धनगढी, चैत १९ । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरियाले ९ विकेटको फराकिलो जित हात पारेको छ । रुपेन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाइ भेटायो ।
अत्तरियाका गौरव चितकाराले नटआउट ३० रनको पारी खेले । आठौं ओभरको तेस्रो बलमा उनले छक्का प्रहार गर्दै अत्तरियाका लागि विजयी रन बटुलेका थिए । अत्तरियाका सुवास खकुरेलले १९ तथा प्रेम तामाङले १४ रनको पारी खेले । रुपन्देहीका जितेन्द्र मुखियाले १ विकेट लिए ।
त्यसअघि रुपन्देही च्यालेन्जर्सका विदेशी खेलाडी सुफ्यान मेहमुदबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न नसक्दा रुपेन्देही १५.२ ओभरमा सवै विकेट गुमाएर ६१ रन बनाएको थियो ।
सुफ्यान २० रनमा नटआउट रहेका थिए । २५ बलको सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे । कुनैपनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेका थिएनन् । ओपनरद्धय प्रदीप ऐरी र सागर पुन शुन्य रनमै पवेलयन फर्किएका थिए । यस्तै विक्रम भुषाल र शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ५ तथा अमरसिंह रौटेला १ रनमै पवेलियन फर्किए ।
सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ४ ओभरको स्पेलमा ऐरीले १५ रन खर्चे । यस्तै शुभांकर उरावले ३ विकेट लिए भने कृष्ण कार्की र विपिन चन्द्रले १ विकेट लिए ।
केहीबेरमा सुरु हुने दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेड भिड्नेछन् ।