गोलघेरे दलका मिस्टर सुप्रिमोले मौका परे फेरि फड्को हान्ने घोषणा गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा भएको एउटा धार्मिक कार्यक्रमलाई वचन वाणी प्रदान गर्ने क्रममा फड्को हान्ने घोषणा गरेका हुन् । फड्को हान्ने उनको नानीदेखि लागेको बानी भन्दा पनि हुन्छ । उनले आफ्नो जीवनमा यस्ता फड्को हान्ने काम दर्जनौ पटक गरेका छन् । हुँदा हुँदा अब त उनको नाम पनि ‘कामरेड फड्को हान्ने’ राख्दा पनि फरक नपर्ने भएको छ । यसलाई उनले प्रतिपादन गरेको दर्शनको भाषामा छलाङ हान्ने पनि भनिन्छ ।
चुनावबाट जनयुद्धमा र जनयुद्धबाट चुनावमा पनि उनैले फड्को हानेका हुन् । जनयुद्ध सफल नभएसम्म हतियार नविसाउने भनेर वाचा गरेका सुप्रिमोले जनयुद्धलाई धनयुद्धमा वदल्ने परिस्थिति निर्माण भएपछि फड्को हाने । त्यसपछि चुनावबाट सरकार पनि बनाए । सरकारमा बस्दा कट्वालेसित ककटेल नमिलेपछि फड्को हानेर सरकारबाट उछिट्टिएकै हुन् । त्यसपछि दुई ठाउँ चुनाउ हारेर रन्थनीएर पाटीकै पदबाट खुस्किएका माकुनेलाई आफैँले सदनमा छिराउनाले तिनै माकुने सरकारमा जार बनेर उभए । त्यहाँ पनि उनलाई पर्नुसम्मको अप्ठेरो प¥यो । राजिनामा धस्काए पनि फेरि आफै पर्धानमन्त्री पट्काइन्छ भन्ने परेको रहेछ तर माकुने जार बनेर उभिए । त्यसैले उनी आफू जहाँ उभिन्छन् त्यहाँ समस्या देखियो भने फड्को हानेर पल्लोपट्टी पुग्छन् । उनले भने ‘सुप्रिमो भनेकै अप्ठ्यारो पर्न थाल्यो भने फड्को हानेर उछिट्टिन्छ ।’
पाटीको सुप्रिमो बन्दा पनि फड्को हानेरै भएका हुन् । जनयुद्धमा जाँदा पनि फड्को हानेकै हुन् । जनयुद्धबाट धनयुद्धमा जाँदा पनि फड्को नै हाने । सूर्यछापसँग मिलेर सरकारमा जाँदा पनि फड्को हाने । सूर्यछापलाई लात हानेर चारतारेसँग मिलेर फरि पर्धानमन्त्री पड्काउँदा पनि फड्को हाने । चारतारेलाई हिस्स पारेर फेरि फड्को हानेरै सूर्यछापसँग मिलेर चुनाउ लडे । अहिले सूर्यछापले पर्धानमन्त्री र पाटीको मुखिया दुबै पद नदिने भएपछि फड्को हानेर अन्तैतिर उछिट्टिने कुरा गरेका हुन् । उनलाई अप्ठेरो पर्नै हुन्न । अप्ठेरो प¥यो कि फड्को हानिहाल्छन् ।
युद्धका बेला पनि फड्को हानेरै कहिले वैद्य गुरुको कित्तामा र कहिले डाक्टरसावको कित्तामा उभिन्थे । युद्ध छोडेर यता आएदेखि चारतारे र सूर्यछापतिर सप्ठेरो अनुसार उभिन्छन् । अप्ठेरो परे छोड्ने र सप्ठेरो परे जुकोझैँ टाँस्सिने उनको बानी छ । चारतारेको बैसाखी टेकेर उभिँदा अबका कम्तिमा दश वर्ष सँगै हिँड्ने बाचा गरेका थिए । देश र परदेशको चुनाउमा विचराले जम्मा तीस प्रतिशत भाग खोजेका थिए चारतारेसित । उनलाई एक्लै चुनाउ लड्न कति सकस परेको थियो । स्थानीय चुनाउमा आफ्नी पुत्रीश्रीलाई चुनाउ जिताउन जनयुद्ध भन्दा ठूलो लडाइँ लड्नु प¥यो । चारतारेले तीस प्रतिशतको भाग पनि दिन नमानेपछि डेउडापतिलाई बुङ्गै बनाएर सूर्यछापतिर फड्को हाने । सूर्यछापले त झन् चालीस प्रतिशतको भाग छुट्याइदियो । सानो भाग पनि नपाएर फड्को हान्दा झन् ठूलो भाग फेला प¥यो । यसरी फड्को हान्ने खेलमा उनी पहिलो नै बन्छन् । यदि सूर्यछापले चुनाउका बेला गरेको बाचा बन्धन तोड्यो भने सुप्रिमोले फड्को हान्न सक्छन् । फड्को हाने भने पाटी मुखिया पनि नखोसिने र पर्धानमन्त्री पनि पड्काउने सम्भावना बलियो छ । सूर्यछाप दलका मुखिया मिस्टर उखानप्रसादलाई चेतना भया ।
२८ माघ २०७४