आजबाट सहिद सप्ताह सुरु, सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई सम्मान गरिदै

आजबाट सहिद सप्ताह सुरु, सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धालाई सम्मान गरिदै

काठमाडौं । तत्कालीन झापा विद्रोह र दशवर्ष लामो महान जनयुद्धमा अमूल्य जीवन बलिदान गर्ने सहिदहरुको सम्झना र सम्मानमा विभिन्न कार्यक्रम गरी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले देशैभरि सहिद सप्ताह आज अर्थात् फागुन १४ देखि २१ सम्म मनाउँदैछन् । क्रान्तिकारी माओवादीले यस पटकको सहिद सप्ताह कार्यक्रममा देशैभरका सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुलाई सम्मान पत्र प्रदान गर्ने भएको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ र पार्टी सम्बद्ध सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा‘सागर’द्वारा संयुक्त रुपमा हस्ताक्षरित सम्मान पत्र प्रदान गर्ने तयारी गरिएको हो ।

काभ्रेबाट अमिट योञ्जनले पठाएका तस्बीरहरु

सम्मान पत्रमा ‘नेपाली क्रान्तिमा समर्पित योद्धाहरुको त्याग, वीरता र बलिदानको मूल्य अमर र गरिमामय रहेको उल्लेख गर्दै तेइसौं जनयुद्ध दिवस तथा सहिद सप्ताहको ऐतिहासिक अवसरमा नयाँ जनवाद, समाजवाद र साम्यवाद प्राप्तिको उदात्त उद्देश्यमा आधारित क्रान्तिका निम्ति सहिद तथा वेपत्ता योद्धाहरुले देखाएको निष्ठा, त्याग र बलिदानको बाटोमा निरन्तर अगाडि बढिरहने प्रण’ गरिएको छ । पार्टी केन्द्रीय कार्यालयबाट सबै प्रदेशहरुमा सम्मान पत्र पठाइसकिएको कार्यालय सचिव कगेन्द्रले जानकारी दिनुभयो ।

क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा सहिद सप्ताह मनाउने सहमति गरेको भएपनि अधिकांश ठाउँमा क्रान्तिकारी माओवादीले एकल रुपमा कार्यक्रम तय गरिएको बुझिएको छ । तीन महिने संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानमा रहेको क्रान्तिकारी माओवादीले सहिद सप्ताहको अवसरमा सहिद तथा वेपत्ता योद्धा परिवार र घाइते योद्धाहरुसँग भेटघाट, अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरेको छ ।


यसैबीच, सहिद सप्ताहको सुरुको दिन अर्थात् आज काभ्रेको चौरी देउराली–५, पाटी चौरमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले संयुक्त रुपमा सहिद तथा व्यपत्ता योद्धा परिवार र घाइते योद्धा सम्मान कार्यक्रम राखेका छन् ।

जिल्लाका जनयुद्धका शहीदहरु यानप्रसाद गौतम (आलोक), तिर्थ गौतम, कृष्ण बहादुर विष्ट (रसकमल), चक्र प्रसाद गौतम (विप्लव), फत्त बहादुर पुलामी मगर, च्याङ्गवा लामा, नारायण अधिकारी, प्रदिप गौतम, प्रेम रसाईली, रिना रसाईली, शुभद्रा चौलागाई, मैना सुनुवार, धर्म श्रेष्ठ लगायत दुई सय भन्दा बढी शहीद तथा तात्कालीन प्लाटुन कमाण्डर नवीन गौतम, कमला शर्मा, विके श्रेष्ठ लगायत दर्जनौ बेपत्ता योद्धा र घाइते योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सम्मान कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पिविएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा‘सागर’, पार्टी केस कान्छाराम तामाङ, नेकपा नेताहरु बाबुराम गजमेर, सरद रसाइलीलगायतका नेताहरुले सम्बोधन गर्ने र सम्मान गर्ने कार्यक्रम रहेको छ ।