलुक क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको क्युवाका सरकारी अधिकारीहरूले बताएका छन् ।