काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक सार्वजनिक अपील जारी गरेको छ । महासंघको केन्द्रीय समितिले ‘उदारीकरणका नाममा बनेका श्रमिक विरोधी कानुनको विरोध गरौँ ! तलव वृद्धि, रोजगारीको सुनिश्चितता लगायत मौलिक हकका लागि संघर्ष गरौँ !!’ शीर्षकमा जारी गरेको अपीलमा श्रमिक वर्गले न्यूनतम सरकारी सहायक सरह रु. १८,०००।– (अठार हजार) तलव, स्थायीको सुनिश्चितता, संगठित र सौदाबाजीको हक लगायतका आधारभूत अधिकारकाका साथै विद्यमान विभेदकारी राजनैतिक व्यवस्थाको विकल्पमा राष्ट्रिय स्वाधीनतासहितको जनवादी राजनैतिक व्यवस्था स्थापना गर्ने राजनैतिक लक्ष्यसहित क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न जरुरी भएको कुरा उल्लेख गरिएको छ ।
यस्तो छ अपीलको पूर्णपाठ :
“उदारीकरणका नाममा बनेका श्रमिक विरोधी कानुनको विरोध गरौँ !
तलव वृद्धि, रोजगारीको सुनिश्चितता लगायत मौलिक हकका लागि संघर्ष गरौँ !!
अन्तर्राष्ट्रिय श्रमिक वर्गको संघर्षशील परम्पराको निरन्तरताको रुपमा १२९ औँ मई दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाउन गइरहेका छौं । सन् १८८४–८६ सम्म चलेको अमेरिकी श्रमिक वर्गको बलिदानीपूर्ण संघर्षको स्मरण तथा विजयको प्रतीक मई आन्दोलन सन् १८८९ मा बसेको कम्युनिष्ट अन्तर्राष्ट्रियको बैठकद्वारा विश्वव्यापी रुपमा मनाउने ऐतिहासिक निर्णय पश्चात् संसारभरका श्रमिकवर्गले यस दिनलाई संघर्ष, बलिदान र विजयको इतिहासको स्मरण तथा पुँजीपति वर्गको शेषण, दमनका विरुद्ध संघर्ष र प्रतिरोधद्वारा श्रमिक वर्गले मुक्तिको बाटो पहिल्याउने अठोटका रुपमा मनाउनु अझ महत्वपूर्ण र गम्भीर मूल्य रहेको कुरा सर्वस्वीकार्य हुँदै गाएको छ ।
कथित औद्योगिकमैत्री राज्य प्रशासन, औद्योगिकमैत्री श्रम नीति, औद्योगिकमैत्री कानुन, औद्योगिकमैत्री ट्रेड यूनियन लगायत नारा लिएर विश्व पुँजीवादी एकाधिकारले आज विश्वव्यापी लुट, प्राकृतिक श्रोतको दोहन तथा सस्तो श्रम कब्जा गरिरहेको छ भने अर्कोतिर संसारभरिका श्रमिकहरु अभाव, गरिबी बेरोजगारी जस्ता समस्याहरुको चक्रब्यूहमा फसिरहेका छन् । श्रमको खोजीमा विश्वव्यापी भौतारिदै हिड्नु कमजोर र गरिब राष्ट्रका श्रमिकहरुको नियती जस्तो बन्न पुगेको छ । नेपालजस्तो कम जनसंख्या भएको मुलुकको झण्डै २५% उर्वर श्रम शक्ति वैदेशिक रोजगारको खोजीमा भौतारिनु यसको ठोस दृष्टान्त हो ।
नेपाली श्रमिकहरुले रोजगारीको सुनिश्चितता, न्यायोचित पारिश्रमिक, संगठित हुने हक, सौदाबाजीको हक आदि मुद्दाहरु उठाउँदै लामो समयदेखि संघर्षहरु उठाउँदै आइरहेका छन् तथापि ती श्रमिकमैत्री जायज मागहरु सम्बोधन हुन सकिरहेका छैनन्, बरु कथित औद्योगिकमैत्री श्रम कानुनका नाममा अस्थायी, करार र ज्यालादारीका रुपमा श्रमिकहरुलाई काममा लगाउने, ‘हायर एण्ड फायर’का नाममा कुनै पनि बेला रोजगारीबाट हात धुनु पर्ने, ‘नो वर्क नो पे’का नाममा जायज माग राख्ने र संघर्ष गर्ने सबै मौलिक हकहरु समाप्त पार्ने काम गरिएको छ । वर्षौदेखि तलव तथा ज्याला वृद्धि गरिएको छैन । फलत: स्वदेशमा श्रम गरेर जीविकोपार्जनको वातावरण समेत कष्टकर बन्दै गइरहेको छ ।
अत : श्रमिक वर्गले न्यूनतम सरकारी सहायक सरह रु. १८,०००।– (अठार हजार) तलव, स्थायीको सुनिश्चितता, संगठित र सौदाबाजीको हक लगायतका आधारभूत अधिकारकाका साथै विद्यमान विभेदकारी राजनैतिक व्यवस्थाको विकल्पमा राष्ट्रिय स्वाधीनतासहितको जनवादी राजनैतिक व्यवस्था स्थापना गर्ने राजनैतिक लक्ष्यसहित क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न जरुरी भएको छ । त्यसै उद्देश्यका साथ हामी एकतावद्ध हुँदै अगाडि बढ्न यस मई दिवस प्रेरणादायी होस् भन्ने शुभकामनासहित क्रान्तिकारी अभिवादन !”