काठमाडौं, चैत २८ । मेलम्ची खानेपानी परियोजनाको सुरुङ निर्माण गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले ठेक्का सम्झौता भएको भन्दा थप १ अर्ब ६५ करोडको अतिरिक्त भुक्तानी दावी गरेको छ । कम्पनीले उक्त थप रकम माग गर्दै आवेदन समेत दिइसकेको छ ।
सरकारले यो कम्पनीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । उसले नेपालको आन्तरिक राजनीतिक अवस्था र प्राकृतिक विपदका कारण उत्पन्न विषम परिस्थितिले घाटा लाग्ने अवस्था आएको भन्दै क्षतिपूर्ति दावी गरेको हो ।मेलम्ची खानेपानी आयोजनाले भने कम्पनीलाई २८ करोड मात्रै भेरियन दिने निर्णय गरेको छ । त्यसमा सीएमसीले चित्त बझाएको छैन ।
आयोजना प्रमुख रामचन्द्र देवकोटाकाअनुसार उसले पुनरावलोकन समितिमा आयोजनाले दिएको भेरियनमा असहमति जनाउँदै पुनरावेदन गरेको छ । यदि समितिले पनि पुनरावलोकन नगरे सिंगापुरका आर्बिटेसन अदालतमा मुद्धा दायर गर्ने चेतावनी कम्पनीले दिएको छ ।
‘हामीले २८ करोड थप भुक्तानी दिने निर्णय गरिसक्यौं,’ देवकोटाले भने,‘ठेकेदार कम्पनीलाई चित्त नबुझेको भए कानुनी रुपमा अघि बढ्न सक्छ । हामीले ठेक्का अवधि लम्बिँदा उसलाई भएको क्षतिको अध्ययन गरेर यो अतिरिक्त भुक्तानी दिने निर्णय गरेका हौं । थप दिने अवस्था छैन ।’
यो कम्पनीले सन् २०१४बाट सरुङ निर्माणको जिम्मा पाएको थियो । तर, भूकम्प र नाकाबन्दीका कारण समयमै काम गर्न नसकेको भन्दै उसले ठूलो भेरियसन माग गरेको हो ।
यसअघि चिनियाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गरेपछि सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो । सीएमसीले मंगलबार तीनवटै खण्डको ब्रेकथु्र गर्दै सुरुङमार्ग खन्ने काम सकाएको छ ।
खन्ने काम सकिए पनि अडिट सुरुङहरु थुन्ने, सुरुङमा क्रंक्रिटमार्फत फिनिसिङ गर्ने काम बाँकी नै छ । यस्तो अवस्थामा उसले अतिरिक्त भुक्तानीमा चित्त नबुझाउँदा काम रोकेर असहयोग गर्ने सम्भावना छ ।
आफूले दावी गरेको अतिरिक्त भुक्तानी नपाएपछि उसले अन्तिम खण्डको ब्रेकथु्र प्रभावित हुने गरी काम रोकेको थियो । विना मगरले खानेपानी मन्त्रालय समहालेलगत्तै दबाव दिएर सुरुङ खन्ने काम चाँडो सक्न लगाइएको हो ।
अब उसले सुरुङमार्गमा लाइनिङ र इन्टेक बाँध निर्माण लगायत धेरै काम गर्न बाँकी नै छ । यस्तो अवस्थामा फेरि पनि ठेकेदार कम्पनीले थप भुक्तानीका लागि काम रोकेर सरकारमाथि दबाव दिनसक्ने अवस्था कायमै छ ।
सरकारले दशैंअघि नै काठमाडौंका उपभोक्तालाई मेलम्चीको पानी खुवाउने बाचा गरेको छ । तर, सुरुङको फिनिसिङको काम ठेकेदार कम्पनीले अवरोधबिना गरिदिए मात्रै यो सम्भव हुनेछ । सम्झौताअनुसार सीएमसीले २०७३ असारभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएन ।
सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफ्टिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको थियो ।
चिनियाँ ठेकेदारले साढे २७ किमि सुरुङ र इन्टेक बाँध बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले ढिला गरेर जम्मा साढे ६ किमिमात्र सुरुङ खनेपछि लापरबाही भएको भन्दै नयाँ टेण्डर गर्दा लागत दोब्बरले बढेको थियो ।