‘मोदीलाई ‘अरुण तेस्रो’को शिलान्यास गर्न दिनुहुँदैन, कालोमसो दलेर लखेट्नु पर्छ’

‘मोदीलाई ‘अरुण तेस्रो’को शिलान्यास गर्न दिनुहुँदैन, कालोमसो दलेर लखेट्नु पर्छ’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले मुलुकमा राष्ट्रवादको नाममा राष्ट्रघाती तत्वहरु हावी भएको भन्दै अरुण तेस्रोको शिलान्यास गर्न नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्यास गर्न दिन नहुने र उनलाई कालोमसो दलेर स्वाभीमानी नेपालीहरुले लखेट्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

ओली र प्रचण्डको राष्ट्रघाती चरित्रको चर्चा गर्दै अध्यक्ष गजुरेलले विगतका सबै राष्ट्रघाती सन्धिसम्झौताहरु अक्षरशः कार्यान्वयन गर्ने बाचा गरेर दिल्लीबाट फर्केका ओलीले मोदीको हातबाट अरुण तेस्रोको शिलान्यास गराउन खोजेर गम्भीर राष्ट्रघात गरेको टिप्पणी गर्नुभयो ।

पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले आयोजना गरेको १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवससम्बन्धी सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले रुस र चीनले महेन्द्रको पालामा स्थापना गरिदिएका राज्यको स्वामित्वमा रहेका उद्योगधन्दा, कलकारखानाहरु दलाल शासकहरुले गुन्द्रुकको मूल्यमा भारतीय दलाल तथा नोकरशाही पुँजीपतिहरुलाई बेचेर खाएको आरोप लगाउनु भयो । उहाँले उद्योगधन्दा बेचेपछि अब नागरिकलाई विदेशमा बेचेर रेमिट्यान्सबाट देश चलाउन थालेका दलाल शासकहरुले भारतीय दलाल तथा नोकरशाही पुँजीपतिहरुलाई खुशी पार्न ‘नो वर्क नो पे’लगायत मजदुर विरोधी कानुन बनाएको दावी गर्नुभयो ।

पञ्चायतले समेत लागू गर्न नसकेको ‘नो वर्क नो पे’जस्तो मजदुर विरोधी कानुन बनाएर एमाले माकेलगायतका पार्टीहरुले उनीहरु मजदुर, किसानको पक्षधर अर्थात् वाम वा कम्युनिष्ट नभएर सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको रक्षाकवच भएको आफैले पुष्टि गरेको अध्यक्ष गजुरेलले दावी गर्नुभयो ।

कम्युनिष्ट वा वामको नाममा वास्तविक कम्युनिष्ट क्रान्तिकारी शक्तिलाई सिध्याउन एमाले र माकेहरुलाई प्रतिक्रियावादी वर्गले प्रयोग गरिरहेको विश्लेषण गर्दै अध्यक्ष गजुरेलले संशोधनवादी र अवसरवादीहरु जति चाँडो मिल्छन्, त्यति नै क्रान्तिकारीहरुका लागि राम्रो हुने पनि बताउनु भयो ।

नयाँ जनवादी क्रान्तिसँगै मजदुर वर्गको पनि हक, हित र अधिकार अभिन्न रुपले जोडिएको छ भन्दै अध्यक्ष गजुरेलले अब आम श्रमिक मजदुरहरु एकताबद्ध भएर मजदुरविरोधी शक्तिको पहिचान गरी तिनीहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता आएको विचार राख्नुभयो । र, नयाँ जनवादी क्रान्तिको तयारीमा मजदुर वर्गले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि आवश्यकता औल्याउनु भयो ।

सभालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले मजदुरमाथि भइरहेको शोषणलाई उन्मूलन गर्न सच्चा कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिको आवश्यकता पर्ने विचार प्रस्तुत गर्नुभयो । उहाँले मजदुर विरोधी कानुन बनाउनेहरु कम्युनिष्ट हुन नसक्ने भन्दै एमाले र माकेहरु कम्युनिष्ट खोल ओढेका मजदुर वर्गका दुश्मन भएको दावी गर्नुभयो ।

मजदुर वर्गभित्रै अभिजात वर्ग जन्माएर मजदुरमाथि शोषण गर्ने तरिका पुँजीपतिहरुले अपनाउने गरेको भन्दै नेता श्रीसले एमालेको जिफण्ट, काग्रेसको ट्रेड युनियन कांग्रेस र माकेको ट्रेड युनियन महासंघजस्ता संगठनले मालिकहरुको हित हुने जदुरविरोधी कानुन बनाउन भूमिका खेलेको हुनाले तिनीहरु वास्तविक मजदुरवर्गको दुश्मन शक्ति भएको पनि दावी गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै पार्टी पिविएम तथा देजमोका ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठले अधिकारका निम्ति संघर्ष अनिवार्य भएको भन्दै मजदुरहरुलाई संगठित भएर संघर्षको प्रक्रियामा अगाडि बढ्न शुभकामना दिनुभयो ।

ललितपुरको कुपण्डोलमा भएको उक्त सभाअघि मजदुरहरुले सुन्धरादेखि कुपण्डोलसम्म नाराजुलुसहितको ¥याली निकालेका थिए ।