झर्रोटर्रो : कुमाईं राष्ट्रवाद

प्रकाशित मिति : २०७५ बैशाख ३०

- कैलुब्राह

नेपाल मण्डलमा राष्ट्रवादको महिमागान धेरै हुने गर्छ । राष्ट्रवाद पनि चित्र विचित्रका रङ्गीचङ्गी हुँदा रहेछन् । ती मध्य केहीको यहाँ चर्चा गर्नु बडा सान्दर्भिक होला जस्तो लागेको छ । जस्तै पृथ्वी राष्ट्रवाद, अमर–भक्ति राष्ट्रवाद, जङ्गे राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवाद, विपि राष्ट्रवाद, सुरुङयुद्धे राष्ट्रवाद, अन्धभक्ति राष्ट्रवाद, राष्ट्रिय समाजवादी राष्ट्रवाद र कुमाइँ राष्ट्रवाद । यी हुन् नेपाल मण्डलमा प्रयोग भइआएका राष्ट्रवादहरू । यी हरेक राष्ट्रवाद आफ्नो युगमा सशक्त रूपमा प्रयोग भएर खारिएर आएका राष्ट्रवादहरू हुन् । तसर्थ यिनको तदनुसारको महत्व छ । त्यसैले नै यहाँ राष्ट्रवादको महिमागान हुने गरेको हो । यतिखेर नेपाल मण्डलमा प्रयोग भइआएका सामाजिक सञ्जालका भित्ताहरू, खबरकागतका पन्नाहरू, एफएम र टिभीका स्वर र दृष्यहरूमा राष्ट्रवादका विषयमा विभिन्न धारणाहरू आएका छन् ।

अब लागौँ यी राष्ट्रवादले आफ्नो कालखण्डमा के कस्तो भूमिका खेले भन्ने कुराको खोलुवातर्फ ।

पृथ्वी राष्ट्रवाद : यो राष्ट्रवाद निकै पुरानो राष्ट्रवाद हो । यसले बाइसे चौबिसे राज्यहरूलाई एकै ठाउँ जोडेर गोराहरूको हडपवादलाई परास्त ग¥यो । त्यसपछि आपूmलाई देउताअवतार घोषणा गरेर आफ्नै बङ्सले मात्रै रैती मनुखेहरूका पसिना हसुर्ने रिति बसाल्यो । उसको राष्ट्रवादमा कसैले पनि दागा धर्नै नपाउने गरी एउटै भाषा, एउटै संस्कृति, एउटै धर्म र एउटै जात लागू ग¥यो ।

अमर–भक्ति राष्ट्रवाद : यो दोस्रो राष्ट्रवाद हो । यसले गोराहरूको कब्जावादका विरुद्ध डटेर लड्यो । लड्दा लड्दै पृथ्वी राष्ट्रवादको बङ्सले खुट्टा तानेर लडाइदियो । त्यसपछि निरास भएर भाग्यो ।

जङ्गे राष्ट्रवाद : यो राष्ट्रवादले गोराहरूको गुलामी ग¥यो र आफ्ना रैतीहरूलाई गोराको सुरक्षा गर्न र उसको कब्जावादलाई फलाउन फुलाउन आफैजस्ता दिनदुःखीहरूका छातीमा दागा धर्न लगायो । यसरी अरू सानातिना मुलुकहरूलाई निमोठेर गोराहरूमा विलय गर्न पठाएर भाडाका रैती जन्माउने मुलुकको पगरी गुथायो । आफ्ना सन्तानलाई एक सताब्धीसम्म जङ्गे बनायो ।

महेन्द्रीय राष्ट्रवाद :  यो राष्ट्रवाद भनेको आफ्ना बाउले दिल्लीतिरबाट भिख मागेर ल्याएको बहुदलीय तन्त्रलाई कचाककुचुक पारेर खर्लप्पै निल्नु हो । त्यसपछि बहुदलवादीहरू मध्य कसैलाई झ्यालखानामा ठुँसेर, कसैलाई किनेर आफ्नौ हैकम चलाउनु हो । यसले तीस वर्षसम्म आफ्नो बङ्सको हालहुकुम चलायो ।

विपि राष्ट्रवाद : यो राष्ट्रवादको विशेषता भनेको पहिला गर्जिने पछि लत्रिने हो । आपूmलाई सत्तामा पु¥याइदिने प्रभुलाई आफ्नो देशका नदीनाला, जग्गा जमीन कोशेली दिएर सेवा गर्नु पनि यसको धर्म हो । अन्तमा महाराजले लखेट्दा प्रभुको शरण पर्ने र प्रभुले लात्ती हान्दा महाराजसँग घाँटी जोडेर यसले विगतका भन्दा नौलो राष्ट्रवादको विकास गरेको छ ।

सुरुङयुद्धे राष्ट्रवाद : यो राष्ट्रवादका आविष्कारक मिस्टर सुप्रिमो हुन् । यो राष्ट्रवादले छिमेकीसँग सुरुङयुद्ध लड्ने ध्वाँस देखाएर बहादुर बनेको नाटक गर्दै आफ्ना अनुयाइहरूलाई मुर्ख बनाउँछ । कुर्चीका लागि प्रभुका अगाडि लम्पसार पर्छ । यसलाई लम्पसारवादी राष्ट्रवाद पनि भनिन्छ । कुर्चीमा नपुगुञ्जेल विगतका राष्ट्रवादले प्रभुलाई बुझाएका कोशेलीको विरोध गर्न लगाएर रैतीहरूलाई सडकमा ओराल्छ । कुर्चीमा उक्लेपछि बाँकीटाँकी नदीनाला, जग्गा जमीन पनि बुझाउँछ र प्रभुका बुट आफ्नो मुलुकमा परेड खेल्न लगाउँछ । यसले रोटीबेटीको साइनो लगाएर प्रभुको चाकडी गर्छ ।

अन्धभक्ति राष्ट्रवाद : यो राष्ट्रवाद भनेको पञ्चप्रेतहरूले गायत्री मन्त्रझैँ जप्ने राष्ट्रवाद हो । यसको विशेषता भनेको प्रभुहरूकै हण्डी खाएर उसैको विरोध गरेको देखाएर रैतीहरूलाई मुर्ख बनाउने राष्ट्रवाद हो । यसको उद्धेश्य भनेको भुत, प्रेत र पिचासहरू ब्युँताएर फेरी पनि मसानहरूको शासन चलाउने हो । यसले पनि आफ्नो सत्ता आउने भएपछि आफ्ना मुलुकका सिरिखुरी बुझाउन तयार हुन्छ ।

राष्ट्रिय समाजवादी राष्ट्रवाद : यसलाई नेपाली लिनप्याओवादी राष्ट्रवाद पनि भनिन्छ । यसले सुप्रिमोपथसँग जुध्न नसकेपछि अरूको बैशाखी टेकेर सुप्रिमोलाई लालगद्दार र दलाल भन्दै डुक्रिन्छ । पछि आफ्नो जीवन सँधैभरी अभाव र समस्यामा पर्ने भएपछि कुर्चीको ¥याल काड्दै बैशाखी भाँचेर प्रभुका शरणमा लम्पसार पर्न जान्छ । पछि आफैलाई सहारा दिने बैशाखीलाई आतङ्कारी भन्दै सत्ताको डण्डा लगाएर आफ्ना दौँतरीहरूलाई झ्यालखानामा कोचेर प्रभुको सेवक बन्छ ।

कुमाइँ राष्ट्रवाद : यो राष्ट्रवाद नेपाल मण्डलको पछिल्लो अवधीको राष्ट्रवाद हो । अहिले नेपाल मण्डलमा यसैको राइँदाइँ छ । यो राष्ट्रवादको विशेषता भनेको भित्रभित्रै प्रभुको सेवा गर्ने र बाहिर राष्ट्रवादको पगरी गुथेर भोट असुल्ने हो । लङ्गडो कुर्चीमा बसेको बेला राष्ट्रवादको हुङ्कार देखाएर भोट बटुल्ने र बलियो कुर्ची फेला परेपछि प्रभुको साक्षात दर्शन गर्ने र मुलुकका बचेखुचेका सम्पत्ती भेटी चढाएर लम्पसार पर्दै पूरै आयु कुर्चीमा टाँस्सिने बरदान माग्ने राष्ट्रवादलाई कुमाइँ राष्ट्रवाद भनिन्छ । यसले राष्ट्रवादको ढोँग देखाएर फासिवाद लागू गर्ने भएकाले यसलाई ढोँगी राष्ट्रवाद भनिन्छ । यो पाखण्डी र नक्कली राष्ट्रवाद हो ।

अहिलेको मौसम कुमाइँ राष्ट्रवादको हो । यो युग पनि यही राष्ट्रवादले एकछत्र शासन गर्ने युग हो । यहाँ अरू कुनै राष्ट्रवादको गुञ्जायस छैन । यदि कसैले कुमाइँ राष्ट्रवादका बिरूद्ध दागा धर्छ भने त्यसको सातपुस्तासम्म पनि जरोकिलो नगाडिने गरी नेस्तनाबुद गर्ने कुमाइँ राष्ट्रवादले अठोट लिँदै प्रभुसँग बाचा गरेको छ ।

यसरी नेपाल मण्डलमा विभिन्न प्रकारका राष्ट्रवादको उदय र अस्त हुने गरेको छ । युग अनुसार नयाँ नयाँ राष्ट्रवादहरू जन्मिने मुलुक भएकाले पनि पृथ्वी मण्डलमै यसको निकै चर्चा परिचर्चा हुने गर्छ । त्यसैले यतिवेला नेपाल मण्डलका बडेबडे अखबारहरू र रेडियो टिभिहरूले कुमाइँ राष्ट्रवादको जयगान गरिहेका छन् । केही सानातिना अखबार र खबर सञ्जालहरू तथा केही सामाजिक सञ्जालका भित्ताहरूमा सानातिना मुख भएका मनुखेहरूबाट मात्र कुमाइँ राष्ट्रवादको विरोध भएको छ । त्यसरी विरोध गर्ने दलका मनुखेहरूलाई कुमाइँ राष्ट्रवादले ठाउँका ठाउँ पकडेर झ्यालखानामा ठुँसेर प्रभुको स्वामीभक्तिमा लीन भएको छ ।
२९ बैशाख २०७५