कञ्चनपुर । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत हुनेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।
सोमबार मात्र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महाकाली व्यूरो सदस्य दिपक ओझाले एक प्रेस वक्तव्य जारी गर्दै नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेको जनाउनु भएको छ । नेकपासँग प्रष्ट विचार र कार्यदिशा सही नभएको र नयाँ जनवादी क्रान्तिबाट विचलित हुन पुगेकोले उक्त पार्टीबाट क्रान्ति नहुने ठहर गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेको ओझाले जारी गरेको वक्तव्यमा भनिएको छ, “सम्पूर्ण इमान्दार नेता कार्यकर्तालाई नयाँ जनवादी क्रान्तिका लागि यही धारामा समाहित हुन सादर अपील गर्दछु ।’
ओझालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रतीक र पार्टी पिविएम अटलले पार्टी प्रवेश गराउनु भएको थियो ।
यसैबीच, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सिपी जोशी र प्रदेश सदस्य आरसी पाण्डे नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत हुनुभएको छ । उहाँहरुलाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रतीक र पार्टी पिविएम तथा ७ नं. प्रदेश सचिव अटलले अवीर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
जोशी र पाण्डेले एक वक्तव्य जारी गर्दै प्रचण्ड गुटमा गएर मातृका यादवले पार्टी विलय गराएको, प्रचण्डसँग आत्मसमर्पण गरेको र प्रचण्ड नेतृत्वको पार्टी संसदीय भासमा जाकिदै प्रतिक्रियावादमा पतन हुन पुगेकोले नयाँ जनवादी क्रान्ति गर्ने एक मात्र पार्टी क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन आइपुगेको जनाउनु भएको छ । नेपालमा जनयुद्धको कार्यभार क्रान्तिकारी माओवादीले मात्र पूरा गर्ने भन्दै माओवादी केन्द्रमा रहेका इमान्दार क्रान्तिकारीहरुलाई उक्त पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुन वक्तव्यमा आव्हान समेत गर्नुभएको छ ।