क्रान्तिकारी माओवादीको पार्टी कार्यालयमा प्रहरी हस्तक्षेप, क्रान्तिकारी युवा लिगका अध्यक्षसहित ६ जना गिरफ्तार

क्रान्तिकारी माओवादीको पार्टी कार्यालयमा प्रहरी हस्तक्षेप, क्रान्तिकारी युवा लिगका अध्यक्षसहित ६ जना गिरफ्तार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को पार्टी कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । पार्टी कार्यालयमा बसिरहेको अवस्थामा विनाकारण प्रहरीले क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन आकाश सहित ६ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्ने अन्य नेताहरुमा पार्टी केस हरिकृष्ण गजुरेल, नेता गोर्की श्रेष्ठ, बोधराज श्रेष्ठ, विकास तामाङ र प्रकाशचन्द्र ढकाललाई पक्राउ गरेको छ भने पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएम पवनमान श्रेष्ठ, पार्टी केस सुरेश श्रेष्ठ, शारदा महतलगायत नेताहरुलाई गिरफ्तार गर्न प्रहरीले वलप्रयोग गर्न खोजिरहेको केस श्रेष्ठले जानकारी दिनुभयो । गिरफ्तार गरिएका नेताहरुलाई प्रहरी सेवा विशालबजारमा राखिएको छ । 

काठमाडौंको असनमा रहेको क्रान्तिकारी माओवादीको जिल्ला पार्टी कार्यालयमा नेताहरु नियमित छलफलमा बसिरहेको अवस्थामा विना कारण हस्तक्षेप गर्ने र नेताहरुलाई गिरफ्तार गरेर ओली सरकारले राज्यआतंक फैलाउन खोजेको नेताहरुले प्रतिक्रिया दिएका छन् । अहिले क्रान्तिकारी माओवादीको उक्त पार्टी कार्यालयलाई प्रहरीले घेरा हालेर राखेको छ । 

क्रान्तिकारी माओवादीले मोदीको नेपाल भ्रमण राष्ट्रघातको श्रृंखलाको रुपमा भएको भन्दै चर्को विरोध गर्दै आएको छ । अरुण तेस्रो, कोशी उच्चबाँधलगायत भारतसँग गरिएका असमान सन्धिसम्झौताहरुको खारेजीको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ । क्रान्तिकारी माओवादीले मोदीको भ्रमणको विरोधमा भोली अर्थात् २९ गते शनिबार देशव्यापी रुपमा विरोध कार्यक्रम राखेको छ ।