लमजुङ, वैशाख १३ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । बिहीबार प्रहरीले लमजुङको दूधपोखरी गाउँपालिका–१, का वडा सदस्य भरतप्रसाद भट्टराईलाई पक्राउ गरिको हो ।
भट्टराईलाई दूधपोखरी गाउँपालिका–१ दूधपोखरी माझीबारीस्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । डीएसपी पदमबहादुर विष्टका अनुसार बिहीबार नै उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको र शुक्रबार जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला अदालतले उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो । स्रोतका अनुसार उनलाई स्थानीय तहको निर्वाचनअघि जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला सुनाएको थियो । प्रहरीले उनको फैसलाको एकीन मिति भनेको छैन । अदालतले उनलाई फरार अभियुक्तको सूचीमा रहेको जानकारी दिएपछि प्रहरी उनलाई पक्राउ गर्न १ दिनको बाटो दूधपोखरी माझीबारी पुगेको थियो ।
प्रहरीले पक्राउ गरेका जनप्रतिनिधि वडा सदस्य भट्टराई दूधपोखरी गाउँपालिका–२, बिचौरस्थित बागिश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष तथा कांग्रेसका स्थानीय नेता समेत हुन् । गाउँमा उनले अन्य व्यक्तिलाई पनि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको र उनी पक्राउ परेसँगै अन्य पीडित पनि थप मुद्दा लिएर प्रहरीकोमा आउने तयारी गरेको एक स्थानीयले बताए ।