काठमाडौं, चैत २२ । अन्तत सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अगाडि बढाएसँगै अरनिको राजमार्गका सिन्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् । उनीहरुले चुपचाप पुनः आफ्ना बस सेवा सञ्चालनमा ल्याएका छन् ।
सरकारले अन्य कम्पनीहरुलाई धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि सँगै कोटेश्वरपूर्वका ११ वटा समितिले बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका उनीहरुले गाडी चलाउन थालेका हुन् ।
मयुर यातायातले रुट इजाजत पाएपछि ११ वटा समितिले सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । तर, उनीहरुको आन्दोलनका बीचमा साझा, सिटी मेट्रो, महानगर र मयुर यातायातले काठमाडौं–बनेपा–धुलिखेल रुटमा इजाजत पाएका छन् ।
ठूलो बस सञ्चालन गरिरहेका विभिन्न कम्पनीले धमाधम रुट इजाजत लिएर धुलिखेल र पनौतीसम्म सेवा विस्तार गरेपछि सिन्डिकेटबाला व्यवसायीहरु पछि हटेका हुन् । ‘आज विहानैबाट गाडी चले । उनीहरुले आन्दोलन फिर्ता भयो मात्र भनेका छैनन्’ यातायात व्यवस्था विभागका एक अधिकारीले भने ।
सिटी मेट्रो र महानगर यातायात बनेपामा
मयुरलाई बनेपासम्म मात्र सुरु गरेका बस सेवालाई अबक धुलिखेलसम्म विस्तार गरेको छ । त्यसैगरी साझा यातायातले पनौती र धुलिखेलबाट सेवा दिन थालेको छ । साझाका १०–१० वटा बस धुलिखेल र पनौतीबाट चल्न थालेका हुन् ।
सिटी मेट्रोले पनि बनेपासम्म रुट पाएको छ । महानगर यातायातले पनि रुट इजाजत लिन तयारी थालेको छ । योसँगै बनेपासम्म मयुर गएको बिरोध गर्दा अन्य बसले धुलिखेल र पनौतीसम्म नै सेवा विस्तार गर्न पाएका छन् ।