काठमाडौं, फागुन २९ । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८८० जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन् । राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएकाले कुल ८८४ जना मतदातामध्ये ८८० जना मात्रै सहभागी हुन लागेका हुन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ । ८८० जना मतदाताको कुल मतभार ५२ हजार ५०१ हुन्छ । राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ ।