कर र भ्याट तिर्न ८७ कम्पनीलाई १५ दिने अल्टिमेटम

कर र भ्याट तिर्न ८७ कम्पनीलाई १५ दिने अल्टिमेटम

काठमाडौं, वैशाख ११ । सरकारले समयमै कर दाखिला नगर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ८७ कम्पनी र सञ्चालकको नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

आन्तरिक राजस्व कार्यालयले बक्यौता कर तिर्न ताकेता गर्दै ८७ कम्पनीको नाममा सूचना जारी गरेको हो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ कम्पनी र महेन्द्रनगरले ५५ कम्पनीलाई बक्यौता कर तिर्न सार्वजनिक सूचना जारी गरेका छन् । सूचनाअनुसार आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ वटा कम्पनी र त्यसका सञ्चालकलाई बक्यौता कर दाखिला गर्न ७ दिने अल्टिमेटम दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दे राजस्व कार्यालयले तोकिएको समयभित्र कर दाखिला नगरेमा सूचिकृत कम्पनी तथा सञ्चालकको बैंक खाता रोक्का गर्ने, नेपाल बाहिर जान र आयात निर्यातमा रोक्का गर्ने चेतावनीसमेत दिएको छ ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने ५५ कम्पनीका सञ्चालकलाई आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले १५ दिनभित्र बक्यौता दाखिला गर्न सूचना प्रकाशित गरेको छ । पटक–पटक सम्पर्क गर्दा पनि बक्यौता दाखिला नगरेको भन्दै सोमबार सार्वजनिक सूचनामार्फत बक्यौता रकम तिर्न राजस्व कार्यालय महेन्द्रनगरले १५ दिनको अल्टिमेटम दिएको हो । तोकिएको समयमा भ्याट नबुझाए मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) बमोजिमको प्रक्रिया अपनाइ असुलउपर गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ ।