माकेको एमालेमा विलय : एक चर्चा

प्रकाशित मिति : २०७४ फाल्गुन १५

- अरूण

“……….उक्त लोकतान्त्रिक गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरुले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारावर्गको हाम्रो पार्टी त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्ने प्रयत्न गर्नेछ ।” (२०६२ असोज–कार्तिकमा सम्पन्न ऐतिहासिक चुनवाङ बैठक, ऐतिहासिक दस्तावेजहरु, पृ. २९६) । २०६२ सालमा आयोजित चुनवाङ बैठकको प्रस्तावको एक अंश हो यो, जसमा लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीतिक नाराका रूपमा मात्र लिइएको उल्लेख गरिएको थियो ।

कार्यनीतिक नाराका रूपमा स्वीकारिएको ‘लोकतान्त्रिक गणतन्त्र’लाई जनगणतन्त्रमा बदल्ने मूल नेतृत्वको कुनै मूर्त योजना नदेखेपछि वरिष्ठ नेता किरण नेतृत्वको विचारसमूहले पार्टीभित्र शान्तिप्रक्रियाका सुरुका वर्षहरुबाटै बहसको थालनी ग¥यो । दुई लाइन सङ्घर्ष चर्कंदै जाँदा २०६८ पुसमा आयोजित तत्कालीन एनेकपा (माओवादी) को एक बैठकमा प्रस्तुत छुट्टाछुट्टै प्रस्तावमध्ये अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमा पार्टी भयानक रूपमा विघटित र बिसर्जित भइरहेको कुरा उल्लेख गर्दै “यथार्थमा पार्टी मरिरहेको” कुरा लेखेका थिए । त्यसको खण्डनमा द्वन्द्ववादलाई सही ढङ्गले पकड्दै किरणले “सिङ्गो पार्टी मरिरहेको नभई पुरानो पार्टी मरिरहेको र नयाँ पार्टी जन्मिरहेको” भनेर लेखेका थिए । (जलजला, वर्ष १०, पूर्णाङ्क ६१, पुस २०६८, पृ. १३१) । ठीक त्यसै भएको छ, सो बहसको एक दशक पनि नपुग्दै प्रचण्डकै शब्दमा भन्ने हो भने उनको नेतृत्वको माओवादी केन्द्र मरेको छ जसको औपचारिक घोषणा हुनमात्र बाँकी छ भने कम्युनिस्ट आन्दोलन भड्कावहरुको यस्तो चुनौतीपूर्ण अवस्थाबाट गुज्रिदै गर्दासमेत किरण नेतृत्वको क्रान्तिकारी माओवादीले नयाँ जनवादी राज्यसत्ता प्राप्तिको महाअभियानलाई निरन्तर जारी राखेको छ । यो लेख भर्खरै एमालेमा विलयको घोषणापत्रमा प्रारम्भिक हस्ताक्षर गरेको माकेसँग सम्बन्धित छ ।

लेखको सुरुवातमै एउटा कुरा प्रस्ट पारौं । हरेक मानिसका सीमा र कमजोरी हुन्छन् । प्रचण्डका पनि आफ्नै सीमा र कमजोरी होलान् । त्यसैले व्यक्तिका रूपमा प्रचण्ड अर्थात् पुष्पकमल दाहाल अथवा अरु कसैको बारेमा शब्द खर्च गर्नुपर्ने कुनै रहर, जाँगर र फुर्सद छैन । साथै, उनको मृत पार्टीमा जीवन भर्ने अभिप्रायले छेडिएको यो कुनै बहस पनि होइन । यो त हजारौं सहिद, बेपत्ता तथा घाइते अपाङ्गलगायत माओवादी आन्दोलनका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकको त्याग र बलिदानको मूल्यबाट नायकका रूपमा स्थापित गराइएको ‘प्रचण्ड’ नामको बिम्ब र उनको पार्टीको पतनको चर्चा हो ।

नेपाली राजनीतिक आन्दोलनमा निमुखाहरुको सपनाको व्यापारबाट फस्टाएका तर पछि तिनै जनतालाई धोका दिएका पार्टीहरु नभएका होइनन् तर दशौं हजारको सहादतबाट संसारलाई आश्चर्यचकित पार्ने उचाईं प्राप्त गरेको आन्दोलनलाई ध्वस्त बनाउनु इतिहासको सामान्य परिघटना होइन, त्यो पनि त्यही आन्दोलनको मूल नेतृत्वबाट । तसर्थ, सो पार्टीको पतनको चर्चा गर्नु आवश्यक हुन्छ ।

यो लेख लेख्दै गर्दा यहाँ एउटा प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक होला । हालै जनयुद्धबारे प्राज्ञिक जगतमा भएका सोधहरुबारे खोजी गर्ने क्रममा अमेरिकी सेनाका एक मेजरले लेखेको एउटा विशेष निबन्ध (मोनोग्राफ) पढ्ने अवसर मिल्यो । “द माओइस्ट इन्सर्जेन्सी इन नेपाल, १९९६–२००८ : इम्प्लिकेशन्स फर यु.एस. काउन्टर इन्सर्जेन्सी डक्ट्रिन” शीर्षकको उक्त शोधमा अमेरिका, बेलायत र भारतबाट तालिम तथा जिन्सी सहयोगका बाबजुद पनि नेपाली सेना काउन्टर इन्सर्जेन्सीमा असमर्थ भएको, सरकार हारेको र माओवादी विद्रोह सफल भएको उल्लेख छ । (The Maoist Insurgency in Nepal, 1996-2008: Implications for U.S. Counterinsurgency Doctrine, MAJ Timothy R Kreuttner, School of Advanced Military Studies United States Army Command and General Staff College Fort Leavenworth, Kansas, ii, p.1). त्यसो हुनुमा सरकारले सामाजिक, आर्थिक तथा राजनीतिक तनावहरुमा निहीत समस्याहरुका समाधानका लागि एउटा सुसंगत रणनीति तर्जुमा गर्न असफल रही सैनिक र कानून प्रवर्तनमा भर परेको कारण बताइएको छ । (उक्त, उ, p, ii) ।
यो प्रसङ्गको उल्लेख किन सान्दर्भिक छ भने जनयुद्ध त्यस उचाईंसम्म पुग्ने कारण संसारभरका शोधकर्ताहरुको खोजको विषय बनिरहँदा जनयुद्ध समाप्तिको घोषणासहित संसदीय राजनीतिमा फर्किएका प्रचण्डले आफू नेतृत्वको पार्टीलाई इतिहासको पानामा आफैले सीमित गराइदिए । साम्राज्यवादको केन्द्रबाट “सहयोग, शिक्षा र तालिम” (Ibid, p. 1) पाएको सेना र समग्रमा राज्यले दश वर्षसम्म केही गर्दा पनि सिध्याउन नसकेको जनयुद्धलाई १२ बुँदेदेखिका बाह्र वर्षमा “डाइनामिक” नेता प्रचण्डले २०५२ सालअघिको अवस्थामा फर्काइदिएका छन् । हुँदाहुँदै त सबै माओवादीहरुको एउटै केन्द्र बनाउने र आफ्नै नेतृत्वमा माओवादी आन्दोलनलाई अझ उचाइँमा उठाउने षड्यन्त्रकारी तानाबाना बुनी सम्पूर्ण माओवादी धाराहरुलाई नै एमालेकरण गर्ने छलाङ्गको दुःस्वप्न पनि देखेका रहेछन् । यसै छलाङ्गको व्याख्या मोहन वैद्यले आफ्नो लेख “माकेको एमालेमा विलयः एक पश्चगामी छलाङ्ग” मा शानदार ढङ्गले गरेका छन् । (वर्गदृष्टि, वर्ष २, अङ्क ३४) । विगतमा एमालेलाई प्रतिक्रियावादी ठहर गरेका प्रचण्डले आफ्नै नेतृत्वको पार्टीलाई त्यही एमालेमा लगेर विलय गराउने ‘डाइनामिज्म’ को वैचारिक स्रोत लामो समयसम्म खोजको विषय बनिरहनेछ ।

ओरालो यात्रादेखि पतनसम्म

शासनसत्ता त बुर्जुवाहरुले परिवर्तन गर्दै आएकै थिए । राणाशासन ढालेकै थिए, पञ्चायत फालेकै थिए । गणतन्त्र पनि ढिलोचाँडो ल्याइहाल्ने थिए । लोकतान्त्रिक गणतन्त्र नामको यो पुरातन संसदीय व्यवस्था फाल्नकै निम्ति जनयुद्ध लडिएको थिएन र लड्नुपर्ने आवश्यकता नै थिएन । तर विडम्बना, राज्यसत्ता बदल्न जनयुद्धको उडान थालेको माओवादी शासनसत्ता मात्र बदल्ने शर्तमा दिल्लीको रोहोबरमा दिल्लीमै जनयुद्धको समाप्तिको घोषणा गर्दै शान्तिपूर्ण अवतरण ग¥यो । राज्यका पुरानै मिशिनरी अन्तर्गत रही उही संसदीय राजनीतिमा सहभागिता जनाउने प्रतिबद्धता जाहेर ग¥यो । त्यो वैचारिक पतन राजनीतिमा अभिव्यक्त हुनु अनिवार्य थियो । जनयुद्धभरि बोकेको सिद्धान्त र व्यवहारको भारीलाई दिल्लीतिर थान्को लगाएर काठमाडौं पसेको सो पार्टी राजनीतिमा विद्यमान पुरानै विकृतिहरुबाट सङ्क्रमित हुन थाल्यो । केही नयाँ गर्ने सपना मर्दै जान थालेपछि पुरानैतिर फर्किनुपर्छ भन्ने ठानेका नेताहरुमा विस्तारै विस्तारै त्यो सङ्क्रमण फैलिन थाल्यो । हुन त जनयुद्धको अवधिमै भारतमा शेल्टर हुने कतिपय नेताले ‘माटो सुहाउँदो’ गर्न थालिसकेका थिए । समयक्रममा जनयुद्धका दश वर्षमा धेरै पछि परिएछ भन्ने एउटा ठूलै जमात पैदा हुँदै गयो । जनयुद्धकै समाप्तिको घोषणा गरिसकेपछि त्यसका आदर्शलाई बोकेर हिड्नु बाध्यकारी थिएन । फलस्वरुप दिन बित्दै जाँदा आफैले दुश्मन करार गरेका राजनीतिक दल र तिनका नेताहरुको जीवनशैलीदेखि ¥याल काढ्ने ठूलै जमात पार्टीभित्र पैदा हुँदै गयो । सामाजिक–आर्थिक कारणहरुले पनि होला, छोराछोरी डाक्टर र इञ्जिनियर, काठमाडौंमा एक टुक्रो जग्गा, त्यसमा बनेको सानो घर, सकेसम्म एउटा सानो गाडी, बैंक ब्यालेन्स – यत्ति त न्युनतम आवश्यकता बन्न थाल्यो । बिस्तारै यसलाई प्रतिष्ठासँग जोडेर बुझ्न थालियो । सक्नेले जे पनि गर्न थाले ।

नेपालमा भएको पुँजीवाद दलाल तथा नोकरशाही पुँजीवाद हो । यो व्यवस्थाले सरकार, कर्मचारीतन्त्र, सेना, प्रहरी, राजनीतिक दलहरु लगायत राज्य सञ्चालनका सबै अवयवहरुमा दलाल उत्पादन गर्दछ र आफ्नो जबर्जस्त प्रतिनिधित्व सुनिश्चित गर्दछ । त्यही वर्गले बिस्तारै माओवादीका नेताहरुसँग हिमचिम बढाउन थाल्यो । तिनैको स्वार्थपूर्तिका निम्ति काम गर्न उद्दत पार्टीको एउटा पङ्क्ति बिस्तारै दलाल, कमिशनखोर र विचौलियामा परिणत बन्दै गयो । पार्टीबाहिरको त कुरै छाडौं, पार्टीकै नेता–कार्यकर्ता र शुभचिन्तकहरुको समेत जागिर, सरुवा बढुवा, नियुक्ति, चुनावका टिकट आदिमा कमिशन उठाएर आफ्नो सपना पूरा गर्ने परिपाटी स्थापित हुँदै जान थाल्यो । माओवादी नेतालाई भेटेपछि नहुने काम केही रहेन । काम गरिदिनकै निम्ति जसरी पनि सत्ता र शक्तिकेन्द्रको नजिक रहनुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो । जसरी पनि सरकारमा जानुपर्ने र मन्त्री लगायतका लाभका ठूला, मध्यम तथा सानाभन्दा साना जुनसुकै पदका लागि तछाडमछाड गर्नुपर्ने परिस्थिति सिर्जना भयो । आफूलाई प्रत्यासीका रूपमा प्रस्तुत गर्ने सबैको आकाङ्क्षाले गर्दा चार हजार जनाको त केन्द्रीय समिति बनाउनुपर्ने बाध्यता आयो । पहिले शहादतको कोटा चुक्ता गर्न तछाडमछाड गर्ने नेताहरु लाभका पदहरु कब्जा गर्नका लागि आफू, आफ्नो परिवार र संरक्षकहरुका लागि कोटा सुरक्षित गर्न थाले । त्यो प्रवृत्ति यति जबर्जस्त बन्दै गयो कि सात घाटका पानी खाएर नेताहरु माओवादी केन्द्रमा फर्किन थाले । सत्तालिप्साले रन्थनिएको त्यो जमात कहिले हँसिया हथौडाको झण्डा रुखसँग गाँसेर अघि बढ्ने कुराको महिमामण्डन गर्न थाल्यो भने कहिले सूर्यसँग । कहिले लोकमान त कहिले खिलराजलाई अघि सारेर आफ्नो स्वार्थको संरक्षण गर्न थाल्यो । हुँदाहुँदै माओवादी र एमाले हुनुमा भिन्नतासमेत देख्न छाडेको यस्तो विचारहीन झुण्ड पैदा भयो, जो कहिले माओवादीहरुको एउटै केन्द्र बनाउने भनेर उफ्रिन्छन् त कहिले कम्युनिस्टहरुको एउटै केन्द्र । पार्टीको नीति र कार्यक्रमहरु नै तर्जुमा गर्ने स्थानमा रहेको त्यो जमात यति प्रभावशाली बनिसकेको छ कि करोडौं खर्चिएर चुनाव जिताउने दलाल तथा पुँजीपति वर्गको दह्रो काँध प्रायशः हरेकले पाइसकेका छन्, नपाउनेहरु खोजीमा छन् । तिनको राजनीतिको पछिल्ला केही वर्षको विश्लेषण गर्ने हो भने त्यो जमात एउटै कुराबाट निर्देशित रहेको देखिन आउँछ ः जनयुद्धकाल र शान्तिकालका सुरुवाती केही वर्षमा धेरै पछि परिएकोमा पश्चताप गर्दै त्यसैको क्षतिपूर्ति गर्ने ।

बुर्जुवाहरुसमेत एउटा विचारका आधारमा सानै पार्टी भए पनि चलाएर बस्छन् । तर यही जमातलाई सानो तिनो आँखा नलाग्ने भएपछि आफ्नो पहिचान समाप्त पार्दै आफैले प्रतिक्रियावादी घोषणा गरेको सबैभन्दा ठूलो पार्टीमा प्रवेश गर्ने निर्णयमा प्रचण्ड पुगे ।

माकेको एमालेमा एकताको कर्मकाण्ड पनि यसरी पूरा हुँदैछ, लाग्छ दुई व्यापारिक संस्थानहरुको मर्ज हुँदैछ । जहाँ माओवाद, जनयुद्ध जस्ता आफ्नै इतिहास छोड्नु कुनै मुद्दै होइन, मात्र प्रतिशतका निम्ति झगडा, नेतृत्वका निम्ति झगडा, मन्त्रीको सङ्ख्या तथा मालदार मन्त्रालयको बार्गेनिङ लिएर गनगन, कहिले राजकीय पद तथा नियुक्तिको संख्यामा विवाद । तिनै कुराहरुले कहिले मर्जरको सुनिश्चित हुने, कहिले अनिश्चित । बल्लबल्ल एमालेसँग कुरा मिलायो, आफ्नै पार्टी मारामार । २०५२ सालयता हजारौं जनतालाई त्यागको गाथा पढाउँदै युद्धको अग्रणी मोर्चाहरुमा पठाएको यो पंक्ति एक दशकभित्रै पद र पैसाको लालचमा जग हसाउने यतिसम्मको हर्कत गर्ला भनेर कसैले सोचेकै थिएनन् होला । जे होस्, हाललाई भागबण्डाको कुरा मिलाएपछि मर्जरको कुरा लगभग टुङ्गिएको छ र प्रचण्डले मर्दैछ भनेर लेखेको पार्टीले इच्छामृत्युको बाटो रोज्दैछ ।

उपसंहार

अन्तिम खण्ड लेख्दै गर्दा माथि उल्लिखित अमेरिकी सेनाका मेजरको शोधको सानो अंश उल्लेख गर्नु उचित होला । उनले भनेका छन् – अमेरिकी काउन्टर इन्सर्जेन्सी डक्ट्रिनका लागि नेपालको माओवादी विद्रोहबाट पाठ भनेको काउन्टर इन्सर्जेन्टहरुले वातावरणको ती सामाजिक तथा सांस्कृतिक पक्षहरुलाई बुझ्न जरुरी हुन्छ जसले राजनीतिलाई निर्देशित गर्ने, विद्रोहीलाई प्रेरित गर्ने र लोकप्रिय समर्थन निर्धारण गर्ने गर्दछ । परिस्थितिको राम्रो बुझाइबिनाको कुनै पनि सैन्य, आर्थिक वा राजनीतिक प्रयासले अनपेक्षित प्रभाव पर्ने र मुख्य समस्याको समाधान नहुने सम्भावना रहन्छ । (MAJ Timothy R Kreuttner, ii)

यो अंश उल्लेख गर्नुको आशय के हो भने समाजका समस्या ज्यूँका त्युँ छोडेर प्रचण्डहरु एमालेमा गएपछि एकताबाट असन्तुष्ट बनेकाहरु अन्य माओवादी धारामा नजाऊन् भनेर तर्साउन एकथरी माओवादीका नेता कार्यकर्तालाई धरपकड गर्न प्रहरीलाई निर्देशन दिइएको छ । तर शोधको ठहरझैं के बुझ्नु जरुरी छ भने यदि सामाजिक–आर्थिक समस्याहरुको समाधानबिना न्यायपूर्ण सङ्घर्ष गर्नेहरुमाथि दमनकारी नीतिमात्र अपनाइयो भने ढिलोचाँडो ढल्नु अवश्यमभावी रहेको यो सत्ता अझ छिटो सङ्कटमा पर्छ ।

अन्त्यमा, एमालेमा मिसिने पत्रमा हस्ताक्षर भनेको प्रचण्डकै शब्दमा उनको नेतृत्वको पार्टीको मृत्युको पनि घोषणा हो । माओवाद र जनयुद्धको इतिहासबाट आफूलाई अलग्ग्याएपछि माकेसँगै प्रचण्ड नामको त्यो बिम्बको पनि मृत्यु हुँदैछ । विकृतिहरुको केन्द्र बनी माओवाद र माओवादी आन्दोलनलाई बदनाम गरिरहेको त्यो माओवादी केन्द्र इतिहासमा सीमित बन्दा आउँदा दिनमा यो समाजले राहत महसुस गर्नेछ । आफ्नै इतिहासबाट आतङ्कित भई पहिचान बदलेका तिनै पात्र नयाँ अवतार पुष्पकमल दाहाल–२ को रूपमा दोस्रो इनिङको सुरुवातको संघारमा छन् । माकेका नाममा एमालेमा मिसिएको यो समूहले देशमा जे–जस्तो सुधारात्मक काम गर्ने भाषणवाजी गर्दैछ, त्यति काम त कांग्रेस एमालेले गर्दै आएकै थिए र गर्ने पनि छन् । त्यसैलै आशा गरौं, पुष्पकमलका दाहालले एमालेमा रहेर राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न अलिअलि भएपनि योगदान गर्नेछन् ।

२०७४ फागुन १५