बल्लतल्ल केही दिन अगाडि उखानप्रसादले पर्धानमन्त्रीको पगरी त गुथे तर आफ्ना सहयोगी जन्तीमण्डल गठन गर्न त उनलाई पनि सकस नै प¥यो । एक्लै सिंहदरबार छिर्न कठिन परेर होला आफ्नै दल भित्रका सौतेनी गुटका अरू दुईजनालाई साथै लिएर पसे । गठबन्धनका चालिसे गुटबाट जन्तीमण्डलमा पठाउने नाम नआएकाले आफ्नो साठी भागे गुटतर्फबाट मात्रै जन्तीमण्डलमा सामेल गराए । चुनाउमा साझेदार बनेको चालिसे गुटसित यतिबेला पाटी पनि एउटै बनाउने सातबुँदे वाचाकवलको तमसुकमा भरखरै मात्र सहिछाप भएको छ । उक्त तमसुकअनुसार पाटी एकता सँगसँगै सरकारमा जन्तीहरूको भर्ती गर्ने कुरोकानी भएको छ । जन्तीमण्डलमा सहभागी हुनका लागि दुवै गठवन्धने दलहरूमा दौड प्रतियोगिता सुरु भएको छ ।
चुनाउमा नेकपा साठी–चालीस बनाएका दलहरूले यतिखेर जन्तीमण्डल निर्माण गर्दा पनि सोही नीति अपनाउने भएका छन् । अहिले भने साठी भागे दललाई दुई भाग अरू थपिएर बैसट्ठी पु¥याइएको छ । चालिसेलाई दुई भाग कम पर्ने भएको छ । विगतको तुलनामा जन्तीमण्डलको सङ्ख्या निकै कम हुने भएपछि नेकपा साठी–चालिसमा यतिखेर जन्तीमा को को सामेल हुने भन्ने विषयमा घोचपेच र मारमुङ्ग्री चलेको कुरा झर्रो श्रोतले बताएको छ । एउटै गुटभित्र पनि एकले अर्कालाई पछि पारेर आपूmले रोजेको मन्त्रालय उछिट्याउने दाउमा दलको मुखियासँग खुसामत गर्ने, दवाव दिने, थर्काउने र धम्काउने आदि इत्यादि तिगडम चलेको छ ।
यसैबिच मन्त्री छनोटका लागि चालिसे र साठीभागे दलका छुट्टाछुट्टै बैठक बसेका छन् । दुबैतर्फ कुरा मिल्न सकेको छैन । उनीहरूका निम्ति देश भनेको आआफ्नो घर र जनता भनेका आपूm, आफ्ना परिवार र नाताकुटुम्व भएकाले त्यसको उन्नती, प्रगति र समृद्धिमा भरपूर ध्यान दिएर जीवनमरणको लडाँई गर्नु परे पनि पछि नहट्ने उनीहरूको दृढ अठोट छ । यसरी जनता (उर्फ परिवार)को समृद्धि गरेर समाजवादमा जाने उनीहरूको सिद्धान्त, लक्ष्य र उद्धेश्य रहेको छ ।
चालिसे दलमा यतिखेर पुलिसमन्त्रीका लागि सबै भन्दा बढि लुछाचुँडी–मारमुङ्ग्री, घुर्की–धम्की, चम्का–चम्की, घोचपेच, उठापट्की चलेको खबर छ । पुलिसमन्त्री पद भएकाले अलिकता फौजी तरिकाले छलफल हुनु पनि स्वाभाविक हो । फेरि यसमा दुई जना मन्त्री दौड प्रतियोगिताका मुख्य धावक पूर्व जमुसेका डेपुटी नै भएकाले उनीहरूका बिचमा घम्साघम्सी पर्नु स्वाभाविकै हो । उनीहरूका बिचमा दुवै धावकका बैकल्पिक धावक बनेका छन् लिनप्याओवादी नेता । विगतमा कट्वालेले उनलाई खेदेको हुनाले यसपाली पुलिसमन्त्री बनेर कट्वालेलाई ठिक पार्ने उनको दाऊ पनि होला । त्यसैले उनले पनि यो मन्त्री आपूmले पड्काउने दाउमा दौडमा सामेल भएका छन् । कस्ले बाजी मार्छ भन्न सकिने अवस्था छैन । रोल्पाली मङ्गोल डेपुटीले आपूmले पुलिसमन्त्री नपाए आफ्नी स्वास्नीलाई पूर्व पदमा दोहो¥याउनु पर्छ भन्दै अट्को थापेपछि मिस्टर सुप्रिमोलाई निकै अप्ठ्यारो परेको छ । मङ्गोल डेपुटीको यो अक्करे शर्त सुप्रिमोको लागि दायाँ गए भीर र बायाँ फर्के गाडको अवस्था बनाइदिएको छ । यसैगरि लिनप्याओवादीले पनि आपूmले पुलिसमन्त्री नपाए जन्तीमण्डलमै सामेल नहुने भनेर उनले पनि संसदको मुखियामा आफ्नी लभरलाई पठाउनु पर्ने शर्त राखे भने सुप्रिमोलाई प्रेस बढ्ने र जे पनि हुन सक्ने खतारा पनि छ । यसरी पुलिसमन्त्रीमै मारमुङ्ग्री चलेपछि अरू मन्त्रीका विषयमा कुरोकानी नै हुन सकेको छैन । पठाउनु पर्ने सातजना जन्तीमा दुई गुणा बढि आकाङ्छी देखा परेपछि चालिसे पाटीले अहिले सुप्रिमो, काजीसाव र लिनप्याओवादीलाई जे गर्छौ गर भनेर तृबास्सा भरोसेमा छोडिदिएको छ ।
यसैगरी साठीभागे दलमा पनि जन्तीमा पठाउने नाम छनोटको विषयमा हार्डकोर ग्रुपको बैठक चल्यो । त्यहाँ पनि चालिसे भागवाला जस्तै लुछाचुँडी, मारमुङ्ग्री नै चलेको खबर प्राप्त भएको छ । जन्तीमा सामेल हुनेहरूका बिचमा हानथाप भएर एक से एक दौडमा सामेल भएपछि अन्योलता पैदा भएको हो । कुरो टुङ्गिन नसकेपछि त्यहाँ पनि दलका मुखिया मिस्टर उखानप्रसादलाई जे गर्छौ जस्लाई बरदान दिन्छौ देऊ भन्दै उखानभरोसेमा छोडिएको छ । यसै बिचमा नेकपा साठी–चालीसले अब उप्रान्त एउटै दल बनाएर झन् ठूलो पाटी बनाउने गृहकार्य पनि गरिरहेको हुनाले आफ्नो दललाई समृद्ध बनाउँदै समाजवाद लागू गर्ने सपना पूरा गर्न निकै ठूलो महाभारतको लडाइँ लड्नु पर्ने अवस्था सिर्जना भएको छ । अन्ततः जनाता भनेका आआफ्ना दलका नेता र तिनका परिवार नाताकुटुम्ब भएको र देश भनेको दल भएकाले उनीहरूले समृद्धि र समाजवादको कुरा गरेको पनि आफैँ भित्र हो भने कुरो यो जन्तीमण्डलका निम्ति परेको म्याराथन दौडले सिद्ध गरेको छ । यो दौड प्रतियोगिता दुबै दलका गुटगुटमा चलेको हुनाले दुवैतर्फका निगाहादाता रेफ्रीले कस्लाई विजेता घोषित गर्ने हुन् भन्ने कुरा बाहिर बसेका दर्शकहरूमा निकै कुतुहलताको विषय बनेको छ । सबैमा चेतना भया ।
१२ फागुन २०७४