ओलीले देशलाई सिक्किमीकरण गर्न मोदीलाई सहयोग पु¥याउँदैछन् : सीपी गजुरेल

ओलीले देशलाई सिक्किमीकरण गर्न मोदीलाई सहयोग पु¥याउँदैछन् : सीपी गजुरेल

१. मोदीको यो तेस्रो नेपाल भ्रमणलाई लिएर अहिले देश विरोध र समर्थनमा विभाजित हुन पुगेको छ । मोदीको यो भ्रमणलाई क्रान्तिकारी माओवादी अर्थात् देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कसरी लिएको छ ?

–ओली सरकारले मोदीको यो भ्रमण धार्मिक उद्देश्यमा आधारित रहेको भनिए पनि भित्री उद्देश्य चाहिं एकातिर अरुण तेस्रोको शिलान्यास गर्नु रहेछ भने अर्कोतिर मोदीले नेपालमा नाकाबन्दी लगाउँदा उनलाई नेपाली जनताले घृणा गरेका थिए, उनी नेपाली जनताको एकदमै घृणित पात्र बनेका थिए, त्यो पापबाट अलिकति भएपनि चोखिन सकिन्छ कि भन्ने रहेछ । मोदीका दलालहरुले यो भ्रमणमा जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गरेर उनलाई चोख्याउन खोजिरहेका छन् । मोदीको यो भ्रमण भारतले नेपालमाथि अझै बढी हस्तक्षेप बढाउन खोजीरहेको छ भन्ने संकेत पनि हो । अहिले मिडियामा आएअनुसार ८६ जना सशस्त्र सैन्य कमान्डो फोर्ससहित उनी आउने भएका छन् । ती मध्ये ६६ जना भारतीय सेनाका सशस्त्र फौजले अहिले नेपालमा परेड खेलिरहेको छ । यसरी आफ्नै देशको सशस्त्र सेनाको फौज लिएर कुनै पनि प्रधानमन्त्रीले अर्को देशको भ्रमण गर्दैनन् । कुनै पनि देशको प्रधानमन्त्रीको सुरक्षाको जिम्मा भ्रमण गरिने देशले लिने गरेको हुन्छ । यसरी मोदी सशस्त्र सैन्य फौजसहित नेपाल भ्रमणमा आउनु भनेको एकातिर नेपालको सुरक्षा क्षमतामाथिको गम्भीर अविश्वास, राष्ट्रप्रतिको अपमान र हस्तक्षेप हो भने अर्कोतिर हामीले जुनसुकै बेला पनि नेपालमाथि हस्तक्षेप गर्न सक्छौं भन्ने संकेत र सन्देश दिन खोजिएको पनि हो । समग्रमा हेर्दा मोदीको नेपाल भ्रमण नेपालको राष्ट्रिय स्वाधीनतामाथिको गम्भीर खतरा हो । देशभक्त नेपालीहरुले एकजुट भएर यसको विरोध गर्नुपर्छ ।

२. यस्तो अवस्थामा पनि मूल प्रवाहमा रहेका राष्ट्रिय पार्टी भनिएका संसदवादी पार्टीहरुभित्र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज नउठ्नु भनेको त अझ गम्भीर स्थिति हैन र ?

–मूल प्रवाहका राष्ट्रिय पार्टी भनिनेहरुले भ्रमणको विरोध गरेको देखिएन । मधेशी दलहरुले नागरिक अभिनन्दनका लागि उर्दी नै जारी गरेका छन् । एमाले र माके सरकारमा छन्, उनीहरु त यो भ्रमणको मुख्य योजनाकारहरु नै भैहाले । नेपाली कांग्रेस प्रतिपक्षमा भएकाले उसले विरोध गर्नुपर्ने तर उ भारतपरस्त शक्ति भएकोले उसको पनि विरोधको स्वर देखिएन । विरोध गर्नेमा मुख्यतः हाम्रो पार्टी मात्र देखिएको छ । हाम्रो पार्टीसम्बद्ध देजमो, अन्य जबस मोर्चाहरुले देशव्यापी रुपमा अहिले विरोध गरिरहेका छन् । केही नागरिक अगुवाहरुको पनि विरोध देखिन्छ तर उनीहरुको विरोध पनि अचम्मको छ । उनीहरुको माग के छ भने मोदीलाई अभिनन्दन गर्दा चाहि ठीकै हुन्छ, तर यसलाई नागरिक अभिनन्दन चाहिँ भन्नु हुँदैन । नागरिक शब्द त्यहाँबाट झिकिदिए पनि ठीक हुन्छ भन्ने तर्क गर्छन् । यो पनि कहिं विरोध हो र ?
स्वाभिमानी नेपाली जनतालाई मोदीको यो भ्रमण मन परेको छैन । सोसल मिडियाहरुमा मादी भ्रमणको आलोचना भइरहेको छ । तर जनता अहिले सडकमा उत्रने अथवा त्यो विरोधलाई आन्दोलनको रुप दिने अवस्थामा जनता पुगेका छैनन् । देशभक्त र क्रान्तिकारी शक्तिको कमजोर स्थितिको फाइदा उठाउँदै राष्ट्रघात हुने गरेको छ ।

३. भनेपछि ओली र ओली नेतृत्वको राष्ट्रवादको नारा अवसरवादी र खाक्रो रहेछ ?

–ओलीको जुन राष्ट्रवाद थियो, त्यो अवसरवादी र खाक्रो रहेछ भन्ने उनैले पुष्टि गरे । मोदीको भ्रमणसम्म आइपुग्दा ओलीको राष्ट्रवाद सकिएको छ । ओली अब एउटा राष्ट्रवादी नेताको छैनन् । जनसर्वसाधारणले पनि ओली राष्ट्रघाती हुन् भनेर चित्रण गरिराखेका छन्, बुझी राखेका छन् । आम जनताले ओली धोकेवाज रहेछन् भन्न थालेका छन् । चुनाव जित्न मात्र राष्ट्रवादको प्रचार गरिएको रहेछ भन्न थालेका छन् । कतिपयले त नाकाबन्दीको बेलामा ओलीले लिएको राष्ट्रवादको अडान पनि मोदीकै सल्लाहमा लिएका रहेछन् भनेर लेख्न बोल्न थालेका छन् । अरुण तेस्रोको संयुक्त रुपमा शिलान्यास गर्नु, विदेशी पाहुना आउँदा खेरी आफ्नो देशको सेना लिएर आउने चलन बसाउनु, विगतमै नभएको परम्परा जस्तै उनी जनकपुरमै ओलीलाई लिन पुग्नु आदि गतिविधिले राष्ट्रकै अपमान हुन पुगेको छ । यसरी ओलीको राष्ट्रवाद नाङ्गेझार हुन पुगेको छ । वास्तवमा ओली राष्ट्रवादी होइनन् भन्ने कुरा पुष्टि भएको छ ।

४. राष्ट्रघाती सन्धिसम्झौता कार्यान्वयन अर्थात् अरुण तेस्रो, कोशी उच्च बाँध मात्र होइन, भारतीय दूतावासले सिधै पाँच करोडसम्मका योजनामा लगानी गर्न दिने सम्झौता पनि ओलीले गरेका छन् नि ?

–यो एउटा थप ठूलो राष्ट्रघात हो र नेपाललाई सिक्किमीकरण गर्न ढोका खोल्ने बाटो हो यो । किनभने दूतावासले खुलेआम पैसा वितरण गर्न थालेपछि सरकारलाई नै थाहा हुँदैन । सरकारी निकायहरुलाई अब थाहा दिनै परेन । कहाँ लगानी गर्छ भारतले, कति पैसा बाँड्छ भन्ने सरकारलाई नै थाहा नहुने भएपछि यो सिक्किमीकरण गर्नको निम्ति ढोका खोल्ने काम गरिएको छ । यो पनि ओलीकै पालामा आएर भयो । एउटा स्वतन्त्र हैसियत भएको देशले सार्वभौमसत्ता सम्पन्न देशको अधिकार कसैले कहिले पनि यसरी अरुलाई दिंदैन । यस्ता धेरै राष्ट्रघाती कामहरु चाहिँ ओली भएकै बेलामा हुने खतरा छ र ओलीले यसरी देशलाई सिक्किमीकरण गर्न सहयोग पु¥याउँदै गएका छन् ।

५. राष्ट्रियतामाथि यति ठूलो खतराको बादल मडारिरहेको बेला चार वाम किन एक ठाउँमा उभिएर कार्यक्रम दिन सकेनन् ?

–कार्यगत एकता जारी रहेको समयमा खास गरेर मसालको तर्फबाट त्यसलाई स्थगित गरियो । अरु तीन पक्षको त स्थगित भएको छैन तर यही मुद्दामा अरु साथीहरुले खासै दिलचस्पी देखाउनु भएको छैन । संयुक्त रुपमा कार्यक्रमहरु गरेर जाउँ भन्ने खालको कुराहरु भयो । तर त्यो सम्भव नभएपछि एकतर्फी रुपमा हाम्रो पार्टी, देजमो र जबस मोर्चाहरुले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । अरु पक्षले त्यति रुचि नदेखाएपछि हामी चुप लागेर बस्ने कुरा भएन । तर चार पार्टीमा भएकाहरुमध्ये कसैले पनि मोदीको भ्रमण ठीक छ भनेर चाहिँ भनेका छैनन् । तर सडकमा नै उत्रिने र अलिकति सशक्त ढंगबाट जाने खालका कार्यक्रम चाहिं हुन सकेनन् ।

६. तपाईहरुले विरोध चाहिं के कस्ता कार्यक्रम गरेर गर्दै हुनुहुन्छ ?

–हामीले जनतालाई राष्ट्रिय स्वाधीनताको पक्षमा सचेत गराउने, राष्ट्रघातको विरोध गर्ने, ¥याली, सभा, अन्तक्र्रिया गर्नेलगायतका कार्यक्रमहरु गर्ने तयारी गरेका छौं । प्रत्येक प्रदेशमा आफ्नो सापेक्षतामा फरक फरक कार्यक्रमसहित हामीले मोदीको भ्रमणको विरोध गर्ने तय गरेका छौं । अहिले हाम्रो आत्मगत स्थिति कमजोर भएपनि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको छ क्रान्तिको लागि । हामीले भ्रमणलाई नै रोक्न सक्ने स्थिति भएचाहिं रोकिदिने थियौं तर अहिले हाम्रो त्यो स्थिति छैन । जनताको सही स्थितिको जानकारी गराउने, जनतालाई आन्दोलित गर्न कोशिस गर्ने कार्यक्रमसहित हालै सम्पन्न हाम्रो पार्टीको स्थायी समितिको बैठकले सातैवटा प्रदेशमा विरोध कार्यक्रम गर्ने भन्ने निर्णय गरेको छ ।

७. देशभक्त जनताको नाममा एकजुट भएर विरोधमा उत्रन अपील पनि गर्नुभएको छ । जनताले त्यो अपील कुन रुपमा लिएको पाउनु भएको छ ?

–निष्पक्ष जनता, जो कुनै खास राष्ट्रघाती पार्टीको पछाडि लागेका छैनन्, स्वतन्त्र मान्छेहरु छन्, उनीहरुलाई हामीहरुले गरेको आह्वानले थोरै न थोरै प्रभाव भने निश्चय नै पारेको छ । उनीहरु हाम्रो आह्वानमा सडकमै उत्रिने अवस्थामा त छैनन् तर यो ठीक बोलेको हो, यो भनाई ठीक हो भन्नेमा चाहिँ छन् । हाम्रो अपीललाई जनताले सकारात्मक रुपमा लिएको पाएका छौं । तर मूलधारका भनिएका मिडियाहरुले हाम्रो अपील÷आव्हानलाई ब्ल्याक आउट गरेका छन्, उनीहरु एकदम नियोजित भूमिकामा प्रस्तुत हुँदै आएका छन् । मिडियाले चौथो अंगको भूमिका खेल्न सकेको छैन । मिडिया अहिले देश र जनता, सत्य र न्यायको पक्षमा भन्दा पनि सत्ता र शक्तिको पछाडि दौडिरहेको छ । यसले सत्ता र शक्तिको एउटा टुल्सको रुपमा भूमिका खेलिराखेको छ । जनपक्षीय खबरहरु हुन्छन् तर उनीहरुले त्यो छाप्दै छाप्दैनन्, प्रशारण नै गर्दैनन् । थोरैले मात्र दिईराखेका छन् । मूलधारका त्यसमा पनि बिग हाउसहरुले त यस्ता समाचारहरुलाई ठाउँ नै दिंदैनन् । विगत जनआन्दोलनको बेला जनताबाट पाएको सम्मान र विश्वास अहिले मिडियाले पाउन सकेको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरु विकराल अवस्थामा हुँदा पनि यससँग सम्बन्धित समाचारहरुले मिडियामा स्थान पाउन सकेका छैनन् ।

८. मधेश अर्थात् २ नं. प्रदेशमा मोदीको अस्वभाविक रुपमा भव्य स्वागत गरिदैछ, मोदीको यो भ्रमण त मधेशी जनताकै हितप्रतिकूल छ नि होइन ?

–हो, यो भ्रमण मधेशी जनताकोहीत प्रतिकूल छ । मधेशको सबभन्दा ठूलो समस्या के हो भने जनतामा राजनीतिक चेतनाको कमी छ । जनतालाई जुन शक्तिले उत्पीडन गरिराखेको छ, त्यसैको पुजा गर्ने त्यहाँका राजनीतिक पार्टीहरु छन् । उनीहरु त्यसैमा विभाजित छन् । उनीहरु क्षणिक सुविधाको पछाडि दौडिराखेको छन् । मधेशको जनताको राजनीतिक चेतनाको जुन कमी हो, त्यसलाई त्यहाँका शासक वर्गहरुले, भारतीय दलालहरुले नराम्रोसँग दुरुपयोग गरिराखेका छन् । उनीहरुको कमजोरीलाई नै उनीहरुले मुख्य हतियार बनाइराखेका छन् र मधेशको मुख्य समस्या नै यही हो । अन्यथा प्रत्यक्ष रुपमा जनताले भारतीय उत्पीडनको शिकार उनीहरु नै बनीराखेका छन् । नेपालको २६ वटा जिल्लाहरु भारतसँगको सीमानामा जोडिएका छन् । सीमामा भारतले ६० हजार एकड जमिन मिचेको छ । त्यहींका जनता बढी उत्पीडनमा परेका छन् ।