झर्रोटर्रो : काम र दामको खोजी

झर्रोटर्रो : काम र दामको खोजी

केही दिन अगाडि काम र दामको खोजी गर्दै पर्देशका मुख्खेमन्त्रीहरू देशका पर्धानमन्त्रीलाई भेट्न गए । पर्धानमन्त्रीले पनि जागिरमा भर्ना भएदेखि नै अलपत्र पारिएका मुख्खेहर्लाई दर्शनभेट दिए । छ जना मुख्खेहरू त उनकै दल र गुटका थिए, एकजना भने मधेशवादी दलका थिए । उनीहरू सबैलाई सामुहिक रूपमा दर्शनभेट दिएर उनीहर्का आनामिना गुनासा सुन्ने र तिनलाई काम र मामको चाँजोपाँजो मिलाउने बारेमा पर्धानमन्त्रीले शिक्षा दीक्षा दिने काम गरे । आफ्नो दर्शनभेट गर्न पर्देशबाट आएका मुख्खेहर्लाई एकछाक मिठो मसिनो खुवाएर दारूपानी पिलाए र आआफ्ना स्वदेशमा गई पाँच वर्ष जेनतेन गुजारा गर्नु भनि अह«नखटन गरी पठाए ।

विचरा मुख्खेहर्ले आपूmहरू मुख्खेमा चुनिएर भर्ति भएदेखि नै पर्देशमा कुनै काम पनि किटानी नभएको र आपूmहर्लाई दानापानीको पनि राम्रो प्रवन्ध नभएकाले निकै दुःखसास्ती भुगत्नु परेको गुनासो देशका पर्धानमन्त्रीसँग गरे ।

मुख्खेहर्ले आफ्ना चाङका चाङ समस्याको कुम्लो फुकाउँदै पर्धानसँग गुनासो गर्दै भने – ‘हामीलाई बस्ने बास र खाने गासको व्यवस्था छैन । कहिले होटेलमा कहिले आफन्तकोमा शरण लिँदै बस्दै गरेका छम् । हामीले के काम गर्ने भन्ने कुनै ठेलोटुप्पोको टुङ्गो छैन । ठूलठूला विकासे योजना सबै देशले हडप्ने, सनातिना जति थानीय जिमुवालहर्ले कब्जा गर्ने हामी पर्देशका सरकार अलपत्र पर्ने काम भयो । हाम्रो केही पनि हकभोग रहेन । कर, भन्सार, राजस्व, रेमिट्यान्स, विदेशी दातामाताबाट आउने भिक्षाटन आदि इत्यादि सबै देशले कब्जा गर्ने, पैसा छाप्ने काम पनि देशले गर्ने, जग्गाको तिरोभरो र सानातिना आम्दानीका श्रोत थानीय जिमुवालहर्ले उतै अँठ्याउने हामी भने भोकभोकै तड्पिनु पर्ने ? यो त घोर अन्याय भो हजुर ।’

पर्देशी मुखियाहर्को यति गुनासो सुनेपछि देशका पर्धानमन्त्रीले उनीहर्लाई सम्झाउँदै भने –‘कामको के चिन्ता गर्नुहुन्च ? विभिन्न क्लवहर्का कार्यक्रमहर्को उद्घाटन गर्ने, रिबन काट्ने । समृद्धिका कुरा गर्ने, स्मार्ट सिटी बनाउँचम् भन्ने । अब हरेक कुरा स्मार्ट हुन्च । सहर स्मार्ट, गाउँ स्मार्ट, कुला नहर बाटाघाटा स्मार्ट, घरहरू स्मार्ट, खेतबारी स्मार्ट, मान्छे स्मार्ट, गाईगोरु, भेडाबाख्रा सबै स्मार्ट बनाउँचम् भनेर गाउँ, टोल, सहर बजार जताततै भाषण गर्ने । एनजीओ र आइएनजीओहर्को देशैभरी जालो छ । उनीहर्लाई फकाईफुलाई गर्ने र विदेशतिर भ्रमण गर्ने, कार्यकर्ता, साना व्यापारी उद्योगीहर्लाई भेट दिने, विकासे आश्वासन बाँट्ने यिनै त हुन् काम पर्देश सरकारले गर्ने । अरू के काम चाहियो ? देशको सरकार मात्रै भैदिएको भए तपाइँहरू सबै मन्त्री मुख्खे मन्त्री हुन पाउनुहुने थिएन । सातौटा पर्देश भएर जताततै मन्त्री र माननीय भा’छ । पर्देशको सरकारको काम भनेको देशी सरकारको सेवा गर्ने र थानीय सरकारको धरालो गर्ने हो ।

जहाँसम्म दामको कुरो छ त्यसको लागि अलिअलि यताबाट पठाम्ला । अरू उतै करसर बढाएर जोरजाम पार्नू । विदेशबाट भीक्षादाताहर्ले दिए भने लिनू । पर्यटक अलि धेरै हुल्ने योजना बनाउने, होटेलसोटेलबाट हप्ता उठाउने त्यसरी काम चलाउने ।’ 

यसरी पर्देशी सरकारका मुख्खेहर्लाई देशी पर्धानमन्त्रीले अर्ति उपदेश दिएर पठाए ।
१८ चैत २०७४