काठमाडौं, जेठ ३ । एकान्तकुनास्थित यातायात व्यवस्था विभागअन्तर्गतको कार्यालयले हेभी सवारीको लाइसेन्स बिक्री गर्ने गरेको भेटिएको छ ।
विभाग स्रोतले जनाए अनुसार प्रयोगात्मक परीक्षा नै नलिई कार्यालयले लाइसेन्स वितरण गरेको भेटिएको छ । ट्रायल सेन्टरमा खटिएका ५ जना विभागका इन्जिनियर, ट्राफिक प्रहरीसहितका पाँच अधिकारी यो काममा संलग्न रहेको पाइएको छ ।

उनीहरुले प्रतिलाइसेन्स ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । ट्रायल नदिई लाइसेन्स बिक्री गर्ने गिरोहसँग मिलेर कर्मचारीहरुले यस्तो काम गर्दै आएको आशंका छ ।

यसबारे विभाग आफैंले प्रारम्भिक अनुसन्धान सकेको छ र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पेश गर्ने तयारी छ । विभागले बिहीबार नै ५ कर्मचारीलाई निलम्बन गर्ने जनाएको छ ।

‘वैशाखको ३, ११ र १९ गते झण्डै ३ सय व्यक्तिलाई फर्जी रुपमा हेभी सवारीको लाइसेन्समा पास गराइएको छ,’ विभागका एक अधिकारीले भने, ‘सेवाग्राही भनिएकाले नै हामीले पैसा बुझाएर लाइसेन्स लगेको भनेर स्वीकारेका छन् ।’

यसमा संलग्न कर्मचारीलाई निलम्बन गर्न यातायात मन्त्रालयको सचिवस्तरीय निर्णय आवश्यक रहने अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार