
काठमाण्डौ । भारतीय शासकहरुले नेपालमाथि हुँदै आइरहेको हस्तक्षेप, दमन, उत्पीडनको विरुद्ध अनसनरत रहेका विद्यार्थी नेताहरुको गिरफ्तारीकोे घोर भत्सर्ना गर्दै उनीहरुको तत्काल रिहाईको माग अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कार्यालय सचिव सिलु न्यौपानेले एक विज्ञप्ति निकाल्दै छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राजनैतिक र पारम्परिक कुटनैतिक मर्यादा विपरित नेपालमाथि राजनैतिक हस्तक्षेपलाई अझै घनिभूत पार्न र यहाँका शासकहरुलाई कठपुतली बनाई राख्ने उद्देश्यले भएको उक्त भ्रमणको घोर विरोध गर्दै विद्यार्थी नेताहरु शान्तिपूर्ण आन्दोलनमा उत्रेको उल्लेख गरिएको छ ।
सामाजिक, सांस्कृतिक, आर्थिक, सामरिक तथा भौगोलिक (सीमा अतिक्रमण) अतिक्रमण, हस्तक्षेप भारतीय शासकहरुले थोपरेर नेपालको अस्मिता, स्वाधिनता, सार्वभौमिकता लुटिरहँदा पनि नेपालका शासकहरुको धोकाधडी र लम्पसारवादी प्रवृत्तिको कारण मुलुक पराधिनताको पराकाष्ठामा पुगेको बेला नेपाली स्वाभिमानको लागि तिनीहरुका विरुद्ध विद्यार्थीहरु शान्तिपूर्ण संघर्ष अगाडि बढाइएको बताइएको छ ।

अनेरास्ववियु (क्रान्तिकार) काठमाण्डौ जिल्ला समितिको आयोजना तथा त्रिभुवन विश्वविद्यालय समितिको समन्वयमा आयोजित विरोध कार्यक्रम अन्तर्गत ३६ घण्टे रिले अनसनमा विद्यार्थी नेताहरु बसेका थिए । सरकारले अनसन बसिरहेकै ठाउँबाट अखिल (क्रान्तिकारी)का काठमाण्डौ जिल्ला अध्यक्ष महेश श्रेष्ठ लगायत नेताहरु जितेन्द्र लम्साल, संघर्ष दाहल, विनोद केसी, मनोविज्ञान शर्मा, कपिल देव भट्ट, हेमराज शर्मा, सुरज आचार्यहरुलाई प्रहरी प्रशासनले दमनपूर्वक गिरफ्तार गरिएको थियो ।





























