चितवन । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतृत्वबीच भएको वार्ताले ४ बुँदे सहमति गरेको छ । क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज अम्बिका मुड्भरी र नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसीबीच भएको सहमतिलाई संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै सार्वजनिक गरिएको छ ।
क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणको आवश्यकतालाई मध्येनजर गर्दै दुवै पार्टीका जिल्ला नेतृत्वले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका मुद्दाहरुमा सहकार्य गरेर अगाडि बढ्ने लगायतका निर्णय गरिएको जारी वक्तव्यमा उल्लेख छ । दुवै पार्टीबीच केन्द्रीय स्तरमा जारी सहकार्यलाई जिल्ला स्तरमा निरन्तरता दिन दुवै पार्टी सक्रियता पूर्वक सहभागि हुने वक्तव्यमा उल्लेख गरिएको छ ।
यस्तै यही फागुन १४ देखि २१ गतेसम्मको शहिद सप्ताह संयुक्त रुपमा मनाउने निर्णय गरिएको नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी इन्चार्ज अम्बिका मुडभरीले जानकारी दिनुभयो । शहीद सप्ताह अन्तर्गत दुवै पार्टीको संयुक्त आयोजनामा फागुन १९ गते ‘जनयुद्धको प्रक्रियामा भएको बलिदानी र आजको सन्दर्भ’ विषयक अन्तक्र्रियासहित सहिद परिवारहरुसँग भेटघाट गर्ने निर्णय गरिएको छ ।
सहमतीको तेस्रो बुँदामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ भने अन्तिम बुँदामा देशव्यापीरुपमा राजनैतिक नेता तथा कार्यकर्तामाथि राज्यको तर्फबाट भएको धरपक्कड ज्यादती प्रति खेद प्रकट गर्दै आगामि दिनमा संयुक्त रुपमा भण्डाफोर गर्ने निर्णय गरिएको वक्तव्यमा जनाइएको छ ।
दुवै पार्टीबीच भएको वार्ता तथा छलफलमा क्रान्तिकारी माओवादीका तर्फबाट पार्टी केस तथा इन्चार्ज अम्बिका मुडभरी, अशोक शर्मा, विपिन शर्मा, अमृत चपाई र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट केन्द्रीय सदस्य आधार, लालबहादुर बिसी, ध्रुबलगायतको सहभागिता रहेको थियो ।