ओलीलाई मोदीले आफ्नो बनाइसके, उनको राष्ट्रवाद घोप्टिसक्यो : सीपी गजुरेल

ओलीलाई मोदीले आफ्नो बनाइसके, उनको राष्ट्रवाद घोप्टिसक्यो : सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीको रुपमा दिल्ली भ्रमणमा गएर आइसकेपछि एमालेका अध्यक्ष समेत रहेका केपी ओली मोदीको क्याम्पमा गइसकेको, ओलीलाई मोदीले आफ्नो बनाइसकेको र उनको राष्ट्रवाद घोप्टिसकेको दावी गर्नुभएको भएको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (विप्लव) र नेकपा (ऋषि कट्टेल)ले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो भन्नुभएको हो ।

‘भारतसँग असमान सन्धि सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तक्र्रिया कार्यक्रममा कार्यक्रममा नेता गजुरेलले ओलीले कुनै सन्धिसम्झौता नै गर्नु थिएन भने दिल्ली किन गएका थिए भन्ने प्रश्न गर्दै उनी भारत जानुको कारण आफूलाई भारत निकट नै भएको आश्वस्त पार्न गएको दावी गर्नुभयो ।

‘ओली भारत जानुको कारण म पुनः मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो’, उहाँले भन्नुभयो, “ओली अब नाकाबन्दीताका ओली रहेनन् ।’

उहाँले अरुण तेस्रो दिल्ली मै बसेर उद्घाटन गर्ने भनिएको कार्यक्रम जनताको विरोध र त्यसो गर्दा आफ्नो राष्ट्रवादको मुकुण्डो नराम्ररी उतारिने डरले अन्तिम समयमा आएर स्थगित भएको पनि नेता गजुरेलले बताउनु भयो ।

उहाँले महाकाली सन्धि गर्न ओलीको भूमिका कस्तो थियो भन्ने नेपाली जनताले भुलिनसकेको पनि बताउनु भयो ।

नेकपा (विप्लव)का जनसरकार प्रमुख सन्तोष बूढा मगरले प्रचण्डलगायतका नेताहरु जनयुद्धदेखि नै भारतको इशारामा चलेको आरोप लगाउनु भयो । चुनबाङ बैठक, दिल्लीमा गरेको १२ बुँदे र शान्ति प्रक्रियामा आइसकेपछि शान्ति सम्झौतामा गरिएका सम्पूर्ण सम्झौताहरु बृहत डिजाइनमा भएको बुढाले बताउनु भयो ।

यस्तै, नेकपाका अध्यक्ष ऋषि कट्टेलले कम्युष्टिलाई साम्राज्यवादीहरुले राष्ट्रघाती काम गर्न उक्साउने गरेको भन्दै त्यसप्रति सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले असमान सन्धिसम्झौताहरु खारेजी गरी पञ्चशिलका आधारमा परस्पर हीतमा आधारित रहेर नयाँ सन्धि गरिनु पर्ने विचार राख्नुभयो ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि सन् पचासलगायत असमान सन्धि सम्झौताहरुको खारेजी गरिनु पर्ने, सीमालाई व्यवस्थित गरिनु पर्ने, मुलुकभित्र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने, गोर्खाभर्तीकेन्द्र खारेज गरिनु पर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षत्रीले प्राकृतिक तथा मानवीय स्रोतसाधन विदेशीलाई बेचेर मुलुकमा आर्थिक विकास सम्भव नहुने भन्दै त्यसका लागि त्यसको सही सदुपयोग गर्नुपर्ने विचार राख्नुभयो ।

सीमा बिज्ञ बुद्धिनारायण श्रेष्ठ, जलस्रोत विज्ञ दीपक ज्ञवालीले पनि भारतसँग गरिएका असमान सन्धिसम्झोता खारेज गरिनुपर्ने विचार राख्नुभएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन नेकपाका नेता अाजादले गर्नुभएको थियो ।