मोदी दिल्ली उडेको ३ घण्टापछि रिहा

मोदी दिल्ली उडेको ३ घण्टापछि रिहा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, राष्ट्रघाती अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध शनिबार पूर्वघोषित कार्यक्रम अनुसार जुलुश प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी देशैभर नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका नेता कार्यकर्तालाई मोदी दिल्ली उडेको ३ घण्टापछि मात्र रिहा गरिएको थियो ।

प्राप्त जानकारी अनुसार विरोध जुलुस तथा प्रदर्शनको क्रममा काठमाडौंको रत्नपार्कबाट पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सपी गजुरेल, पी.वि.एम.द्वय कमल चौधरी तथा पवनमान श्रेष्ठ, सिसिएम सुरेश श्रेष्ठ, शारदा महत, रमेश पौडेल, खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, टेकबहादुर विक, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी, सुरेन्द्र राई, मधु राई, जितबहादुर लामा, सुमित्रा न्यौपाने, अर्जुनलाल श्रेष्ठ, प्रेम तामाङ, नमस्ते सायमी, कर्ण विसी, मंगल तामाङ, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान, बद्रहरि नेपाल, दीलबहादुर तामाङ, सुरेश तामाङ, फडिन्द्र कार्की, बालकुमार सुनारसहित २९ जनालाई गिरफ्तार गरेर राखिएको प्रहरी कार्यालयबाट बेलुका सात बजे रिहा गरियो ।

यसैगरी शुक्रबार काठमाडौंको असनमा अवस्थित नेकपा (क्रान्तिकारी) को जिल्ला कार्यालयबाट पार्टीका केन्द्रिय समिति सदस्यद्वय अमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य गोर्की श्रेष्ठलगायत ६ जनालाई विशालबजारको जनसेवा प्रहरी कार्यालयबाट र अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिववालय सदस्य तथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहालसहित ९ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राखिएको कीर्तिपुर प्रहरी कार्यालय परिसरबाट बेलुकै छाडिएको छ ।

त्यसैगरी बुटवलमा शनिबार विरोध प्रदर्शनको क्रममा क्रान्तिकारी माओवादीका पिविएम तथा देजमो ५ नं. प्रदेश संयोजक केवी गुरुङ, प्रेम रिमाल र समाचार संकलनको लागि गएका पत्रकार रवि पाण्डेलाई गिरफ्तार गरेको थियो । बुटवल प्रहरी कार्यालयले साँझपख उहाँहरुलाई रिहा गरेको छ ।

उता नेपालगञ्जमा पनि विरोध जुलुस र प्रदर्शनको क्रममा गिरफ्तारमा परेका बाँकेका पार्टी सेक्रेटरी अर्जुन, भूकम्प, विराट, विशाल शाही र कैलालीमा देजमोका ७ नं. प्रदेश संयोजक रामबहादुर केसी, टंक कोइराला र केशव साउदललाई पनि साँझपख छोडिएको हाम्रा सहकर्मी धनञ्जय अवस्थिले जनाउनु भएको छ ।

शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमाथि भएको यो हस्तक्षेप र गिरफ्तारीलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गर्दै एकातिर भारतीय विस्तारवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिंदै आएको हस्तक्षेपको अत्यन्तै भद्दा नमूना भएको र अर्कोतिर आफूलाई देशभक्त, वाम तथा कम्युनिस्ट भनाउने ओली सरकारको निकृष्ट दलाली तथा राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण भएको जनाउनु भएको छ । उहाँले सरकारको यो कदमलाई जनताको विरोध प्रदर्शन गर्ने मौलिक अधिकारलाई कुल्चने घोर फासीवादी क्रियाकलाप भन्नुभएको छ ।