जाली नोट सहित सेना र प्रहरी समातिए

जाली नोट सहित सेना र प्रहरी समातिए

काठमाडौं, फागुन १५ । प्रहरीले नेपाली सेनाका प्युठ र प्रहरी जवानलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीले लामो समय प्रहरीमा सवारी चालक रहेका पूर्व प्रहरी जवान नेमा तामाङ र केही दिन अघि इटहरीबाट राजीनामा दिएका सेनाका प्युठ भेषकुमार थापालाई नक्कली नोटसहित पक्रेको हो ।

प्रहरी नेमा तामाङले बीरगञ्जबाट काठमाडौं भित्राएको पाँचसय दरका नक्कली नेपाली नोटसहित अन्य चारजनालाई समेत पक्रेर थप अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख डिएसपी प्रदिपकुमार क्षेत्रीका अनुसार झट्ट हेर्दा छुट्टाउन नसकिने पाँचसय दरका नक्कली नोट डाई राखेर आधुनिक प्रेसमा छापिएका हुन् । उनले नोटको आकार, त्यसको गुणस्तर र कागज सक्कली सरह भएको बताए ।

‘व्यवसायिक रुपमा नेपालमा प्रयोगमा ल्याउने गरी ठूलै गिरोहले नक्कली नोट छापेको अनुमान गरेका छौं’ डिएसपी क्षेत्रीले भने, ‘बीरगञ्जबाट भित्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

कालिमाटी बृत्तले १२ फागुनमा बल्खुमा रहेको कार्की फार्मेसीमा औषधी किन्न आएका धनुषाका धिरजबहादुर श्रीनेत ठकुरी र निगम राईलाई नक्कली नोटसहित पक्राउ गरेपछि थप अनुसन्धानमा नेमा र भेषकुमारसहित अन्यको संलग्नता खुलेको हो ।

अनुसन्धान अधिकारीका अनुसार धिरज र निगमले बरामद नोट ललितपुर ताल्सीखेलमा रहेको एमएस वर्कसपका संचालक मनोज केसीबाट लिएको बयान दिए । प्रहरीले मनोजलाई नियन्त्रणमा लिएपछि उनले भेषकुमारबाट प्राप्त भएको बताएका थिए ।

प्रहरीले भेषकुमारलाई २१ थान नक्कली नोट सहित नियन्त्रणमा लिएपछि उनले नेमा तामाङबाट नोट पाएको र आफुले पाएको नोटमध्य केही आशिष माझीलाई दिएको बताएका थिए ।

प्रहरीले नेमालाई नियन्त्रणमा लिएपछि उनकै योजनामा नमूनाका लागि केही थान नक्कली नोट काठमाडौं उपत्यकामा प्रयोगमा ल्याएको खुलेको हो ।

नेमाले प्रहरीमा दिएको प्रारम्भिक बयानमा बरामद भएका नक्कली नोट वीरगञ्जका रिक्सा चालक मार्फत् आफूले प्राप्त गरेको बताएका छन् । उनले काठमाडौंमा प्रयोगका लागि केही थान ५ सय र १ हजारका नक्कली नोट ल्याएको बयान दिएका हुन् ।

काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नक्कली नोटका बिषयमा थप अनुसन्धान गरिरहेको छ । कालीमाटी बृत्तले पक्राउ आरोपीहरु बिरुद्ध खोटाचलन मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।